- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। अस्ट्रेलिया,बेलायत र अमेरिकाबिचको ऐतिहासिक सम्झौतालाई चीनले 'गैर जिम्मेवार पूर्ण' र 'सङ्कीर्ण सोच' भएको भन्दै चर्को आलोचना गरेको छ । 'एयुकेयुएस' अर्थात् अस्ट्रेलिया, बेलायत र अमेरिकाबिचको यो सम्झौताले अब, अमेरिकी प्रविधिको प्रयोग गरेर अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी बनाउन दिनेछ ।
सम्झौता अनुसार तीन वटै मुलुकहरूले साइबार क्यापाबिलेटिज, आर्टिफिसियल इन्टेलीजेन्सी र अन्य समुद्री प्रविधिहरूका क्षेत्रमा पनि व्यापक सहकार्य गर्ने छन् । खासमा दक्षिण चीन सागर र अन्य विवादित क्षेत्रमा चीनको बढ्दो प्रभुत्वलाई काउन्टर दिन तीन वटै मुलुकहरूले यो सम्झौता गरेको देखिन्छ ।
तीन वटै देशहरूबिचको यो सम्झौताको आलोचना गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले, 'क्षेत्रीय शान्तिलाई गम्भीर रूपले क्षति पुर्याउने र हतियारको दौडलाई तीव्रता दिने काम गरेको' आरोप लगाएका छन् ।
उनले 'यो कदम अप्रचलित शीत युद्धकाे मानसिकता' भएको भन्दै 'तीनै देशहरूले आफ्नै हितविरुद्ध काम गरिरहेको' टिप्पणी गरेका छन् ।
चिनियाँ राज्य सञ्चालित मिडिया ग्लोबल टाइम्सले सम्पादकीय लेख्दै 'अब, अस्ट्रेलियाले आफूलाई चीनको शत्रुमा परिणत गरेको' उल्लेख गरेको छ ।
अमेरिकाले ६० वर्षमा पहिलो पटक परमाणु क्षमताबाट चल्ने पनडुब्बी बनाउने प्रविधि बेलायतपछि अस्ट्रेलियासँग सेयर गर्न लागेको हो ।
कस्तो हुन्छ परमाणु क्षमताबाट सञ्चालित पनडुब्बी
यो पनडुब्बी परम्परागत भन्दा फरक र फेला पार्न कठिनाइ हुने किसिमको पनडुब्बी हो । परमाणु उर्जाबाट चल्ने हुँदा यस्ता पनडुब्बी इन्धनकाे प्रयाेग नगरेरै वर्षाैंसम्म सञ्चालनमा रहिरहन्छन् भने, गति पनि तिव्र हुन्छ ।
यी पनडुब्बी महिनौँसम्म समुद्रमुनि डुबेर रहन सक्छ र लामो दुरीका मिसाइल अर्थात् क्षेप्यास्त्रहरूलाई सुट गर्न सक्छ । यद्यपि, अस्ट्रेलियाले यो पनडुब्बीमा परमाणु हतियार भने नराख्ने बताएको छ ।
अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थानको तथ्याङ्क अनुसार हाल अमेरिकासँग ६८, रुससँग २९, चीनसँग १२, बेलायतसँग ११, फ्रान्ससँग ८ र भारसँग एक यस्तो पनडुब्बी रहेको छ । परमाणु क्षमताबाट सञ्चालित पनडुब्बी हुने सातौँ देश अब, अस्ट्रेलिया हुनेछ ।