arrow

पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि रिहा भए : जुलियन असान्ज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
julian-assange-wikileaks-founder-2024.jpg

काठमाडौँ। विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नो रिहाइ पछिको पहिलो सार्वजनिक सम्बोधनमा पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि आफूलाई रिहा गरिएको बयान दिएका छन्।

जुलियन असान्जले फ्रान्समा युरोपेली परिषद्लाई सम्बोधन आफूले पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि रिहा भएको बताएका हुन्। युरोपेली परिषद्मा ४६ युरोपेली देशका सांसदहरू छन्।

उनले भने-'धेरै वर्ष जेल बसेपछि मैले पत्रकारिता गरेको आफ्नो अपराध स्वीकार गरेँ, त्यसपछि म रिहा भएँ।'

असान्जले आफ्नो हिरासत र सजाय र मानवअधिकारमा पार्ने असरबारे युरोप काउन्सिलमा बोलेका थिए। असान्जले भने, ‘आज म स्वतन्त्र छु किनभने मैले आफ्नो पत्रकारिता गरेको अपराध स्वीकार गरेको छु। मैले स्रोतबाट सूचना लिएर त्यो सूचना जनतामा फैलाउने अपराध गरेको छु। पाँच वर्ष बेलायती जेलमा बिताएपछि असान्ज गत जुनमा रिहा भएका थिए। असान्जलाई अमेरिकी सेनाका गोप्य कागजातहरू प्राप्त गर्ने र प्रकाशित गरेकोमा दोषी ठहर गरिएको थियो।

असान्जले युरोपेली सांसदहरूलाई आफ्नो रिहाइको लागि राजनीतिक र कानुनी प्रयासहरू अपर्याप्त भएकाले आफ्नो सजाय बढेको बताए।

असान्जले भने, 'मैले अवास्तविक न्याय भन्दा स्वतन्त्रता रोजेको छु।' ५३ वर्षीय असान्जको रिहाइका लागि सम्झौता भएको थियो, त्यसपछि उनी जुनमा रिहा भएर आफ्नो देश अस्ट्रेलिया फर्किएका थिए। यो सम्झौताले असान्जलाई अमेरिकी जासुसी कानूनको उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको छ, जसबाट १४ वर्षको कानुनी लडाई समाप्त भएको छ।



नयाँ