- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल०)का केन्द्रीय संयोजक सुमन देवकोटा अब्दुलले फेवातालको जग्गा हडप्नेहरुलाई नछाडिने बताएका छन् ।
फेवातालको जग्गा हडप्नेहरुलाई वाइसियलले यसअघि पनि नछाडेको र अब पनि नछाड्ने भन्दै त्यस्तालाई राति राम्रोसंग सुत्न पनि नदिने चेतावनी दिए ।
वाइसिएलको संयोजक बनेपछि पहिलो पटक पोखरा आएका देवकोटाले पोखराका पत्रकार माझ फेवातालमात्र होइन राज्यको सम्पत्ति दोहन गर्ने कुनै पनि व्यक्तिले अब उन्मुक्ति नपाउने स्पष्ट पारे ।
युवालाई उद्यमशिलतासंग जोड्नु नै आजको मुख्य एजेण्डा भएको भन्दै उनले युवा उद्यमशील र रोजगारमा लागेमात्र मुलुक समृद्धितर्फ उन्मुख हुने बताए । उनले भने, सबै पार्टीको नीति समाजवाद छ । समाजवादका लागि सबै युवाहरु उद्यमशील बन्न आवश्यक छ ।’
संयोजक देवकोटाले प्रत्येक पालिकाका ५०० र प्रदेशका पाँच हजार युवालाई स्वरोजगारमा लगाउने नीति वाइसिएलले लिएको भन्दै यसका लागि अनुरुप सरकार सकारात्मक रहेको बताए । यसका लागि उपयुक्त कार्यविधि बनाउनका लागि सरकारले ध्यान दिनुपर्ने र युवालाई बैंकले सामूहिकरुपमा लगानी गर्ने वातावण सृजना गर्नुपर्नेमा उनले जोड दिए ।
बन्द रहेको भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग सञ्चालनका लागि वाइसिएलले पहल गर्ने भन्दै उनले यी दुई उद्योगको जिम्मेवारी पनि युवाले गर्नुपर्ने खाँचो औंल्याए।
उनले एमसीसी र सरकारले केही अघि ल्याएको दलसम्बन्धी अध्यादेशको समेत विरोध गरे । उनले भने, ‘देश र संविधानलाई बन्दक राखेर आउने कुनै पनि अनुदान स्वीकार गरिंदैन । पार्टीको नीति पनि यही हो ।’ दलसम्बन्धी अध्यादेशबारे संयोजक देवकोटाले भने, ‘हिजो विपक्षमा रहँदा विरोध र आज सत्तामा रहँदा समर्थन भन्ने हुँदैन ।’
अहिले प्रतिपक्षी दल एमालेले तुच्छ र अलोकतान्त्रिक व्यवहार देखाएकै कारण राजनीतिक गतिरोध लम्विएको देवकोटा आरोप लगाए । उनले एमालेकै कारण मुलुक आर्थिक संकटमा फसेको बताए । साथै उनले माओवादीको आन्दोलनबाट प्राप्त उपलव्धिलाई संरक्षण गर्दै त्यसको प्रचार प्रसारमा वाइसिएलले देशव्यापी अभियान चलाउने समेत बताए ।