- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोरोनाको कहर कम भएसँगै धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरू खुल्न थालेका छन्। यसै बीच असोज पहिलो साताबाट अन्नपूर्ण क्षेत्र पनि आन्तरिक तथा बाह्य पर्यटकको लागि खुल्ने भएको छ। पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउनु निकै ठुलो चुनौती जस्तो देखिए पनि पर्यटन व्यवसायीहरू आशावादी छन्। स्वास्थ्य मापदण्ड सहित पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढाउन सके थला परेको पर्यटन व्यवसायले राहतको अनुभूति गर्न सक्छ।
यदि तपाईँ छोटो समयमै हिमाली सौन्दर्यको नजिक हुन चाहनुहुन्छ भने, अन्नपूर्ण क्षेत्रको मार्दी हिमालको आधार स्थल भन्दा राम्रो सायदै अरू कुनै गन्तव्य होला। मार्दी हिमालतिरको यात्रा एक छोटो तर सबैभन्दा रोमाञ्चक यात्रा बन्न सक्दछ जहाँ पहाडी तथा हिमाली शानदार परिदृश्यको अन्वेषण गर्ने राम्रो अवसर तपाईँले प्राप्त गर्नुहुन्छ। ५७८७ मिटर अग्लो मार्दी हिमाल पवित्र र प्रभावशाली माछापुच्छ्रे हिमालको आडमा शानदार रूपमा अवस्थित छ।
हामीले पदयात्राको बाटो तय गरेका थियौं: पोखराबाट बसमा काँडे (१७७० मि) सम्म, अनि अष्ट्रेलियन क्याम्प (२०५० मि) हुँदै पोथाना (१९६० मि) - पीतम देउराली (२१०० मि) - फरेस्ट क्याम्प (२५५० मि) - लो क्याम्प (२९०० मि) - हाई क्याम्प (३५८० मी) - अपर भिउ पोईन्ट (४४५० मी)। फर्कादा भने सोही बाटो 'लो क्याम्प'सम्म झरेर त्यहाँबाट सिदिङ सम्म ओर्लिने अनि जिपमा पोखरा।
काँडे, पोखराबाट बागलुङ जाने राजमार्गमा पर्छ र ३० किमी पर रहेको सो ठाउँ पुग्न पोखराको बसपार्क बाट नियमित बसहरू पनि चल्दछन्। काँडे बाट 'अष्ट्रेलियन क्याम्प' तिरको पदमार्ग समातेपछि सुरु हुन्छ मार्दी तिरको यात्रा। सुरुवातमा केही सिधा बाटो कटेपछि जङ्गल छिचोल्दै 'अष्ट्रेलियन क्याम्प' पुग्न उकालो लाग्न पर्छ। झण्डै १ घण्टाको उकालो हिँडाई पछि अन्नपूर्ण दक्षिण, हिन्चुली, माछापुच्छ्रे आदिको अविश्वसनीय दृश्य देख्न पाइने केही 'टि हाउस' र शिविर स्थलहरू भएको सानो बस्ती 'अष्ट्रेलियन क्याम्प' पुगिन्छ। त्यो दिन हामी सायद भाग्यमानी थिएनौँ किनकि बादलको घुम्टोमा ती सबै हिमालहरू लुकेका थिए।
अष्ट्रेलियन शिविरबाट, पोथानाको लागी बाटो सजिलो थियो। हामी एक झट्कामै पोथाना पुग्यौँ र खानासँगै केही आराम गर्यौँ।त्यसपछिको अर्को नजिकैको गन्तव्य थियो पितम देउराली। आकाशले पानी पर्ने सङ्केतहरू देखाइरहेको थियो। आधा घण्टाको हिँडाई पछि हामी देउराली पुग्यौँ जुन २१०० मिटरको उचाइमा अवस्थित एक सानो गाउँ हो। जब हामी त्यहाँ पुग्यौँ र केही बेर रोकियौँ, पानी पर्न सुरु भइसकेको थियो। त्यही दिन 'फरेस्ट क्याम्प' तिर जाने कि नजाने भनेर पनि हामीमा दुबिधा सिर्जना भयो किनकि त्यो बाटो जङ्गलको बीचबाट जान्थ्यो र डम्म ढाकिएको आकाशले दिउँसै अँध्यारो पारी रहेको थियो। यताउता सोधपुछ पछि 'फरेस्ट क्याम्प' पुग्न ५ घण्टा लाग्ने भन्ने सुनेपछि वर्षाको बीच हामी घना जङ्गलमा नहिँड्ने निर्णय गर्यौँ, समय भने दिउँसोको साढे तीन मात्र भएको थियो। हामी निर्णयसँग खुसी भने थिएनौँ। त्यसपछि हामी झोला छोड्न मात्र कोठामा गयौँ र फर्केर ठुलो गिलासमा चिया लिँदै अगेनाको छेउमा बस्यौँ - त्यो वास्तवमा पट्यारलाग्दो समय थियो।
पानी पर्न रोकिएपछि हामी केही क्षणको लागिनै भए पनि 'फरेस्ट क्याम्प' तिरको बाटो पछ्याउँदै अघि लाग्यौँ, केवल रमाइलोको लागी मात्र। चराचुरुङ्गीका गीतहरू र रूखहरू बाट बहेको हावाले त्यो जङ्गल भित्र जादुई वातावरण सिर्जना गरेको थियो, अनि अँध्यारोले कता कता डर पनि। डरलाई धेरै बढ्न नदिई हामी फर्कियौँ, अब खाना खाएर विश्राम गर्ने बाहेक त्यो दिनको लागी अरू काम थिएन।
अर्को दिन सबेरै उठेर होटेलको बरन्डाबाट हेर्दा अन्नपूर्ण हिमशृङ्खलाका हिमालहरूको धमिलो दृश्य देखिरहेको थियो। घामका किरणहरूले धर्तीलाई चुम्दै गर्दा त्यो हिमशृङ्खलाले पनि मन्त्रमुग्ध पार्ने सुरम्य परिदृश्य हामी माझ उभ्यायो। माछापुच्छ्रेको माथिल्लो भागसँगै हिमचुली, अन्नपूर्ण दक्षिण, धवलागिरि सूर्योदयको रङ्गसँगै चम्किरहेको थियो। ती हिमालहरूको नजिकै जाँदैछौं भन्ने सोचाइले मन तरङ्गित भइरहेको थियो। छिप्पिइरहेका घामका किरणसँगै हिमालहरूले रङ्ग परिवर्तन गरिरहँदा हामी भने कालो चिया खाएर लाग्यौँ 'फरेस्ट क्याम्प' तिर, त्यति बेला ७ बज्दै थियो। देउरालीलाई छिचोल्दै गर्दा केही पर पदमार्ग दुई तिर छुट्टिन्छन्, अन्नपूर्ण आधार शिविरतिर लाग्न देब्रे तिर लाग्न पर्छ भने मार्दीको आधार पुग्न दाहिने तिर। केही वर्ष पहिलासम्म मार्दीको पदमार्ग खासै चर्चित थिएन तर हाल यो पदमार्ग छोटो समयमै अन्नपूर्णको सुन्दरताबाट पुलकित हुन खोज्ने जो कोहीको पहिलो रोजाई बनेको छ।
घना जङ्गल बीचबाट अघि बढेको सानो बाटोले उकाल्ने ओराल्ने गरिरह्यो, 'फरेस्ट क्याम्प' नपुगुन्जेल। जङ्गलको बाटो पहिचानको लागि बाटो छेउको रुखहरूमा सेतो र नीलो रङ्गले चिह्नित गरिएको थियो, सोही चिन्ह पछ्याउँदै जङ्गलको बीचमा रहेको सुन्दर ठाउँ 'फरेस्ट क्याम्प' पुग्दा झण्डै १० बजेको थियो। स्थानीयहरूको बीच कोकरको नामले परिचित 'फरेस्ट क्याम्प' यो मार्गको पदयात्रीहरूका विश्रामको लागि पहिलो रोजाइको ठाउँ हो किनकि यहाँ होटेलको क्षमता पनि राम्रै छ र टेन्टको लागि समेत राम्रो र फराकिलो ठाउँहरू छन्। 'फरेस्ट क्याम्प'मा खाना खाएर, हामी 'लो क्याम्प' तर्फ उकालो लाग्यौँ। बिहानको केही समय बाहेक मौसम खासै राम्रो थिएन। कुहिरोको कारण हामी रूखहरू र बाटो मात्र देखिरहेका थियौँ। बढिरहेको उचाइसँगै, वन वनस्पतिहरू पनि फरक देखिन थालेका थिए। काई, लाइकेन र फर्नले ढाकिएको लालीगुराँसको जङ्गल पार गर्दै एक बजे 'लो क्याम्प' पुग्यौँ। २९०० मिटरको उचाइमा अवस्थित 'लो क्याम्प'मा पनि खाने बस्ने राम्रो व्यवस्था छ। घना जङ्गल भित्र बहिरहेको चिसो हावा अनि मडारिरहेको हुस्सु र कुहिरोले चिसिएको ज्यानलाई 'लो क्याम्प'मा खाएको एक-एक कचौरा आलुको सूपले हाई क्याम्प पुग्न थप ऊर्जा दियो।
छोटो र ठाडो बाटो कटे पछि जङ्गल छुट्दै गयो र घाँसे पहाडको बीचबाट बाटो अघि बढ्दै गयो। केही समयमा कुहिरो भित्र लुकेको बादल डाँडा देखियो। सो ठाउँमा पनि खाने बस्ने होटेलहरू उपलब्ध छन्। बादल डाँडाबाट मनोरम हिमाली दृश्य देख्न पाइन्थ्यो तर, त्यो दिन बादल भन्दा अरू देखिएन। मार्दी हिमाल, अन्नपूर्ण दक्षिण, हिउँचुली, र माछापुच्छ्रेका सौन्दर्यहरू बादलभित्र नै लुकिरहे। दिन घर्केसँगै मौसम पनि चिसो हुँदै गएको थियो र पानी मिश्रित बाक्लो कुहिरो छिचोल्दै हामी ४ बजे 'हाई क्याम्प' पुग्यौँ। बिहान २१०० मिटरको उचाइबाट सुरु भएको यात्रा, ३५८० मिटरमा पुगेर त्यो दिनको लागि रोकियो। 'हाई क्याम्प'मा भिड धेरै नै थियो र प्राय होटेलका कोठा र टेन्टहरू समेत प्याक थिए। मोबाइल नेटवर्कको समस्याको कारण बाटोमा कल नलाग्दा हामीले कोठा बुक गर्न पाएका थिएनौँ त्यसैले अब त्यहाँ डिनर टेबलमै सुत्ने बाहेक कुनै विकल्प बाँकी थिएन। बाहिर अत्यधिक चिसो भएता पनि डाइनिङ रुम तातो थियो। सबै पाहुनाको खानपिन सकिएपछि मात्र हामी सुत्ने तरखरमा लाग्यौँ। हलमा जोडिएका ससाना टेबलमै भए पनि निन्द्राले राम्रो साथ दियो
अघिल्लो दिन रोमाञ्चकताको सुरुवात बिहान ३:३० देखि नै सुरु भयो, ४:०० बजेसम्ममा त हामी अन्य समूहहरूसँगै मार्दी बेस तर्फको मार्गमा अघि बढी सकेका थियौँ। चुक घोप्टाएजस्तो अँध्यारोमा पनि झिम्किरहेका ताराहरूले आकाशको दृश्य भने शानदार बनाइरहेका थिए। हामी मोबाइलको रोशनीको सहायताले अस्थिर चट्टानहरूले भरिएको बाटोमा हिँडिरह्यौ।
बढ्दो उचाइको कारणले हिँडाई केही कठिन हुँदै गइरहेको थियो। एक घण्टा जति पछि, 'लोवर भिउ पोइन्ट'मा रहेको एक चिया पसलमा पुग्यौँ र कालो चिया पिउँदै वरिपरि नियाल्यौँ। केही बढेको उज्यालोमा देखिएका पहाडहरूको वरिपरि हल्का कुहिरोले केही खिन्नता महसुस गरायो।
तपाईँ जाडोको समयमा मार्दी भ्रमण गर्न चाहनुहुन्छ भने तपाईँले त्यही अनुसारको तयारी गर्नु आवश्यक छ र त्यो समयमा 'हाई क्याम्प' वा 'लो भिउ पोइन्ट' भन्दा माथि जान नसकिन पनि सक्छ, किनकि सबै पहाडहरू बाक्लो हिउँले ढाकिएका हुन्छन्।
पूर्वी आकाशबाट बिस्तारै निस्किरहेको सुनौलो प्रकाशसँगै अन्नपूर्ण पर्वतमालाका दृश्यहरू खुल्दै गइरहेका थिए। 'अपर भिउ पोइन्ट'' पुग्ने बाटो केही जटिल थियो। बाटोको दुवै तर्फ भिरालोले बेला बेला झसङ्ग पारे पनि हामी ६ बजेको हाराहारीमा 'अपर भिउ पोइन्ट' पुग्यौँ। 'अपर भिउ पोइन्ट'बाट तलतिर हेर्दा वरिपरि बादलले ढाकिएको देखिन्थ्यो तर माथिल्लो भाग भने खुल्ला थियो। पूर्वी क्षितिज सूर्योदयको समयमा सुनौलो हुँदै गर्दा उत्तरका हिमालहरूले ती सुनौला प्रकाशले आफूलाई पनि ढाक्दै थिए। अन्नपूर्ण दक्षिण (७२१९ मि), हिन्चुली (६४४१ मि), गङ्गापूर्ण (७४५५ मि), माछापुच्छ्रे (६९९३ मि) मार्दी हिमाल (५५८७ मि) लगायतका हिमाल र अन्य ससाना पहाडहरू उज्यालो भएका थिए। 'अपर भिउ पोइन्ट'बाट ती हिमालका दृश्यहरू निर्बाध रूपमा हेरिरहेका थियौँ जुन यो यात्राको आकर्षक क्षणहरू मध्ये एक थियो जसको वर्णन गर्न शब्दहरूले शायदै न्याय गर्न सक्दछन्।
जो कोही शीर्ष स्थानमा पुग्छन् नि तिनीहरू लामो समयको लागी त्यहाँ रहन चाहन्छन्। तर तपाईँ एक ठाउँको दृश्यमै सधैँ भुलिरहनु भयो भने तपाईँलाई पर्खिरहेको अर्को सुन्दर ठाउँ छुट्न सक्छ। सबै मनोरम दृश्यलाई फोटोमा कैद गर्दै लगभग १ घण्टा पछि हाम्रो ओरालो यात्रा सुरु भयो, हल्का बादल चारैतिर घुम्न थालिरहेको थियो र एकै छिनमा ‘डाउनहिल ट्रेल’ पनि ढाकिएसँगै बाटो जोखिमपूर्ण बनेकोले हामी होसियारीका साथ हिँड्न थाल्यौँ। पदमार्ग यति गाह्रो थियो कि कहिले काहीँ हामी हात खुट्टा नै टेकेर हिँड्न पर्थ्यो। जोखिमपूर्ण बाटोलाई सतर्कताका साथ पार गर्दै हामी हाई क्याम्प सुरक्षित रूप पुग्यौँ - हिमालको सामीप्यमा बटुलिएका अविस्मरणीय क्षणहरू र अनगिन्ती यादहरूका साथ।
हाई क्याम्पमा केही बेरको आराम पछि खाजा खाएर, अघिल्लो दिन आएकै बाटोबाट हामी 'लो क्याम्प' तर्फ लाग्यौँ। 'लो क्याम्प'बाट भने हामी सिदिङ तिर ओर्लिने बाटो तिर लाग्यौँ। जङ्गल छिचोल्दै ढुङ्गे बाटो हामी झरिरह्यौँ। त्यस दिनको हाम्रो योजना पोखरा नै पुग्ने थियो। त्यो ट्रेल भने पट्टयारलाग्दो र नीरस थियो। उचाइ घटेसँगै सिदिङ लगायतका गाउँहरू देखिन थाले अनि त्यो सँगै पहाडै पहाड दौडिएको कच्ची बाटो पनि। सिदिङ पुगेर हामीले पोखराको लागी गाडी बुक गर्यौँ अनि सुरु भयो अर्को साहसिक यात्रा। कतै हिलो अनि कतै खाल्टोले गर्दा गाडी उफ्रिरहन्थ्यो। वरिपरि देखिएका सुन्दर र पुराना घरहरूले कास्कीका रमणीय ग्रामीण इलाकाको प्रतिनिधित्व गर्दै थिए। पहाडबाट हाम फाल्दै झरेका झरनाहरूले वातावरणलाई थप रोमाञ्चकता प्रदान गर्दै थिए।
पोखरा आइपुगेर हामी होटलमा गई फ्रेसभई लेकसाइड तिर घुम्न निस्कियौँ। पोखरा संसारको उत्कृष्ट दर्शनीय सहरहरू मध्ये एक हो जहाँ तपाईँ अन्नपूर्ण पर्वतमाला हेर्दै तालको किनारबाट हिँड्न सक्नुहुन्छ, शान्ति स्तूप वा सराङकोट तिर हाइकिङ गर्न सक्नुहुन्छ। प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट विमानमा उडान जस्तै साहसिक गतिविधिहरूको आनन्द लिन सक्नुहुन्छ - छनौट तपाईँको हो।
आफ्नो जुत्ता फोहोर तर मन सफा बनाउन, तपाईँ कहिले जाने त मार्दी?