arrow

झापा कांग्रेस सभापतिमा थेबे र कट्टेलबीच मुख्य प्रतिस्पर्धा

logo
युवराज रेग्मी
प्रकाशित २०७८ असोज ५ मंगलबार
congress-jhapa.jpg

झापा । झापा नेपाली राजनीतिका लागि उर्वर भूमी हो । कम्युनिष्ट आन्दोलन प्रारम्भ भएको झापा नेपाली कांग्रेसका लागि पनि उत्तिकै महत्वपूर्ण छ । २००६ सालदेखि नै झापामा कांग्रेसले आफ्नो गतिविधिलाई सक्रियता दिएको पाइन्छ । २००७ सालमा राणाविरोधी आन्दोलनमा झापाको महत्वपूर्ण योगदान रही आएको छ । २००७ सालताका दलकृष्ण श्रेष्ठ, फत्तेबहादुर बुढाथोकीलगायतले देखाएको भूमिका र सिके प्रसाइँ साथै डा.शंकरप्रसाद उप्रेतीले कांग्रेस संगठन विस्तारमा देखाएको योगदानलाई अहिले पनि स्मरण गरिन्छ ।

त्यसपछि कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा कांग्रेसको नेतृत्व गर्दै संगठनलाई तीब्रता दिंदै राष्ट्रिय राजनीतिमै स्थापित बन्न पुगे । त्यस्तै हाल कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि नवीन विचार दिंदै कांग्रेसलाई झापामा थप क्रियाशील बनाउन भूमिका निर्वाह गरिरहेका छन् । पूर्व महामन्त्री सिटौला, प्रवक्ता शर्मा र राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतक रहेकी सरिता प्रसाइँको जिल्ला झापामा कांग्रेसको १४औं महाधिवेशनको रौनक छाएको छ ।

१५ पालिका र १३१ वटा वडा रहेको झापामा कांग्रेस महाधिवेशन र आगामी नेतृत्वका विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस झापाको नेतृत्वका लागि पार्टीका पूर्व उपसभापति देउमान थेवे र उपसभापति राम कट्टेलले सभापति पदमा उम्मेद्वारी घोषणा गरेर दौडधुपमा उत्रिएपछि कांग्रेसको माहोल तातेको छ । दुई कार्यकाल विताइसकेका हालका सभापति उद्धव थापा यस पटक सभापतिको रेसबाट अलग भएसँगै यतिबेला थेवे र कट्टेलले झापा कांग्रेसको नेतृत्व सम्हाल्ने इच्छा देखाएका छन् ।

१४औं महाधिवेशनमा जिल्ला सभापतिमा थेबे र कट्टेलले आफ्नो उम्मेदवारी प्रस्तुत गरिसकेकाले कार्यकर्ता भेटघाटलाई तीब्रता दिइसकेका छन् । दुई मात्र मुख्य प्रतिस्पर्धी देखिएका उम्मेदवारहरुलाई केन्द्रीय नेताहरुको आ-आफ्नै बचन दिएकाले झापाका कांग्रेस राजनीतिमा प्रतिनिधिहरुको जोडघटाउ शुरु भइसकेको छ । अधिकांश वडाहरुमा सर्वसम्मत नेतृत्व र प्रतिनिधि चयन गरेको झापामा जिल्ला नेतृत्वको कुर्सी कसले सम्हाल्छ भन्ने अडकलबाजी पनि शुरु भएको छ । 

प्रवक्ता शर्माले गत आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेलामा राजनीतिमा परिवर्तनको खाँचो भएको आशयसहितको अभिव्यक्ति दिदै झापा युवा नेतृत्व आवश्यक्ता रहेको औंल्याएपछि झापा उनको समर्थन राम कट्टेललाई हुनसक्ने लख काटिएको छ । अर्का बलिया उम्मेदवार देउमान थेबेलाई हालका जिल्ला सभापती उद्धव थापाले  समर्थन रहने बताइएको छ । सिटौलासँग नजिक मानिएका थापाले थेबेलाई समर्थन गर्ने संकेत दिएसँगै थेबे सिटौलाका उम्मद्वार बन्ने निश्चित देखिएको छ ।

तर यस पटक झापामा उम्मेदवारका चर्चामा रहेका थेवे र हालका कट्टेलले सिटौलाकै टिमबाट सभापतिको उम्मेदवार बन्ने अनुमान पनि गरिएको छ । झापाको राजनीतिमा कट्टेल र थेवे लगभग चारदशक अघिदेखि सक्रिय रहेका छन् । उनीहरुले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा धारणा ब्यक्त गर्दै आइरहेका छन् । यद्यपी, थेबे र कट्टेलबीच सहमति नभए पार्टी केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य सुधिरकुमार सिवाकोटीलाई पुनः जिल्ला सभापति बनाउने विषयमा पनि चर्चा शुरु भएको छ ।

दुई उम्मेद्वारबाहेक पूर्व जिल्ला सचिवहरु भगिरथ पोद्दार, भक्ति सिटौला, नेता राजेन्द्र घिमिरे, कांग्रेस झापा प्रवक्ता लोकराज ढकाल, डा.खगेन्द्र अधिकारी, वर्तमान कोषाध्यक्ष केशवराज पाण्डेले पनि सभापतिमा इच्छा देखाएका छन् । तर कट्टेल र थेबे मुख्य प्रतिस्पर्धीका रुपमा उभिएका छन् । यता, केन्द्रीय राजनीतिमा सिटौला र शर्माको भूमिका महत्वपूर्ण भएका कारण पनि झापा कांग्रेसको आगामी नेतृत्वलाई प्राथमिकताका साथ हेरिएको छ । 



नयाँ