- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही। बुटवलमा घरेलु फोहोरलाई कम्पोष्ट मल बनाउने लाखौँका मेसिन प्रयोग विहीन बन्न पुगेका छन् । बुटवल उपमहानगरपालिका वडा-१०पूर्व कालिका नगर स्थित रामनगर सामुदायिक वनमा स्थापना गरिएको रामनगर कप्पोष्ट मल भवनमा रहेका मेसिन प्रयोग विहीन हुन पुगेका छन् ।
घरेलु फोहोरलाई मोहोरको रूपमा रूपान्तरण गर्ने उद्देश्यले वडा-१० मा स्थापना गरिएको रामनगर कम्पोष्ट प्लान्ट नामक संस्थाले मूर्तरूप पाउन सकेको छैन । मल बनाउने हाल २ वटा मेसिन भए पनि निरन्तर सञ्चालनमा आउन सकेका छैनन् ।
उपमहानगरमा उत्पादित फोहोरलाई अवस्थित रूपमा बस्ती नजिक फाल्दै आएको बुटवल उप-महानगरपालिकाले नगर भित्र रहेको सो मेसिनलाई प्रयोगमा ल्याउन नसक्दा न फोहोरको दीर्घकालीन व्यवस्थापन हुन सकेको छ, न मेसिन प्रयोगमा आउन सकेका छन् ।
जसका कारण दिगो फोहोर व्यवस्थापनमा बुटवल उप-महानगरपालिका असफल बन्दै आएको छ । हाल उपमहानगरको वडा-११ स्थित हात्तीसुड बस्ती नजिक अव्यवस्थित रूपमा फोहोर फालिँदै आइएको छ ।
जसले गर्दा, उक्त बस्तीमा बस्दै आएका स्थानीयहरू फोहोरको दुर्गन्धले आक्रान्त बन्दै आएका छन्, भने, स्थानीयहरूले पटक-पटक उक्त स्थानमा फोहोर फाल्न रोक लगाउँदै आएका छन् ।
मानव बस्ती नजिक फोहोर फाल्न नपाइने प्रावधान भए पनि तर बुटवल उपमहानगरले विगत देखि नै स्थानीयहरूको केही आवश्यकतालाई पुरा गर्ने सहमति गरेर अव्यवस्थित रूपमा फोहोर फाल्दै आएको पाइएको छ ।
सहमति अनुसार उपमहानगरले स्थानीयहरूको मागलाई पुरा गर्न नसकेको गुनासो स्थानीयहरूको छ ।स्थानीयहरूलाई फकाउने बहाना बनाएर सहमति गरेको उपमहानगरले दिगो फोहोर व्यवस्थापनका लागि हाल सम्म पनि ठोस कदम चाल्न नसकेको पाइएको छ।
यस्तै, फोहोर अभावमा निरन्तर सञ्चालनमा आउन नसकेको रामनगर कम्पोष्ट प्लान्ट तथा फोहोर मैला व्यवस्थापन संस्थाकी अध्यक्ष सज्नु सुवेदी (घर्ती मगर)ले बताएकी छिन् ।
उनले भनिन्, ट्रान्सफर्मरको क्षमता पनि कम छ, वडा-१०को मात्रै फोहोरले पुग्दैन, कम्तीमा दुई वटा वडाको फोहोर सङ्कलन भएमा निरन्तरता दिन सहज हुन्छ। हामीले खर्चका लागि बुटवल उपमहानगर सँग समन्वय गर्न खोज्दा, बनाउनु भन्दा बरु नयाँ किन्न सुझाव दिएर पन्छियो ।
उपमहानगरमा फोहोर अभाव भने नभएको देखिन्छ । दैनिक ५३ टन फोहर मैला उठाउँदै आएको उपमहानगरले कम्पोष्ट मल बनाउने मेसिनलाई सञ्चालनमा ल्याउन चासो देखाएको छैन ।
हाल प्रयोग विहीन भएका मेसिनहरू नचल्ने भएको रामनगर कम्पोष्ट प्लान्ट तथा फोहोर मैला व्यवस्थापन संस्थाले बताएको छ । संस्थाका अनुसार दुवै मेसिनलाई मर्मत सम्भार गर्नुपर्ने र बजेट नभएकाले मर्मत गर्न नसकेको जनाएको छ ।
सो संस्थाका पूर्व अध्यक्ष टङ्क कुमार खड्का भन्छन्, फोहोर मैला लाई उचित रूपमा व्यवस्थापन गरी कौसी खेती देखि अर्ग्यानिक खेती गर्न सकिने मल उत्पादन गर्न सकिन्छ तर, मेसिन पुराना भएकाले समय सापेक्ष मेसिन आवश्यक रहेको बताए ।