arrow

बेलायतले कोभिसिल्ड खोपलाई दिएन मान्यता, 'नस्लवादी र चरम भेदभाव' गरेको भन्दै व्यापक विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
britin india covishield.jpg

काठमाडौं । बेलायतले कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेकाको भारत निर्मित खोपलाई मान्यता नदिँदा चर्को आलोचना भइरहेको छ । भारतमा ७२ करोडभन्दा बढी डोज कोभिसिल्ड खोप सञ्चालनमा आइसकेको छ ।

गत जुलाई ५० लाख कोभिसिल्ड खोप भारतले बेलायतलाई समेत निर्यात गरेको थियो । यद्यपि, बेलायतले त्यहाँ प्रवेश गर्ने पूर्ण खोप लगाएका भारतीय नागरिकहरूलाई १० दिन आइसोलेसनमा बस्नु पर्ने निर्णय गरेको छ । यद्यपि, अन्य देशका पूर्ण खोप लगाएका नागरिकहरूलाई भने यस्तो निर्णय गरिएको छैन ।

यस्तै पूर्ण खोप लगाएका भारतीयहरूले बेलायतमा खुला भएर हिँडडुल गर्न समेत कोभिड१९ परीक्षण गरेर नेगेटिभ नतिजा आएको हुनु पर्ने निर्णय बेलायतले गरेको छ ।

गत हप्ता बेलायतले कोभिड-१९विरुद्धको नयाँ नीतिहरू सार्वजनिक गर्दै अक्टोबर ४ देखि पूर्ण खोप लगाएर बेलायत जानले आइसोलेसनमा बस्न नपर्ने निर्णय गरेको हो ।

बेलायतको यो निर्णयलाई कतिपयले 'नस्लवादी र उच्च भेदभावपूर्ण' भएको भन्दै खासगरी भारतमा चर्को विरोध भइरहेकाे छ।

भारतीय विदेश मन्त्री एस जय शंकरले यस विषयलाई आफ्ना बेलायती समकक्षी लिज ट्रससँग 'कडा रूपमा उठाएका' छन् ।

यस्तै भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले यो एक 'भेदभावपूर्ण नीति' भएको बताएका छन् । उनले 'भारतीय नागरिकलाई यात्रामा असर पार्ने यो निर्णय फिर्ता नलिएमा पनि भारतले समेत यस्तै कदम चाल्न सक्ने' चेतावनी समेत दिएका छन् ।

यस्तै भारतीय प्रमुख विपक्षी  दल काँग्रेसका एक प्रमुख सांसद जयराम रमेशले ट्विट गर्दै यो 'नस्लवादी' निर्णय भएको बताएका छन् । 

तर, बेलायतले चार खोपको सूचिमा भारतीय निर्मित कोभिसिल्डलाई समेत राखेको छ । अक्सफोर्ड विश्व विद्यालय र एस्ट्राजेनेका फार्मास्युटिकल कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका हो । 

यसलाई भारतमा सेरम इन्स्ट्यिुटले स्थानीय रूपमा उत्पादन गरेर कोभिसिल्ड नाम दिएको छ । नेपालमा समेत लाखौँ नागरिकले कोभिसिल्ड खोप लगाएका छन् ।

यस्तै बेलायतले नेपाललाई 'रेड लिस्ट'मा निरन्तरता नै दिएको छ ।  अर्थात् कोभिड१९को सङ्क्रमण जोखिमका कारण नेपालबाट बेलायतमा यात्रा प्रतिबन्ध जारी नै राखेको छ । 

बेलायतले बुधवार बङ्गलादेश, इजिप्ट, केन्या, मालदिभ्स, ओमन, पाकिस्तान, श्रीलङ्का र टर्कीलगायतका देशहरूलाई भने रेड लिस्टबाट हटाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ