arrow

कांग्रेसका तीन गुट, गुट भित्रै फुट : देउवालाई निधिको चुनौती, आफ्नालाई फकाउँदै पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
deuba-poudel-sitaula.jpg

काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति सङ्घर्षसहित उम्मेदवारहरू मैदानमा उत्रिँदै छन् ।

कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छ । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले नै गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ ।

अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भए ।

त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३औं महाधिवेशन पछि नै संस्थागत भएको हो । सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए । त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् ।

तर १३औं महाधिवेशन भएको पाँच वर्ष पुरा भएर १४औं महाधिवेशनमा होमिदैं गर्दा भने कांग्रेस भित्रको संस्थागत गुट नै फुटको सङ्घारमा पुगिसकेको छ । केही नेताहरूले भने धमाधम धार फेर्न थालिसकेका छन् ।

१४औं महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा नै सभापतिका आकाङ्क्षी छन् । यस्तै सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी राखिसकेका छन् । उनले हालको संस्थापनबाट देउवा विरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छन् ।

‘म सभापतिका लागि पूर्ण रूपमा तयारीसहित अघि बढिसकेको छु, सबैसँग निरन्तर छलफलमा छु, सम्पर्कमा छु, जिल्लाका साथीहरूसँग पनि भेटघाट र संवाद निरन्तर छ,’ पार्टी सभापतिका लागि मैदानमा उत्रिएका निधिले भने ।

यस्तै संस्थापनबाटै नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकाङ्क्षी हुन् । तर उनले अहिलेसम्म औपचारिक रूपमा मुख खोलेका छैनन् । निधि र श्रेष्ठ दुवै मैदानमा उत्रने हो भने देउवालाई चुनौती थपिन्छ ।

यसैगरी संस्थापन इतर मानिएको पौडेल समूहबाट वरिष्ठ नेता आफैँ सभापतिको मुख्य दाबेदार हुन् । उनी आफ्नो समूहमा सहमति गराएर सर्वसम्मत उम्मेदवार हुने दाउमा अघि बढ्दै आइरहेका छन् ।

सोही समूहबाट हालका महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइरालासमेत सभापतिका आकाङ्क्षी हुन् । यो समूहलाई मिलाउन नेतृ सुजाता कोइराला निकै सक्रिय रहँदै आइरहेकी छन् ।

यस्तै नेता अर्जुननरसिंह केसीसमेत यस पटक यो गुट भित्र सहमति गराएर सभापति पद देउवाबाट फुत्काउन सक्रिय भएर लागि रहेका छन् । सहमति नभए केसी आफैँ पनि सभापतिमा उठ्ने बताउँदै आइरहेका छन् । यो समूहबाट कोइराला परिवारबाटै सभापतिमा दाबी हुने सम्भावनासमेत छ ।

यसैगरी कांग्रेस भित्रको अर्को गुट सिटौला समूह हो । सिटौला आफैँ पनि आगामी महाधिवेशनका लागि टिम नै घोषणा गर्ने तयारीमा छन् । उनले यसअघि सीमित व्यक्तिलाई राखेर टिम बनाएको भए पनि यसपटक टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आइरहेका छन् ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङलेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ