arrow

सभापतिका उम्मेदवार निधिले गृह जिल्ला पुगेर भने- सहयोग र समर्थन खोजेको छु

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असोज २४ आइतबार
nidhi-dhanusa.jpg

जनकपुरधाम। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले गृह जिल्ला पुगेर सभापतिका लागि समर्थन गर्न कार्यकर्तालाई अनुरोध गरेका छन् । आइतबार गृह जिल्ला धनुषाको नगराईनमा क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यकर्ता भेलामा उपसभापति निधिले भने- तपाईँहरूको सहयोग र समर्थन खोजेको छु।

उपसभापति निधिले आसन्न महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत आग्रह गरे। 'केन्द्रीय सभापतिमा लड्न गइरहेको छु। निर्वाचन क्षेत्रबाट समर्थनका लागि अनुरोध गर्न आएको छु,’ उपसभापति निधिले बताए ।

उपसभापति निधिले काँग्रेसमा पुराना पुस्ताहरूमा जाम लागिसकेको बोल्दै १५ औँ महाधिवेशनदेखि काँग्रेसको नेतृत्व युवाहरूले हातले दिनुपर्ने जिकिर गरे।
 नेता निधिले यस क्षेत्रमा ४ पालिका र ३८ वडा रहेको बताउँदै आपसी समझदारी र सौहार्दपूर्ण वातावरणमा सहमतिमा निर्विरोध निर्वाचन सम्पन्न गर्न आग्रह गरे।

१५ औँ महाधिवेशनपछि पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्ने आफ्नो धारणा सभापति शेरबहादुर देउवासमक्ष राखिसकेको उपसभापति निधिले जानकारी गराए। १४ औँ महाधिवेशनमा सभापतिका लागि आफूलाई सहयोग गर्ने वचन देउवाले १३ औँ महाधिवेशनकै बेला दिएको नेता निधिले बताए।

'१३ औँ महाधिवेशनमा तपाईँलाई सभापति बनाउन मैले जे त्याग गर्नुपर्छ त्यसको लागि तयार छु। १४ औँ मा मलाई समर्थन गर्नुपर्छ। तपाईँको समर्थनमा सभापति लड्न चाहेको छु,’ देउवासँग भएको कुराकानीबारे निधिले कार्यकर्ताहरूलाई बताए ।



नयाँ