arrow

ट्रेकिङको रमाइलो : सगरमाथा आधार शिविर कसरी पुग्ने, जाँदा के-के बोक्ने ?

logo
युवराज गौतम
प्रकाशित २०७८ असोज २६ मंगलबार
Everest_North_Face_toward_Base_Camp_Tibet_Luca_Galuzzi_2006.jpg.jpeg

काठमाडौं । यतिबेला कोरोना महामारीले विश्वलाई आक्रान्त बनाएको छ । नेपालमा पनि यसको प्रभाव कायमै छ । तर पनि विगत केही साता यता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएकाले चहलपहल बढेको छ । संक्रमणको डर र त्रासकाबीच नेपालीहरु यसपाली खुलेर चाडपर्व मनाउने मूडमा छन् । विशेषगरी दशैं तिहारको सिजन घुमफिरका लागि उपयुक्त मौसम हो । चाडबाडको समयमा घुमफिर गर्न खुबै रमाइलो पनि हुन्छ । असोज-कार्तिक महिनाको सफाचट मौसममा घुमघाम गर्न झनै आनन्द आउँछ ।

यही घमाइलो मौसम र फूर्सदिलो समयलाई सदुपयोग गर्ने मुडमा हुनुहुन्छ भने हाइकिङ र ट्रेकिङ्ग गरेर मजा लिन सक्नुहुन्छ । काठमाडौं उपत्यका आसपास मात्र नभई देशका विभिन्न स्थानमा छोटो दुरीका हाइकिङ गरेर पुग्न सकिने गन्तब्यहरु प्रशस्त छन् । तर कतिपय मानिसहरु चाडबाडको फूर्सदमा लामो दुरीको ट्रेकिङ्ग गरेर आनन्द लिन चाहन्छन् ।

मन मिल्ने साथीहरुको समूह बाँधेर हिमाली क्षेत्रको ट्रेकिङमा निस्कँदा बेग्लै मजा आउँछ । प्राकृतिक सुन्दरतामा रमाउँदै नयाँ ठाउँको बारेमा जानकारी राख्न मात्र नभई शारीरिक स्फूर्तिका लागि पनि ट्रेकिङ गर्नु उपयुक्त हुन्छ । विदेशीहरु मात्र होइन घुमघाम गरेर चाडपर्व मनाउने नेपालीको संख्या बढ्दो छ ।

काठमाडौं ठमेलमा रहेको सेभेन समिट ट्रेकिङ कम्पनीका संचालक मिङ्मा शेर्पाका अनुसार ट्रेकिङ गर्न रुचाउने नेपालीको संख्या विगतको तुलनामा बढीरहेको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको ट्रेकिङका लागि विदेशबाट पनि पर्यटकहरु आउन शुरु गरेका छन् । ‘विशेषत विदेशी पर्यटकहरुले कोरोनाविरुद्धको खोप अनिवार्य लगाएका हुन्छन् । नेपालमा पनि वातावरण सहज बन्दै गएको छ । सरकारी स्तरबाट पनि सहजीकरण भइरहेको छ । जसका कारण ट्रेकिङ रुटहरुमा पर्यटकहरुको उपस्थिति देख्न सकिन्छ’उनले भने,‘विगतको बर्ष भन्दा यसपाली बुकिङ गर्नेक्रम बढेको छ ।’

‘विशेष गरेर असोज-कार्तिक महिना नेपालीहरुलाई घुम्न फूर्सद मिल्छ, चाडबाडको फूर्सदमा ट्रेकिङ नै जान रुचाउने नेपालीहरुको संख्या विगतका बर्षहरुमा भन्दा बढीरहेको छ,’शेर्पाले भने । गाइड र भरियाको सहायता विनै जाने नेपालीहरुको संख्या बढी छ । जसका लागि सस्तो ट्रेकिङको प्याकेजहरु कम्पनीहरुले तयार गरेका छन् ।

धेरै नेपालीहरुको रोजाइमा रारा, लाङटाङ, मुस्ताङ, अन्नपूर्ण, घोरेपानी, मुस्ताङ, गोसाइकुण्ड, सगरमाथा बेसक्याम्पसम्मको ट्रेकिङ यात्रा रोजाइमा पर्छन् । बजेट र साथीहरुको मेसो मिलाएर ट्रेकिङ उक्लिनेहरुले यही स्थानहरुलाई पहिलो प्राथमिकतामा पार्ने गरेको ट्रेकिङ व्यवसायीहरुको भनाइ छ । विदेशीहरुलाई जस्तो रुट अनुमति लिने झन्झट नभएकाले विन्दास घुम्न नेपालीलाई कुनै अफ्ट्यारो छैन् । 

काठमाडौं कपनमा रहेको पायोनियर एडभेन्चर प्रालिका प्रमुख पासाङ शेर्पाका सरकारले क्वारेन्टाइनको व्यवस्था हटाएपछि विदेशी पर्यटकलाई सहज भएको र ट्रेकिङका लागि बुकिङ गर्नेहरुको संख्या बढेको छ । उनीहरुका लागि सरकारका तर्फबाट पनि सहजीकरण भइरहेको छ । प्रमुख शेर्पा भन्छन्,‘विस्तार अवस्था सहज हुदै गएको छ । हिमाल हेर्नका लागि पर्यटकहरु उत्साहित छन् ।’

ट्रेकिङका लागि नेपालीहरुको आकर्षण बढेको पनि उनले बताए । हिमाल हेर्न र साहसिक यात्रा गर्न रुचाउने नेपालीहरुले ट्रेकिङ रुट र हावापानीका बारेमा जानकारी लिनुपर्ने तर कुनै किसिमको कानुनी झन्झट व्यहोर्नु नपर्ने भएकाले यतिबेलाको मौसममा ट्रेकिङका गन्तब्यहरु प्हिचान गरी घुमघाममा निस्कन शेर्पाको सुझाव छ । यतिबेला विदेशी मात्र होइन नेपालीहरुका लागि पनि चर्चित गन्तब्यहरु रोजाइमा छन् । केही त्यस्ता गन्तब्यका बारेमा यहाँ चर्चा गरिएको छ ।

सगरमाथा आधार शिविर

जिन्दगीलाई सारभूत र आनन्द बनाउन विश्वकै शीर मानिने सगरमाथा उक्लिने मानिसहरु धेरै छन् । चुचुरोमै पुग्ने सपना त सबैको पुरा हुँदैन् तर आधार शिविर(वेसक्याप)सम्म पुगेर आनन्द लिन चाहनेहरुले चाडबाडको फूर्सदलाई मजाले सदुपयोग गर्न सक्छन् । आँखै अगाडी उभिएको सगरमाथ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो, ट्रेकिङ गरेर पुगिने ‘काला पत्थर’ । सगरमाथा आधारशिविर पुग्न लुक्लालाई प्रवेशद्धार मानिन्छ ।

समुन्द्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको लुक्ला, अझै उचाइमा पर्ने नाम्चे बजार घुम्न मात्र नभइ बासस्थानका लागि गज्जबका स्थान हुन् । कालापत्थरबाट ३६० डिग्रीमा हिमालहरु हेर्न सकिन्छ । यहाँ बास बस्नका लागि होटलहरु सुविधा सम्पन्न होटलहरु नभए पनि कतिपय स्थानमा टी हाउस लजहरु छन्  । पर्यटकहरुले क्याम्प खडा गरेर पनि रात काट्ने गर्छन । १३ दिनको प्याकेजमा आधारशिविरको यात्रा पुरा गर्न सकिन्छ ।

प्याकेज
पहिलो दिन : काठमाडौंबाट लुक्लासम्म पुग्ने । सोही दिन तीन घण्टाको पैदल यात्रा गरेर फ्याकदिङ्गमा पुगेर बास बस्ने । यो स्थान २६ सय ४० मिटरको उचाइमा छ । 
दोस्रो दिन : फ्याकदिङ्गबाट नाम्चेबजार, खुम्बु क्षेत्रको ६ घण्टाको यात्रा गर्ने र लजमा बास बस्न सकिन्छ । 
तेस्रो दिन : स्याङबोचे विमानस्थल क्षेत्र हुँदै खुमजुङ भिलेजबाट रमणिय दृश्य हेर्दै ६ घण्टाको यात्रा पछि टि हाउस लजहरुमा पुगेर बास बस्ने । 
चौथो दिन : पाँच घण्टाको यात्रा गरेर तेङबोचेमा पुगेर बास बस्ने । यो ३८ सय ७० मिटरको उचाइमा छ ।
पाँचौ दिन : दिङबोचेसम्म पाँच घण्टाको यात्रा गर्ने र बास बस्ने । 
छैटौं दिन : लोबुचेसम्म पाँच घण्टाको यात्रा गर्ने । ४९ सय १० मिटरको उचाइमा रहेको यहाँ बासका लागि लजहरु छन् । 
सातौं दिन : गोरखसेपसम्म चार घण्टाको यात्रा गर्ने । बास बस्ने सामान्य लजहरु छन् । 
आठौं दिन : गोरखसेपबाट सोझै कालापत्थर अर्थात आधारशिविरसम्म आठ घण्टाको यात्रा पछि पुगिन्छ यो स्थान ५५ सय ४५ मिटर उचाइमा छ । यहाँ डेन्ट खडा गरेर बास बस्न सकिन्छ । 
नवौं दिन : लोबुचे हुँदै पेङबोचेसम्म ५ घण्टाका यात्रा गर्न सकिन्छ । 
दशौं दिन : तेङबोचे गुम्बासम्मको चार घण्टाको यात्रा गर्नुपर्छ । 
एघारौं दिन : नाम्चेबजारसम्म पाँच घण्टा यात्रा गरेर बास बस्न सुविधायुक्त स्थान पुग्न सकिन्छ । 
बार्‍हौं दिन: सात घण्टा हिंडेर लुक्लामा आएर बास बस्न सकिन्छ । भोलीपल्ट ४५ मिनेटको जहाज यात्रा गरेर काठमाडौं उत्रिन सकिन्छ । 
खर्च : ५० देखि ७० हजारसम्म प्रति व्यक्ति तर पाँच देखि १० जनाको समूह भए उत्तम हुन्छ । आधार शिविरसम्म पुग्न भरिया र गाइडको पनि आवश्यक्ता पर्ने हुँदा खर्चको रकम बढ्न सक्छ । 

ट्रेकिङका चाहिने सामाग्री

–दैनिक अत्यावश्यक पर्ने सामाग्रीहरु राख्ने ब्याग प्याक, रुक स्याक, ड्राइ स्याक लगायतका लगेजहरु ।
–लाइटनेस र वाटरप्रुफ ज्याकेट, हाफपाइन्ट, चप्पल, ट्रेकिङ सुज, धेरै जोडी मोजा ।
–लेक नलाग्ने औषधी(डाइमक्स), जीवनजल, उभोमिन, प्राथमिक उपचारका सामाग्रीहरु र मास्क, स्यानीटाइजर । 
–युभी प्रोटेष्टवाला सनग्लास, सनस्क्रिन लोसन, ट्वालेट रोल, हेटलाइट, एयरफोन आदी । 
–ग्लोब्स, ह्याट्स, जंगल ह्याट्स, वाकिङ स्टिक, क्यामेरा, जुस, मिनरल वाटर आदी । 

जानकारी राख्नुपर्ने
–ट्रेकिङ जान लागेको स्थानको हावापानी, परिवेस, वातावरण, उचाइ, होटल र खानपिनको बारेमा बुझनुपर्छ । 
–बजेटको व्यवस्थापन राम्रो गर्नुपर्छ । जम्मा लाग्ने न्यूनतम खर्चभन्दा केही बढी पैसा बोक्नुपर्छ । 
–जीवन विमा अनिबार्य रुपमा गर्नुपर्छ । ट्रेकिङ कम्पनीहरुको सहायता लिंदा राम्रो हुन्छ । 
–करिब २५ सय मिटर भन्दा पुगेपछि लेक लाग्ने सम्भावना भएकाले यसमा सचेत रहनुपर्छ । 
–यात्राका क्रममा दैनिक पानीको मात्रा बढाउनुपर्छ । झोल पदार्थयुक्त खानेखुरा धेरै सेवन गर्नुपर्छ तर   
  खानामा सन्तुलन राख्नुपर्छ  । 
–आफ्नो शरीरको अवस्था कस्तो छ आफैंले विचार गर्नुपर्छ । विरामी हुनबाट आफैं जोगिनुपर्छ । लेक वा ‘हाई अल्टिच्यूड’ लाग्ने सम्भावना भएकाले विचार पुर्‍याउनुपर्छ । 
–पैदल हिंडदा एकनाशले हिड्नुपर्छ । अलिक मोटोघाटो व्यक्तिले श्वासप्रश्वासलाई कन्ट्रोल गराउन   
 हिडाइलाई ब्यालेन्स गर्नुपर्छ । 
–बाटोमा होटल वा रेष्टुरेन्ट अभाव हुनसक्ने भएकाले जंगफूडजन्य खानेकुरा बोक्नुपर्छ । 
–साथीहरुसँग सँगै टासिएर हिड्नु हुँदैन् । लाइन लागेर केही ग्याप राखेर हिड्नुपर्छ । 
–हिड्दा एकैदिन धेरै हिड्नु हुँदैन । सरदर दैनिक ६ देखि ८ घन्टा हिड्दा राम्रो हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ