arrow

यी २५ शक्तिपीठ : जहाँ दसैँ देखिन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
kalinchok-bhagawati-banepa.jpg

काठमाडौं । चाडबाडको समयमा हिन्दुहरू मन्दिरमा पुगेर पूजा आराधना गर्नु अनिवार्य ठान्छन् । त्यति मात्र नभई धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । दसैँका बेला यस्ता मन्दिरहरूमा झनै भिडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्ति पीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ ।

May be an image of 1 person

पाथीभरा
पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथीभरा देवी मन्दिर पुग्ने धेरैको इच्छा हुन्छ । चाडबाडको फुर्सदको समयमा पाथीभरा पुग्नेहरूको भीड नै लाग्छ । दसैँमा यहाँ भक्तजनहरूको घुइँचो लाग्छ । ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर उत्तर पूर्वमा पर्ने मन्दिर अग्लो डाँडामा पर्दछ । ३ हजार ७९४ मिटरको उचाइमा रहेको मन्दिरमा हिउँद महिनामा भने जान कठिन हुन्छ । चैत, वैशाख तथा असोज, कात्तिक महिना मन्दिरको दर्शन गर्न जान उपयुक्त हुन्छ । सुकेटार विमानस्थलबाट पैदल हिँड्दा करिब नौ घण्टा लाग्छ । यहाँ जतिसुकै बलि चढाए पनि रगत नदेखिने जनविश्वास छ । विराटनगर वा काठमाडौंबाट हवाई यातायातको सुविधा भए पनि सधैँ जहाज जाँदैन । त्यसैले, झापाको चारआलीबाट सार्वजनिक सवारीमार्फत २७० किलोमिटर यात्रापछि फुङलिङ सदरमुकामबाट मन्दिरको यात्रा तय गर्न सकिन्छ ।

हलेसी
पूर्वको पशुपतिनाथका रूपमा चिनिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका (साबिक महादेवस्थान गाविस) मा पर्ने हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बङ्गलादेश र भुटानमा समेत छ । काठमाडौँबाट हलेसी बिहान सबेरै हिँड्दा साँझसम्म पुग्न सकिने शक्ति पीठ हो । यहाँको महादेव गुफा आकर्षक मानिन्छ । गुफामा बौद्ध, किराँत र हिन्दुहरूले उत्तिकै श्रद्धा एवं सम्मान गर्ने गर्छन् । विशेष गरी शिवरात्रि, बालाचतुर्दशी तथा राम नवमीका दिन यस मन्दिरमा भक्तजनको ठुलो सङ्ख्यामा भीड लाग्ने गर्छ । काठमाडौँबाट हलेसी महादेव पुग्न २३० किलोमिटरको यात्रा तय गर्नुपर्छ । दसैँका बेला यहाँ विशेष मेला लाग्ने गर्दछ ।

छिन्नमस्ता
सप्तरी जिल्लामा पर्ने छिन्नमस्ता देवीको मन्दिरमा विशेष गरेर दसैँका बेला भक्तजनहरूको धेरै भीड लाग्छ । सदरमुकाम राजविराजबाट १० किलोमिटर टाढाको सखडा गाउँमा पर्ने यो मन्दिर नेपाल र भारतको सिमानामा पर्छ । दसैँका बेला पशुपक्षीको बलि दिनलाई धेरै भक्तजन यहाँ पुग्छन् । मन्दिरमा हिन्दु मात्र होइन मुसलमान समुदायहरू पनि दर्शन गर्न पुग्ने गर्छन् । मन्दिरभित्र मूल देवीको कालो रङको मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । जसका कारण पनि साक्षात् देवीका रूपमा भक्तजनहरू यहाँ पुग्छन् ।

जालपा देवी
नुवाकोट जिल्लामा पर्ने जालपा देवी मन्दिरमा दसैँका बेला विशेष भीड लाग्ने गर्छ । सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको यो देवीघाट चाडबाडको समयमा पुग्नै पर्ने धार्मिक स्थल हो । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएको नेपालको इतिहासमा उल्लेख छ । दसैँमा यहाँ नुवाकोट, धादिङ, रसुवासहित राजधानी काठमाडौँबाट समेत दर्शनार्थीहरू पुग्ने गरेका छन् ।

ज्वालामुखी देवी
धादिङको चैनपुरमा पर्ने ज्वालामुखी देवीको मन्दिरमा पनि दसैँमा बढाइँ दिने प्रचलन छ । प्रसिद्ध शक्ति पीठका रूपमा यहाँ भक्तजनहरू आइपुग्छन् । सदरमुकाम धादिङबेंसीबाट काफलपानीसम्म गाडीमा सहजै पुग्न सकिने यो मन्दिर आसपासबाट धादिङका सबै गाविस देख्न पनि सकिन्छ ।

बडिमालिकास्थान
कालिकोट जिल्लाको बडिमालिका मन्दिर चाडबाडका समयमा धेरै घुइँचो लाग्ने मन्दिर हो । बडादसैँ तथा चैतेदसैंमा विशेष मेला लाग्ने भएकाले यसलाई ठुलो शक्तिकेन्द्रका रूपमा मान्ने गरिन्छ । १२ हजार २ सय १९ फिटको उचाइमा रहेको यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने प्रचलन छ । कालिकोटको मार्तडीबाट तीन दिनको पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ ।

त्रिपुरा सुन्दरी
डोल्पाको त्रिपुरा सुन्दरी भगवतीमा दसैँमा भिडभाड हुन्छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले महत्त्वपूर्ण त्रिपुरा भेरी नदीको किनारमा पर्छ । पञ्च बलिका लागि प्रख्यात यस मन्दिरमा चैते दसैँ र बडादसैँमा भव्य मेला लाग्छ । त्रिपुरा नामको राक्षसलाई मारिएको हुनाले मन्दिरको नाम त्रिपुरा सुन्दरी रहन गएको विश्वास छ । यसको प्रवर्द्धनका लागि खप्तड स्वामी शङ्कराचार्यले ठुलो योगदान पुर्‍याएको मानिन्छ । डोल्पाको सदरमुकाम दुनैबाट १६ कोष पूर्वमा रहेको मन्दिर पुग्न पैदल हिँडेर पाँच घण्टामा पुग्न सकिन्छ । प्राकृतिक रूपमा पनि यो स्थान अति नै रमणीय छ ।

बागलुङ कालिका
बागलुङ जिल्लामा रहेको बागलुङ कालिका देवीको मन्दिर चाडबाडका बेला विशेष भिडभाड हुने मन्दिर हो । पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोका रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति मन्दिरमा राखिएपछि मन्दिरले चर्चा पाउन थालेको र भक्तजनहरूको भीड लाग्न थालेको मानिन्छ । सदरमुकाम बागलुङ बजारदेखि पूर्वमा कालिगण्डकी र कोठेखोलाको संगममा रहेको हात्तीसुँडे जङ्गलमा मन्दिर रहेको छ । दसैँको कालरात्रि र नवमीको दिन यहाँ राँगो, कुखुरा, सुँगुर र परेवाको बलि दिइन्छ ।

गहवामाई
पर्सा जिल्लाको वीरगन्जमा रहेको गहवामाई दसैँका लागि प्रख्यात धार्मिक स्थल हो । गहवामाई मन्दिरमा बली चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पशु बलि नचढाउनेहरू मिठाई, फलफूल र नरिवल चढाउने गर्दछन् भने उनीहरूले जमरा कोठामा घिरौँला, कुभिन्डो, मुला आदि बलि दिई दुर्गा भवानीलाई दही चिउरा, खीर तथा नरिवल चढाउने गर्दछन् । प्रत्येक वर्ष बडादसैँको सप्तमीदेखि महानवमीसम्म ठुलो मेला लाग्ने गरेको गहवामाईमा विभिन्न कामना र भाकल गरिएका बोका, कुखुरा, हाँस र परेवालगायतका पशुपक्षीको बलि चढाइन्छ । यहाँ नजिकैको भारतीय सहर रक्सौलसहित बिहार र आसपासका क्षेत्रबाट समेत दसैँमा भाकल पूजा गर्न उल्लेख्य सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । जसका कारण घण्टाघर क्षेत्रदेखि बिर्ता बजारसम्मको सडक मेलाकै कारण अवरुद्धसमेत हुने गरेको छ ।

उग्रतारा
सुदूरपश्चिमका नौ भगवतीमध्ये उग्रताराको दर्शनका लागि पनि हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् । डडेलधुराको अमरगढी नगरपालिकामा पर्ने यो मन्दिर बागबजारबाट चार किलोमिटर पश्चिमपट्टि रहेको छ । प्रत्येक वर्षको महाअष्टमीका दिन यहाँ भव्य मेला लाग्ने गर्छ । किंवदन्तीअनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका-८ लटाउली बस्ने सार्की जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको विश्वास गरिन्छ । यहाँ बलि दिने प्रचलन पनि छ ।

No description available.

मौलाकालिका
नवलपरासी गैँडाकोटको मौलाकालिका मन्दिर चाडबाडका समयमा भिडभाड हुने मन्दिर हो । सवारीसाधन मन्दिरको प्रवेशद्वारसम्मै पुग्छ । त्यहाँबाट १ हजार ८९२ वटा सिँढी चढेपछि भगवतीको मन्दिर पुग्न सकिन्छ । उकालो सिँढी पार गर्न करिब ४० मिनेट लाग्छ । यहाँ एउटा पोखरीको बिचमा गाडिएको काठको खम्बा र सामुन्ने कालीको मन्दिर छ । मन्दिरभित्र रहेको कालीको मूर्ति भने छुन पाइँदैन । दसैँका बेलामा यहाँ नारायणगढ बजारसहित नवलपरासी, चितवन, रुपन्देही तथा मकवानपुरबाट समेत भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन् ।

गोरखकाली
बडादसैँमा विशेष महत्त्वका साथ पूजा-आराधना गरिने गोरखाको गोरखकाली मन्दिरको आफ्नै विशेषता छ । गोरखा दरबारस्थित मन्दिर दसैंघरमा घटस्थापनाको दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई दियो, कलश र नगरा बाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गरी देउता सार्ने प्रचलन छ । सोही अवसरमा हर्षबढाइँ गरी दसैँ प्रारम्भ भएको घोषणासमेत गरिन्छ । गोरखा दरबारसँगै रहेको मन्दिरमा वर्षौँअघि देखि बडादसैँका अवसरमा विशेष पूजाआजा हुने गरेको छ ।

विन्ध्यवासिनी
पोखराको विन्ध्यवासिनीको मन्दिरमा पनि चाडबाडका बेला विशेष भीड लाग्ने गर्छ । भगवतीलाई विन्दवासिनी पनि भनेर पूजा गर्ने गरिन्छ । बडादसैँको फूलपातीका दिन बाजागाजासहित फूलपाती भित्राउने प्रचलन छ । पोखरा-बागलुङ सडक खण्डनजिकै पर्ने यो मन्दिर ३ सय वर्षअघि निर्माण भएको इतिहास छ ।

No description available.

यस्तै, पर्सा जिल्लाको पूर्वी क्षेत्र विन्ध्यवासिनीमा समेत विन्ध्यवासिनी मन्दिर छ । जहाँ दसैँ अवधिभर पूर्णिमासम्म धुमधामका साथ मेला लाग्ने गर्छ । यहाँ भारतबाट समेत भाकल पूजा गर्न उल्लेख्य सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । यस्तै बारा, पर्सा, रौतहट, मकवानपुरबाट समेत यहाँ दर्शन गर्न भक्तजनहरू पुग्ने गर्दछन् ।

पाल्पा भगवती
पाल्पाको तानसेन बजारको मध्य भागमा अवस्थित पाल्पा भगवती मन्दिरको बेग्लै धार्मिक महत्त्व छ । श्रीनगर डाँडामा रहेको मन्दिरको मध्य भागमा रणउजेश्वरी भगवतीको मूर्ति रहेको छ । भाद्र कृष्ण नवमीका दिन यहाँ भव्य जात्रा हुने गर्छ । अङ्ग्रेजसँग युद्ध लड्नु पूर्व यहाँ सैनिकहरूले भव्य पूजाआजाको आयोजना गर्ने गर्थे भन्ने इतिहास पाइन्छ । बडादसैँका बेला पनि भगवतीको दर्शनका लागि भक्तजनहरू पुग्ने गर्छन् ।

देउती बज्यै
सुर्खेतको ऐतिहासिक धार्मिक स्थल देउती बज्यै मन्दिर धार्मिक पर्यटकीय स्थलका रूपमा प्रख्यात मानिन्छ । मन्दिर सदरमुकाम वीरेन्द्रनगर बजारबाट साढे तीन किलोमिटरको दूरीमा पर्छ । मन्दिरमा देवीका दुवै पाइला रहेकाले त्यहाँ दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । मनले चिताएको पूरा हुने विश्वासका साथ कुलदेवीको पूजा गर्ने गरिन्छ । मन्दिरमा बोका बलि दिने, परेवा उडाउने र घण्टी चढाउने परम्परा छ ।

गढीमाई
बलिका लागि चर्चित गढीमाईको मन्दिर बारा जिल्लामा पर्छ । सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गर्छ । बडादसैँका बेला यहाँ राँगा र बोकाको विशेष बलि दिने प्रचलन छ । गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यो शक्ति पीठ चर्चित शक्ति पीठ हो ।

No description available.

मनकामना
गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना नपुग्ने मानिसहरू कमै मात्र भेटिन्छन् । चाडबाडको समयमा दर्शन गर्ने मात्र होइन घुमघामका लागि मनकामना पहिलो छनोटमा पर्छ । काठमाडौँबाट १०२ किलोमिटर यात्रा गरेपछि कुरिनटारबाट केबुलकार चढेर यस मन्दिरमा सहजै पुग्न सकिन्छ । पैदल जानेहरूका लागि आबुखैरेनीबाट करिब पाँच घण्टाको यात्रा तय गरेपछि पुगिन्छ । विशेष गरेर पशु बलिका लागि यो मन्दिर प्रख्यात छ । दसैँको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने प्रचलन छ ।

No description available.

पलान्चोक भगवती
काभ्रेपलान्चोक जिल्लाको पाँचखालबाट नजिकै रहेको पलान्चोक भगवतीको मन्दिर चर्चित शक्ति पीठ हो । वैशाख पूर्णिमा र कात्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढा टाढाबाट भक्तजन आउने गर्दछन् । मन्दिर लिच्छवी कालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । काठमाडौँको नक्साल भगवती र शोभा भगवती अनि पलान्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ । यहाँ दसैँमा भक्तजनहरूको
भीड लाग्छ ।

No description available.

भीमेश्वर
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तर पूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किरातकलामा नै स्थापना भएको यस मन्दिरमा देशमा सङ्कट आउनु पूर्व भीमेश्वरको मूर्तिमा सङ्केतका रूपमा पसिना आउने गर्दछ । मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैतेदसैं, बडादसैँमा मेला लाग्ने गर्दछ । काठमाडौँको पुरानो बसपार्कबाट १३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट मन्दिर पुग्न चार किलोमिटरको यात्रा तय गर्नुपर्छ ।

No description available.

दक्षिणकाली
काठमाडौँबाट नजिकै रहेको दक्षिणकाली मन्दिर धार्मिक यात्राका लागि प्रमुख गन्तव्य मानिन्छ । विशेष गरी शनिवार र मङ्गलवार भीड लाग्ने यस मन्दिरमा बलि दिने प्रचलन पनि छ । दक्षिणकाली काठमाडौँबाट दक्षिणतर्फ करिब १७ किलोमिटरको बस यात्रा गरेपछि पुग्न सकिन्छ । राजा प्रताप मल्लद्वारा निर्माण गरिएको यो मन्दिर कालीदेवीको हो । यहाँ दसैँ अवधिभर धूमधामका साथ मेला लाग्ने गर्दछ । राजधानीवासीहरूको दसैँमा यहाँ भीड लाग्ने गर्दछ ।

No description available.

वनशक्ति माई
पर्सा जिल्लाको पश्चिमी क्षेत्र ठोरीमा पर्ने वनशक्ति माईको मन्दिरमा दसैँको सुरु दिन घटस्थापनादेखि नै भव्य पूजा आराधना हुने गर्दछ । यहाँ भारतीय क्षेत्र पटनादेखिका भक्तजनहरू दर्शनका लागि आउने गर्दछन् । घरमा जमरा नराख्नेहरूले समेत यस मन्दिरमा जमरा राख्ने वा त्यहाँबाट घरमा लैजाने गर्दछन् । यस शक्ति पीठमा बलिसमेत दिइने गरिन्छ । यस मन्दिरमा चितवन जिल्लाबाट समेत भक्तजनहरू पूजा आराधनाका लागि पुग्ने गर्दछन् ।

वज्रवाराही
चार वाराहीमध्ये वज्रवाराही मन्दिरको बेग्लै महत्त्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाउन सकिन्छ । प्राकृतिक रूपले सुन्दर साथै ऐतिहासिक स्थलका रूपमा पनि यस मन्दिरको महत्त्व छ । दसैँमा यहाँ बोकाको बलि दिने प्रचलन छ । कात्तिक शुक्ल अष्टमी, नवमी र दशमीका दिन यहाँ विशेष जात्रा देखाउने
प्रचलन छ ।

कालिन्चोक
कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदी बहिनी हुन् भन्ने किंवदन्ती रहेको छ । यो मन्दिर दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्छ । यहाँसम्म पुग्न हिजोआज कच्ची बाटोमार्फत ट्याक्सीमा समेत जान सकिन्छ । यस्तै निजी सवारीसाधनहरू समेत यहाँ लैजान सकिन्छ । हालै आएर यस मन्दिरमा पुग्नका लागि केबुलकारको पनि परीक्षण सञ्चालन सुरु गरिएको छ । यस मन्दिरमा दर्शन गरेमा चिताएको पूरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ । चाडबाडको समयमा यहाँ भक्तजनहरूको भीड लाग्ने गर्छ ।

बज्रयोगिनी
नेपालको प्राचीन सहर साँखुमा रहेको बज्रयोगिनी मन्दिरको विशेष महत्त्व रहेको छ । काठमाडौँको पुरानो बसपार्कबाट १८ किलोमिटर टाढा रहेको यो मन्दिरमा विशेष गरी माघ महिनामा श्री स्वस्थानी व्रत कथा मेला लाग्ने गर्छ । बज्रयोगिनी देवीलाई बौद्ध परम्पराअनुसार बुद्ध शक्ति ‘तारा’का रूपमा मानिन्छ । यस कारण बज्रयोगिनी देवीलाई उग्रतारा पनि भनिने गरिन्छ । चैतमा बज्रयोगिनी जात्राकै आयोजना गरिन्छ । जात्राका बेला अन्डा, हाँस, बोका र राँगाको बलि दिने गरिन्छ ।

चण्डेश्वरी
चण्डेश्वरी मन्दिर काभ्रेको बनेपामा पर्दछ । नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीका रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दु धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् भने बुद्ध मार्गीहरूले पनि चण्डेश्वरीलाई विशेष रूपमा मान्ने गर्दछन् । दसैँका बेला यहाँ सयौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ