- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पृथ्वीनारायण साहको नेपाल राज्य एकीकरण सम्पन्न भएपछि पाँचथरको उत्तरी याङवरक गाउँपालिका वडा न. ४ थर्पुमा प्रत्येक वर्ष दशैको महानवमीको दिन नचाइने ऐतिहासिक निशान यस वर्ष पनि भव्यताका साथ नचाइयो ।
गत वर्ष कोभिड १९ को कारण इतिहासमै पहिलो पटक रोकिएको निशान नाच यस वर्ष भने ठुलो भिडभाडका साथ प्रदर्शन गरिएको हो ।
राज्य एकीकरण क्रममा पूर्वमा राज्य गरेर बसेका लिम्बुवानका सेनासँग भएको लडाइँमा चौथो पटक सम्म जितहार नभएपछि सम्झौता गरेको ताम्र पत्र सँगै उपहारका रूपमा उपलब्ध गराएका २ वटा निशान नचाउने उत्सव भव्यताका साथ प्रदर्शन गरिएको हो । निशान मौलोलाई व्यवस्थित गर्न गाउँपालिकाले पूर्वाधार विकाशको लागि आर्थिक सहयोग गर्दे आएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले बताउँछन् ।
आगामी दिनमा पनि आवश्यकता अनुरूप पूर्वाधार विकाश तथा प्रचार प्रसार प्रवर्द्धनमा पालिका लाग्ने गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङ बताउँछन् । कालिकाधाम मन्दिर,तथा निशान मौलो परिसरमा घेरा बारा निर्माण,कम्पाउन्ड वाल लगायतको काम स्थानीय सरकारले गरी निशान मौलो क्षेत्रलाई व्यवस्थित गरिएको पालिका अध्यक्ष घिमिरेको भनाई छ । आवश्यकता अनुसार अझै निशान मौलो क्षेत्रलाई व्यवस्थित गर्दे लगिने गाउँपालिका उपाध्यक्ष योङहाङले बताए ।
नेपाल राज्य एकीकरणका क्रममा साह पक्षीय सेनाले प्रयोग गरेका हात हात हतियार सहितका २ वटा निशान नवरात्रको महानवमीमा प्रदर्शन गर्ने गरिन्थ्यो ।
युद्धकै शैलीमा पुराना शस्त्र अस्त्र सहित जङे र श्रीकम्फु निशान बोकेर नाच्दै देखाइने यो निशान नाच देखाइन्छ ।
याङवरक ४ काली मन्दिर क्षेत्रमा लगाइँदै आएको यो उत्सवलाई १ नम्बर प्रदेशकै सबैभन्दा ठुलो र ऐतिहासिक रूपमा लिने गरिन्छ । जसको अवलोकन गर्न नेपालको पूर्वी भागका अधिकांश जिल्लासँगै भारतको सिक्किम दार्जिलिङ र भुटानसम्मबाट दर्श नार्थी आउने गर्दछन् ।
नवरात्र शुरु भएसँगै घटस्थापनाकै दिनबाट विधिवत् रूपमा पूजा आराधना सुरु गर्दै महानवमीमा प्रदर्शन गरिने खुँडा र खुकुरी सहितका युद्ध कालिन हतियार १८३१ केही समय पाँचथरको याङवरकमै राखिएकोमा १८८० मा श्रीकम्फु र १९१२ मा श्रीजंग निशान सहितका हतियार तत्कालीन लिम्बु लडाकुका प्रतिनिधिलाई उपहार स्वरूप उपलब्ध गराए पश्चात् नियमित रूपमा प्रदर्शन गरिएको याङवरक ४ का वडा अध्यक्ष तथा निशान मेला बजार व्यवस्थापन समितिका अध्यक्ष शहरनन्द योङहाङ बताउँछन् ।
निशान विशेष ध्वजा पतकाले सुसज्जित झन्डा जस्तै हुन्छ । हरेक वर्षको दसैँका बेला नौरथा सुरु भए देखि विशेष पूजा आज गरी महानवमीका दिन निशान निकाल्ने र प्रदर्शन गर्ने गरिन्छ ।
याङवरकको निशान भने सबै भन्दा पुरानो इतिहास बोकेको निशान मानिन्छ । याङवरकमा श्री कम्पु र श्रीजंगी गरी दुई वटा निशान छन् । २ ओटै निशानलाई हरेक वर्ष बडादसैँको नवमीका दिन प्रदर्शन गरिनुका साथै नचाउने पनि गरिन्छ । नचाउँदै छुट्टाछुट्टै मौलोमा मार हानेर भोग चलन दिइन्छ । निशान नचाइसके पश्चात् सुब्बाहरूले पहिल्यै आ आफ्नै घरमा निशान लगेर राख्ने गर्दथे भने अहिले कुटी बनाएर त्यसलाई व्यवस्थित गरिएको समितिका सहसचिव अशोक खेबाङ बताउँछन् ।
उक्त निशान ती सुब्बाहरूलाई मालपोत तिरो बुझ्ने अधिकार सहित शाह राजाहरूले प्रदान गरेको जानकारहरू बताउँछन् । बाजागाजा, बन्दुक, विभिन्न हातहतियारहरू पनि निशानकै साथमा बुझिलिएका हुन् । बुझिलिनेमा श्री कम्पु तर्फ १३ थरीका २२ सुब्बा र श्री जङ्गी तर्फ १६ थरीका ५२ सुब्बा रहेको पाइन्छ । याङवरकमा रहेका दुई वटा निशानलाई एकीकृत गरी अहिले एउटै समिति बनाई काम गरिरहेको श्री कम्पु श्री जङ्गी समितिका सचिव महेन्द्र सिलिङ बताउँछन् ।
निशान खास सैन्य सुरक्षा गुल्म जस्तै सीमा सुरक्षाको लागि दिइएको जानकारहरू बताउँछन् ।
विगत लामो समयदेखि पुजारीको जिम्मेवारी सम्हाल्दै आएका बल बहादुर माबोका अनुसार निसान पूजा गर्नलाई दिइएको नभए पनि विभिन्न मनोकाङ्क्षा साथ यो आएकै वर्ष देखिनै पूजाआजा गर्न थालिएको हो । निसान थानमा विभिन्न देवी-देवताहरुको पूजाआजा गरिँदै आएको छ ।
अझै पनि निसान पुज्नाले तथा निसान ढोग्नाले मनले इच्छाएको कुरा पुराउने विश्वास रहिआएको छ । यही विश्वासका साथ वर्षेनी हजारौँ भक्तजन तथा मेला भर्न आउने सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
राजधानीमा मचिन्द्रनाथ नचाउँदा राज्यले जसरी लगानी गर्दछ,त्यसरी नै ३ सय वर्ष पुरानो निशान नचाउँदा पनि राज्यको सरसहयोग उत्तिकै हुनुपर्ने समितिका अध्यक्ष रण बहादुर तावा बताउँछन् ।
विगत वर्षहरू भन्दा निशान मौलो लाई अहिले धेरै व्यवस्थित गरिएको र अझै पनि व्यवस्थित गर्दे लैजानुपर्ने स्थानीय अर्जुनदेव स्याङबो बताउँछन् ।
सर्वसाधारणको उपस्थितिलाई हेर्ने हो भने यसलाई जिल्लाकै ठुलो मेला मान्न सकिने स्थानीय पर्यटन व्यवसायीहरूको दाबी छ । यातायातको सहजता बढेसङै निकट भविष्यमा पहाडी क्षेत्रमा प्रदेशकै ठुलो मेला बन्न सक्ने सम्भावना बोकेको छ । त्यसका लागि भक्तजन तथा दर्शालुहरुलाई मध्यनजर गर्दे पूर्वाधार विकाश,प्रचार प्रसार र प्रवर्द्धन गर्न आवश्यक देखिन्छ ।