- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र रमेशकुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवबाट बर्खास्तीमा परेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गरेको हो ।
विवादित सदस्यसचिव सिलवालसँग सरकारले दुई पटकसम्म स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नदिएपछि बर्खास्त गरेको जनाएको छ ।
तत्कालीन ओली नेतृत्वको सरकारले सिलवाललाई सदस्यसचिवको जिम्मेवारी दिएको थियो । सिलवालले नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद सागको आयोजना गरेका थिए ।
तर उक्त सागको अपारदर्शीताबारेमा उनीमाथि गम्भीर प्रश्न खडा भएको थियो । लागतभन्दा निकै नै धेरै खर्च गराएका सिलवालले छानबिनमा समेत असहयोग गरेका थिए ।
त्यस्तै उनकै पालामा आएको राष्ट्रिय खेलकुद विकास ऐनलाई पालना गर्न अहम् भूमिका खेल्नुपर्नेमा उनले नै असहयोग गर्दै आएका थिए ।
सिलवालले साग सकिएको तीन महिनाभित्र हिसाबकिताब सबै छर्पष्ट पार्नुपर्नेमा झण्डै एक वर्ष नै लगाएका थिए । र पनि कुनै स्पष्ट विवरण पेश नगरी भ्रष्टाचार भएको आशंकालाई थप बढावा दिएका थिए ।
तिनै सिलवाललाई ओलीले नै २०७७ साउन २३ गते दोस्रो पटक चार वर्षका लागि नियुक्त गरेका थिए । नयाँ ऐनअनुसार उनी दोस्रो पटक नियुक्त भएका थिए ।
उनलाई खुल्ला प्रतिस्पर्धाको भिडन्तबाट सीधै ओलीले छानेका थिए । सिलवाल एमालेका केन्द्रीय सदस्य बनाइएपछि खेलकुदमा भन्दा पार्टीको झोला बोकेर हिँड्दा खेलकुद क्षेत्रलाई तहसनहस नै बनाएका थिए ।
भाषणमा खेलकुदको कायापलट गरेको देखाउने तर व्यवहारमा खेलकुदलाई अधोगतिमा धकेलेका सिलवाललाई अन्ततः शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त नै गरेको हो ।
उनलाई बर्खास्त गरे पनि उनको अपारदर्शी र अनियमितताबारे छानबिन प्रक्रिया नरोकिने बालुवाटार स्रोतले बताएको छ ।