arrow

हावाहुरी र पानी पर्दा जान्छ बिजुली : विद्युत्को सास्ती कहिलेसम्म ?

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
nea-darchula-center.jpg

दार्चुला। पानी पर्‍यो कि बिजुली गयो, हावा चल्यो कि बिजुली गयो, बेला बेलामा पोल ढल्यो रे, तार चुँडियो रे, लाइन फल्ट भयो रे, हप्ता दिनमा लाइन अवरुद्ध, कहिले आउँछ थाहा छैन। बुझ्नुपर्छ तीन चार दिन लाग्छ। यी वाहनाले दार्चुलाका उपभोक्ता हैरान छन्। कहिलेकाहीँ प्राविधिक कारणले प्रसारण लाइनमा समस्या आउँछ जो स्वाभाविक हो।

किनकि इलेकट्रिकल वस्तुहरू कहाँ कति बेला के हुन्छ भन्न सकिँदैन। तर यहाँको लाइन हावाहुरी र पानी पर्दा जान्छ। हावाहुरी चल्ने समय चैत वैशाखदेखि लिएर असोज महिनासम्म दार्चुलाको लाइन बेला बेला अवरुद्ध हुन्छ। हप्ता दिनसम्म पनि उपभोक्तालाई सास्ती दिने विद्युत् प्राधिकरण यसको उपाय खोज्दैन। 
प्राधिकरणको ढिलासुस्ती र लापरबाही, प्रतिकुल मौसम र सीमित स्रोत, साधन तथा जनशक्ति अभावका कारण दार्चुलामा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको छ।

सवस्टेशन थालीगाडदेखि गोकुलेश्वरसम्मको लाइनमा सबैभन्दा बढी बिग्रने गरेको छ। विद्युत् कर्मचारीहरूका अनुसार त्यो लाइनमा वन क्षेत्र पर्ने हुँदा हावाहुरी चल्ने बित्तिकै लाइन जाने गर्दछ। कहिले कहिले त यस्तो समस्या आउँछ कि लाइन के भएको हो ? दार्चुला वितरण केन्द्रलाई नै थाहा हुदैन्। फल्ट खोज्न दुई तीन दिन लाग्छ। जवाफ आउँछ–फल्टको समस्या देखिएको छ, कुन ठाउँमा फल्ट छ भन्ने खोजिरहेका छौ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण पश्चात् सुदूरपश्चिममा लोडसेडिङ अन्त्य हुने विश्वास लिइएको थियो। त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर सेवा प्रवाह भइरहेको छ तर जिल्लामा भने नियमित विद्युत् अवरुद्ध हुन्छ। लोडसेडिङको जस्तै मार यहाँका उपभोक्ताहरूले खेपिरहेका छन्।

विद्युत् गए सामाजिक सञ्जाल तात्छ
विद्युत् उपभोक्ताहरूले अहिले विद्युत्बाट सास्ती पाइरहेका छन्। लाइन गए फेसबुकमा स्ट्याटस लेख्नेहरूको घुइँचो हुन्छ। नाना थरी स्ट्याटस, विचार, सुझाव आलोचना, गाली सबै देख्न पाइन्छ। जत्ति गरे नि प्राधिकरण सुन्दैन, देख्दैन। यति हुँदासम्म पनि केही सीप नचलेपछि अहिले सबैले कुलमान सम्झन्छन्। कुलमान दाइ सुत्नु भयो कि क्या हो भनेर लेख्छन्। कसैले त कुलमान कहाँ छन् भनेर लेख्छन्। लाइन गयो कि कार्यालयमा उपभोक्ताको फोन आउन सुरु गर्छ। लाइन नआउँदासम्म टेलिफोनको घण्टी बज्न छोड्दैन।

नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र दार्चुला नामक कुनै सामाजिक सञ्जाल साइट छैन। उ सँग हरेक व्यक्तिसँग पहुँच भएको सामाजिक सञ्जालको कुनै लिङ्क छैन। विद्युत् के भयो ? कहिले आउँछ ? कहाँ समस्या छ भनेर सूचना दिन फोन बाहेक अरू कुनै उपाय अवलम्बन गरेको छैन।

सरोकारवाला निकायको ताकेता पुगेन कि ?
जिल्लाको मुख्य समस्या भनेकै विद्युत् र सञ्चार हुन्। यी बेला बेला अवरुद्ध हुँदै आएका छन्। यस विषयमा सरोकारवालाहरूले चासो नदिएको नागरिकको गुनासो छ। प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफूले समय समयमा विद्युत् कार्यालयका प्रमुखलाई आफ्नो कार्यकक्षमै बोलाएर समस्या के हो ? कसरी विद्युत् अवरुद्ध हुन्छ ? यत्तिका समय किन बिजुली आएन भनेर बुझ्ने गरेको तथा सेवा नियमित गराउन निर्देशन दिने गरेको बताए। आफूले विद्युतीकरणको ठेक्का लिएका ठेकेदारहरूसँग समेत गुणस्तरीय र काम छिटो गर्न भन्ने गरेको सुनाए। जिल्ला प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले विद्युत् कार्यालयलाई समस्या समाधान छिटो गर्न भन्ने गरेको बताए। उनले भने,‘हामीलाई सञ्चार नभई हुदैन् विद्युत् छैन भने सञ्चार पनि बन्द हुन्छ त्यसैले यसप्रति जिम्मेवार बन्न आग्रह गरिरहेको हुन्छु।’

वैकल्पिक बिजुली पनि छैन
यदि बत्ती गयो भने पनि विकल्पको रूपमा उपयोग गर्न अन्य कुनै बिजुली छैन। गत वर्ष लास्कु खोलामा आएको बाढीले जिल्ला सदरमुकाममा नियमित पहुँच पुगेको डुङ्गरी लघुजल विद्युत्मा क्षति गर्‍यो। विद्युत् गृहका सामानमा क्षति हुँदा सञ्चालनमा आउन सकेको छैन। यस्तै गत भदौ १३ गते आएको बाडी पहिरोले दुहुँ गाउँपालिकामा रहेका आधा दर्जन लघु जलविद्युत् सबै बगायो। जसले गर्दा अहिले पनि दुहुँवासी टुकीकै उज्यालोमा छन्। अहिले राष्ट्रिय प्रसारण लाइनको बत्ती गए विकल्पमा उपयोग गर्न अन्य विद्युत् नहुदा उपभोक्तालाई टुकी र सौर्य ऊर्जाको प्रयोगको विकल्प छैन। त्यसैले बिग्रेका, भत्केका संरचना निर्माण गर्न सम्बन्धित निकायले चासो दिनु अति आवश्यक छ।

विद्युत्को सास्ती कहिलेसम्म ?
मानव जीवनको एउटा महत्त्वपूर्ण अङ्गजस्तै बनेको छ विद्युत्। हप्ता दिन सम्म पनि विद्युत् नपाउँदा उपभोक्ताको कार्यशैलीमा समेत असर परिरहेको छ। बर्खामा पानी पर्दा होस हिउँदमा हुरी चल्दा नै किन नहोस् विद्युत् अवरुद्ध हुने समस्याले उपभोक्ता आजित भैसकेका छन्। यसको विकल्प र समाधान खोज्नतर्फ भने सरोकारवाला निकायले चासो देखाएका छैनन्।

त्यसो त, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालमा लोडसेडिङ अन्त्य गरेर ख्याति कमाएका व्यक्ति हुन्। अघिल्लो कार्यकालमा उनले नेपाललाई लोडसेडिङमुक्त बनाएका थिए। केही महिना अघि उनी पुनः नियुक्त भएका छन्। तर दार्चुलावासीले विद्युत् सेवा नियमितका हिसाबले कुलमानको पुनरागमन भएको अनुभूति अझै गर्न सकेका छैनन्।

दार्चुलाका ५० प्रतिशत बढी घरधुरी अझै विद्युत्को पहुँचमा छैनन्। चालु आर्थिक वर्षभित्र जिल्लाका सबै स्थानीयतहमा विद्युतीकरण गर्ने भनिए पनि त्यो पूरा हुने छाँट देखिएको छैन। अब विद्युत् प्राधिकरण यसमा जिम्मेवार भएर नियमित रूपमा विद्युत् दिनुपर्छ। आम उपभोक्ताले पाएको सास्तीलाई हटाउन प्रयास गर्नुपर्छ। आफ्नो कार्यमा गैर जिम्मेवार हैन जिम्मेवार बन्नुपर्छ। सास्तीलाई हटाउने उपाय र विकल्पको खोजी गर्नुपर्छ र पहल गर्नुपर्छ।

दार्चुलामा विद्युत् र सञ्चार अवरुद्ध
दार्चुलामा शुक्रवार देखि विद्युत् अवरुद्ध भएको छ। शुक्रवार अवरुद्ध भएको विद्युत् आइतबार केही घण्टा सञ्चालनमा आए पनि पुनः सोमवारदेखि अवरुद्ध छ। यस्तै सोमवार रातीदेखि फोन तथा इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ। फोन तथा इन्टरनेट नहुदा बैङ्क तथा बितिए संस्थाका साथै एफएम रेडियो प्रभावित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ