arrow

तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न कुलमानको आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
kulman-07-15.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए । 

उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए । उनले सकेसम्म तिहारमा विद्युत् पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए । 

घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको बताए । उनले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले अहिले पनि २१ सय मेगावाट विद्युत् उत्पादन भए पनि घटेर १९ सयमा झरेको बताए । उनले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने,‘मुख्य गरेर यो वर्ष वर्षातको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ । तामाकोशी ४६५ मेगावाट अहिले पनि आउट छ । प्रशारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिब २ सय मेगावाटको आयोजनाहरू आउट छन् । करिब ७ सय मेगावाटका जलविद्युत प्रणाली भन्दा बाहिर छन् । एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन । त्यसबाट राजश्व सङ्कलनमा ठूलो घाटा भएको छ । मर्मतको लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ । यति हुँदा पनि हामीलाई पुग्ने विद्युत् उत्पादन छ । करिब २ हजार एक सय मेगावाटको उत्पादन अहिले छ । तर त्यो घटेर १९ सय मेगावाटमा झरेको छ । दैनिक रूपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ । अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो । १२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढी पहिरो गयो । तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ । तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु ।’

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिली बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ