arrow

सङ्ग्रहालयमा शेर्पा

हिमाल र शेर्पाहरूको इतिहास जगेर्नामा लागेका एक अथक योद्धा 'सोनाम'

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
lakpa-sonam-sherpa-museum.jpg

नाम्चे। हिमाल र शेर्पाहरूको इतिहास विश्वलाई चिनाउन एक योद्धा अहोरात्र खटिएका छन्। लाक्पा सोनाम शेर्पाले आफ्नो एकल प्रयासमा म्युजियम (सङ्ग्रहालय) खोलेका छन्। श्रवण शक्ति गुमाएका सोनामले एकल प्रयासमा शेर्पा एवं सगरमाथाको इतिहास जगेर्ना गर्ने जिम्मेवारी आफ्नो काँधमा उठाएका छन्।

म्यानेन्जाईटिस भएर श्रवण शक्ति गुमाएका सोनामले स्विजरल्याण्ड गएर उपचार गर्दा पनि श्रवण शक्ति फिर्ता नभएपछि उनले शेर्पा र हिमालका बारे अध्ययन गर्न सुरु गरे। उक्त अध्ययनपछि फोटोग्राफीमा रुचि भएका सोनामले शेर्पाहरूको इतिहास र सगरमाथा क्षेत्रको परिचयका लागि म्युजियम खोल्ने बारे सोच्न थाले । उनीसँग सोच र आत्मबल भए पनि उक्त कार्यका लागि चाहिने पैसाबारे कुनै योजना भने सोचेका थिएनन्।

सोनामले आफ्नो विचार स्विस साथीहरू माझ राखे र उनका विदेशी साथीहरूले उनलाई सहयोग गर्नका लागि फाउन्डेसन खोले । उक्त फाउन्डेसनले जम्मा गरेको पैसाले नाम्चेमा जग्गा किने र म्युजियमका लागि चाहिने घर बनाउन सुरु गरे।

म्युजियमलाई दिगो बनाउनका लागि होटेल र म्युजियमसँगै खोल्ने योजना सोनामले बनाए। होटेलबाट भएको आम्दानीले म्युजियम चल्न सक्छ भन्ने उनीमा विश्वास थियो। उनको विश्वास कालान्तरमा सही साबित भयो। उनले म्युजियमलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने बारे कहिल्यै सोचेनन्। उनको दृढ इच्छा शक्ति र आत्मबलका करण अहिले उनको म्युजियमको सपना साकार भएको छ।

एभरेष्ट म्युजियममा शेर्पा संस्कृति, रहनसहन, जीवनशैली सम्बन्धी सामाग्री र फोटोहरू राखिएको छ। खुम्बु क्षेत्रमा शेर्पाहरूले प्रयोग गर्ने पारम्परिक भाँडाकुँडा, खेती गर्न प्रयोग हुने औजारहरू, खाद्यान्न र अन्न भण्डारण गर्ने भाँडाहरू लगायत राखिएको छ। 

शेर्पाहरूको भान्सामा प्रयोग हुने भाँडाकुँडा, चुल्हो लगायतका सामाग्रीहरू पनि देख्न सकिन्छ । त्यस्तै विभिन्न चाडपर्व, विवाह आदिमा प्रयोग हुने भेषभुषाका फोटोहरूले म्युजियमलाई राम्रो बनाउन बल पुर्‍याएको छ। 

त्यसैगरि सगरमाथा चढेका शेर्पाहरूको चढेको मिति सहित फोटो राखिएको छ भने हिमाल आरोहणमा ज्यान गुमाएकाहरूको बारेमा पनि जानकारी पाउन सकिन्छ। हिमाल आरोहणका क्रममा प्रयोग भएका सामाग्रीहरू पनि सोनामले सङ्कलन गरेर सङ्ग्रह गरेका छन्।

सोनामले खुम्बु क्षेत्रका हिमालहरूको आफेले खिचेको फोटो प्रदर्शनी एवं विक्रीमा पनि राखेका छन्। उनले खिचेका फोटोहरू पोस्टरका रूपमा विश्वभरिका मानिसहरूले किनेर लग्ने गरेका छन्। खुम्बु क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूका होटेलहरूमा उनको फोटोहरू देख्न सकिन्छ । उनी कुशल फोटोग्राफरका रूपमा पनि परिचित रहेका छन्।  

सोनामका पिता सोनाम गिर्मी शेर्पा आफ्नो समयका नाम चलेका पर्वतारोही रहेका थिए। आफ्ना पिताले गरेको दुखका कारण खुम्बु क्षेत्र विश्वमा चिनिन थालेको र उनी लगायतका धेरै शेर्पाहरूले गरेको योगदानको कदर स्वरूप सोनामले म्युजियमको परिकल्पना गरेका हुन्। 

सोनामका पिता ३७ वटा पर्वतारोहणमा सहभागी भएका थिए। उनी सरदारसम्म भएका थिए भने नेपाल प्रहरीको टुक्चे हिमाल चढ्ने टोलीको नेतृत्व समेत गरेका थिए। उनको सफल नेतृत्व पछि उनलाई नेपाल प्रहरीमा हवलदार पद पनि दिइएको थियो। गिर्मी शेर्पा कुनै समय रोजगारका लागि भारतको दार्जिलिङसम्म पनि पुगेका थिए।  पछि नेपाल फर्केर उनी फेरि पर्वतारोहण कार्यमा जुटेका थिए।  

शेरवी खाङ्गबा केन्द्रको स्थापना सन् १९९४मा भएको हो। उक्त केन्द्रको उद्घाटन पहिलो सगरमाथा आरोही सर एडमण्ड हिलारीले गरेका हुन्। उनको उक्त केन्द्रमा होटेल शेरवी खाङ्गबा र एभरेष्ट म्युजियम रहेका छन्।

सोनामले म्युजियमका लागि अहिले नयाँ भवन बनाइसकेका छन् भने उक्त नयाँ भवनमा स्तरीय म्युजियमका लागि उनले योजना बनाएर काम सुरु गरिसकेका छन्। नयाँ म्युजियममा रहेका सबै आन्तरिक कामहरू उनी आफैले गरेका छन्।

सोनाम आफै फोटो खिच्नेदेखि शेर्पा संस्कृतिका अध्येता रहेका छन्। स्वअध्ययन गरेका सोनामलाई शेर्पा इतिहास र आरोहणका बारे राम्रो जानकारी रहेको छ। उनले आफ्नो यात्राहरूको क्रममा भेटिएका जति शेर्पा र सगरमाथा बारे अध्ययन गरे। उनले लामो समय अध्ययनमा बिताएका छन् र त्यो क्रम अहिले पनि निरन्तर रहेको उनको भनाइ छ।

म्युजियम र अध्ययन केन्द्रको योजना सुनाउँदा स्थानीयहरूले पत्याएका थिएनन्। उनीहरूले उनको चाहानालाई पागलपनाको संज्ञा दिएको एक स्थानीय सम्झन्छन्। उनको एकाग्रता र लगनशीलताले उनले आफ्नो सपना साकार पार्ने क्रममा रहेका छन्। अहिले स्थानीयहरू उनको तारिफ गरेर थाक्दैनन्।

म्युजियम कसरी अगाडि बढ्छ भन्ने बारे प्रश्नमा हाम्राकुरासँग उनले भने 'मेरो योजनामा विश्वास गर्नेहरूको सहयोग नै मेरो म्युजियम स्थापित हुने आधार हो। मानिसहरू आएर म्युजियमलाई आर्थिक र भौतिक सहयोग गरिरहेका छन्। सहयोगीहरू कतिले त आफ्नो परिचय गोप्य राखेका छन्।'

उनको म्युजियमका सम्बन्धमा सीमा प्रशासन कार्यालयकी प्रमुख सुजन बर्देवाले सहयोग गर्ने बारे सोचिरहेको बताइन्। उनले भनिन् 'सोनाम सरले गरिरहेको कामले अत्यन्त प्रभावित छु। उहाँलाई कसरी सहयोग गर्न सकिन्छ भनेर नाम्चेका नागरिकहरूसँग बैठक गर्ने बारे योजना बनिरहेको छ।'

सोनामलाई कसरी सहयोग गर्न सकिन्छ भनेर नाम्चेका व्यवसायी, क्लबहरूसँग समन्वय गरेर अघि बढ्ने योजनाबारे विचार विमर्श भइरहेको प्रमुख बर्देवाले जानकारी दिइन्।

सोनामले म्युजियममा शेर्पा संस्कृति, जीवनशैली, हिमाल आरोहण, धर्म आदि बारे फोटोहरू एवं सामाग्री राख्ने योजना सुनाए। उनीसँग अहिले नै यथेष्ट सामग्रीहरू रहेका छन्। उनले म्युजियमलाई आधुनिक एवं परम्परागत तवरको सम्मिश्रण गर्ने योजना रहेको सुनाए।

आधुनिक बत्तीदेखि परम्परागत शैलीका सामानहरूले म्युजियमका आकर्षण हुने छन्। उनको म्युजियमका बारेमा सगरमाथा राष्ट्रिय निकुञ्ज बफर जोन व्यवस्थापन समितिका प्रमुख सोनाम ग्याल्जेन शेर्पा भन्छन् 'हामीले म्युजियमलाई सहयोग गर्ने बारे सोचिरहेका छौँ। उक्त म्युजियमले सगरमाथा पर्यटन क्षेत्र र व्यवसाय प्रवर्धनमा सहयोग पुर्‍याउने छ।'

ग्याल्जेनको अनुभवमा निजी क्षेत्रले गरिरहेका कामहरूमा सरकारले सहयोग पुर्‍याउनु पर्छ । उनको बुझाइमा निजी क्षेत्रले नै नेपालको पर्यटन व्यवसायलाई यो उँचाइमा पुर्‍याएको हो। सरकारी निकायसँग समन्वय गरेर सोनामको म्युजियमलाई सहयोग गर्ने सोचका बारेमा ग्याल्जेन स्पष्ट रहेका छन्।

राम्रो काम गरिरहे सहयोगी हातहरू आफै आउने सोनामको अनुभव रहेको छ। उनलाई देश-विदेशबाट सहयोग भइरहेको भए पनि स्थानीयको सहयोगले सुनमा सुगन्ध थपिने निश्चित रहेको छ। उनको म्युजियम खुम्बु क्षेत्रका हिमाल एवं शेर्पाहरूको बारे अनुसन्धान गर्नेहरूका लागि एक प्रमुख केन्द्र बन्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ