बाढीले इन्टेक र पाइप बगाएपछि फिदिममा खानेपानीको हाहाकार
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
695
Shares
पाँचथर । गत एक हप्ता अघि आएको अविरल वर्षाका कारण बाढीले पानीको इन्टेक तथा पाइप बगाएपछि पाँचथरको सदरमुकाम फिदिममा अहिले खानेपानीको हाहाकार भएको छ ।
गत कार्तिक १ र २ गते आएको भीषण अविरल वर्षाले इन्टेक तथा पाइप बगाएपछि खानेपानीको हाहाकार भएको हो ।
रानीटार र लुङरुपाको आप्तुवा खोला बाट ल्याइएको खानेपानीको मुहानको इन्टेक पुरेको र २ सय मिटर पाइप बगाएर क्षतिग्रस्त भएपछि अहिले मर्मतको काम भइरहेको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय प्रमुख छवि कार्कीले बताए ।
मर्मत सम्भार पश्चात् अझै एक हप्ता पछि मात्रै पानी वितरण गर्न सकिने उनले बताए ।
अहिले विकल्पको रूपमा बर्मेली,सिस्ने मुहान बाट पानी वितरणको काम गर्न लागिएको उनले बताए । फिदिम बजारका २ हजार १ सय घरधुरीका झन्डै दश हजार स्थानीय खानेपानी नहुँदा समस्यामा परेका छन् ।