संयुक्त राष्ट्र सङ्घको स्थापना दिवस : ४३ शान्ति मिसनमा नेपालको योगदान
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
2.1k
Shares
काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको ६७औँ स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ । अक्टोबर २४ का दिन मनाउँदै आइएको संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसलाई सेनाले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज विशेष कार्यक्रम गरी मनाएको हो ।
रक्षा मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले शान्ति स्थापनार्थ नेपाली सेनाले युएन मिसनमा पुर्याएको सहयोगको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घमा सेनाको सहभागिताले युएन र नेपालबिचको सम्बन्ध अझै प्रगाढ बनेको बताए । उनले विश्वका राष्ट्रहरूबिच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको स्थापना भएको भन्दै नेपालले सो कार्यका लागि अझै पनि आवश्यक योगदान दिन तयार रहेको बताए ।
संयुक्त राष्ट्र सङ्घको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो । नेपालले भने सन् १९५५ डिसेम्बर १४ (बिस २०१२ मङ्सिर २९) मा संयुक्त संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको हो । हाल संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य र दुई पर्यवेक्षक मुलुक छन् ।
कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्र सङ्घकी आवासीय प्रतिनिधि आयसानी मेडागांगोडा लाबेले विश्वमा द्वन्द्वको अन्त्य गर्दै एकता र सद्भाव कायम गर्ने उद्देश्यसहित संयुक्त राष्ट्र सङ्घको स्थापना भएको भन्दै सबैको साझा सहभागिताले लक्ष्य प्राप्तिमा युएन अघि बढेको बताइन् ।
कार्यक्रममा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले युएन मिसनमा नेपालको उपस्थिति गौरवपुणर् र उपलब्धिमूलक रहेको बताए । उनले युएन मिसनमा जानुअघि दिइने तालिमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउनु पर्ने धारणा व्यक्त गर्दै सेनाले मिसनमा अझै महत्त्वपूर्ण र प्रभावकारी योगदान दिन तयार रहेको बताए ।
हालसम्म द्वन्दरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन् । हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तर्फबाट पनि संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्य योगदान भइरहेको छ ।
हालसम्म शान्ति स्थापनाका क्रममा खटिएका ६८ नेपाली सैनिकको मृत्यु भइसकेको छ भने ६६ जना गम्भीर घाइते भएको नेपाली सेनाका सहायक रथी सुदर्शन सिलवालले जानकारी दिए । हाल शान्ति सैनिक धेरै सङ्ख्या पठाउने मुलुकको सूचिमा नेपाल दोस्रो वरियतामा छ । संयुक्त राष्ट्र सङ्घबाट माग भई आएमा नेपालले १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो समय महिला सैनिकको सङ्ख्यासमेत बढाउँदै लगिएको छ ।
स्थापना दिवसका अवसरमा केन्द्र परिसरमा झन्डोत्तोलन समेत गरिएको थियो । यसै गरी शान्ति स्थापना कार्यमा कार्यस्थलमा खटिएकै अवस्थामा विद्रोही समूहको गोलीबाट निधन भएका मानार्थ प्रमुख सेनानी कवीन्द्र थापालाई प्रदान गरिएको ‘ड्याग ह्यामर शोल्ड मेडल’ उनकी श्रीमती इनु बस्नेत थापाबाट केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घ विश्वका सबै सदस्य मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा मुख्यालय छ ।