- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। उपेन्द्र यादव सरकारमा गएको बेला यादवका प्रतिस्पर्धी मानिएका लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, उमाशङ्कर अगरैया, सर्बेन्द्रनाथ शुक्ल लगायतका नेताहरू विगत ३ हप्ता देखि मधेसमै छन्।
यसबीचमा उनीहरू प्रदेश २ का ८ जिल्लामा कम्तीमा २ पटक गइसकेको लोसपाका नेताहरू बताउँछन्। जसपा सरकारमा गए पछि उक्त पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टी कार्यालयमै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ र यादवविरुद्ध नाराबाजी गरिएको छ। यसै गरी वीरगन्जमा पनि यादवविरुद्ध नाराबाजी गरिएको छ। पार्टी परिवर्तन गरेको कारण सार्वजनिक पद नजाने भए प्रदीप यादव, प्रमोद साह, नरमाया ढकाल, रानी मण्डल, रेणुका गुरुङ लगायतका सांसदहरूले अहिलेसम्म जसपा छोडि सकेका हुने थिए। उनीहरूले पार्टी परिवर्तन गर्न सक्ने डरले अध्यक्ष यादव राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पछि मात्र सरकार गएका हुन्।
तर सार्वजनिक पदमा नबसेकाहरू भने जसपा छाड्दा उनीहरूलाई केही नोक्सान पर्दैन। त्यसैले सार्वजनिक पदमा नबसेका असन्तुष्ट जसपाका कार्यकर्ताहरूलाई आफूतिर ल्याउनु र आगामी निर्वाचनलाई केन्द्रित गरी सुरक्षित निर्वाचन क्षेत्र खोज्नु लोसपा नेताहरूको मधेस दौडाहाको उद्देश्य हो–स्रोतले भन्यो।
धनुषाबाट चुनाव जितेका महतोले फेरि पनि धनुषामा चुनाव लड्ने-नलड्नेमा अझै टुङ्गो नलागेको महतो निकट नेताहरू बताउँछन्। त्यसैले आफ्नो क्षेत्रका मतदाताहरूको मनोविज्ञान बुझ्नु मधेस भ्रमणको अर्को उद्देश्य हो’ लोसपाका एक नेताले भने।
महतोको गृह जिल्ला सर्लाही हो। पछिल्लो प्रतिनिधि सभाको चुनावमा उनी आफ्नो गृह जिल्लामा नभई धनुषाबाट चुनाव लडेका थिए। फेरि पनि धनुषाबाट चुनाव लड्दा हार्न सक्ने डर महतोलाई छ। त्यसैले यस पटक उनले आगामी चुनाव जित्ने गरी सुरक्षित निर्वाचन क्षेत्र खोजेका छन्–स्रोतले भन्यो।
मधेसमा गएका लोसपाका नेताहरूलाई केही फाइदा पनि भएको छ। जसपाका केही स्थानीय असन्तुष्ट नेताहरूलाई आफूतिर ल्याउन उनीहरू सफल भएका छन्। लोसपाका कार्यकारिणी समितिका सदस्य डा.सुरेन्द्र झाले छठ पछि लोसपाका केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति तथा भातृ सङ्गठनहरू निर्माण हुने बताए। त्यसको तयारी स्वरूप स्थानीय जनताको मनोविज्ञान बुझ्न आफूहरू मधेस गएको उनले जनाए। त्यसको गृहकार्य गर्न आफूहरू मधेसमा गएको उनको भनाइ छ।
लोसपाले अहिलेसम्म केन्द्रीय समिति तथा अन्य साङ्गठनिक संरचना तयार गरेको छैन। निर्वाचन आयोगमा उसले ३१ सदस्यीय कार्यकारिणी समितिको सूचि मात्र बुझाएको छ। जसपालाई भने यो समस्या छैन। उसको सबै संरचनाहरू कायमै छन्।
लोसपाका अध्यक्ष महन्थ ठाकुर बाहेक अन्य धेरैजसो शीर्ष नेताहरू छठसम्म मधेसमा बस्ने कार्यक्रम रहेको झाले बताए। उनको अनुसार ठाकुर भने शुक्रवार साँझसम्म काठमाडौँ आउने कार्यक्रम छ।
जसपा र लोसपाको आधार क्षेत्र भनेको मधेस प्रदेश २ हो। आगामी निर्वाचनमा यी दुई पार्टीबीच चुनावी साँठगाँठ हुने सम्भावना न्यून छ। त्यसैले अहिले यी दुई पार्टीबीच अहिले एक अर्काको कार्यकर्ता आफूतिर तान्ने होडबाजीमा छन्।