arrow

प्रशासनमा नागरिकता बनाउने बढे

यस आवमा २२ सय बढीले लिए नागरिकता

logo
सीता डोटेल,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
ilaka-prasasan-rampur.JPG

पाल्पा । चाडबाडसँगै इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता बनाउनेहरूको सङ्ख्या बढेको छ । नागरिकता प्रमाणपत्र, प्रमाणित र द्रुत गतिको पासपोर्ट सिफारिस सेवा दिँदै आएको कार्यालयमा चाडबाडका समय विदेश र उच्च शिक्षा रोजगारको लागि शहरमा बस्नेहरू गाउँ आएको समय सेवा लिनेको चाप बढेको हो । 

इलाका प्रशासन कार्यालय रामपुर जिल्ला सदरमुकामदेखि ६५ किलोमिटर पूर्व छ । जहाँ जिल्लाको पूर्वी भेग रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिका १ सिलुवाका नागरिकलाई इलाका प्रशासन कार्यालयले सेवा दिँदै आएको छ ।

यस आर्थिक वर्षको सुरुको तिन महिनामा २ हजार २ सय ८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत साउन र भदौ महिनामा राष्ट्रिय परिचय पत्र बनाउने टोली आएसँगै नागरिकता लिने बढेका थिए । हालसम्म पनि नागरिकता लिने बढेका छन् । 

दसैँ तिहारको बिचको समयमा बाहिर हुनेहरू गाउँ फर्केसँगै सेवा लिने बढेको इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले जानकारी दिए । जसमध्ये १ हजार ३ सय ४ जनाले नयाँ नागरिकता लिएका छन् भने ९ सय ८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । गत साउन महिनामा ७ सय ५३ जना, भदौमा १ हजार १ सय ७३ जना र असोज महिनामा ३ सय ६१ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् ।  

यस आर्थिक वर्षको हालसम्मको अवधिमा जनजाति, दलित तथा नाबालक प्रमाणित १ सय ४३ जनाको भएको छ भने यही अवधिमा द्रुत राहदानी सिफारिस ६६ जनाले लिएका छन् । हाल दैनिक ४० ले जतिले नागरिकता लिने गरेको कार्यालयले जनाएको छ ।

झन्डै ३ महिना कार्यालय प्रमुख विहीन बनेको इलाका प्रशासन कार्यालय रामपुरमा जिल्ला प्रशासनका अधिकृतको टोलीले साउन ७ गतेदेखि साताको २ दिन सेवा दिन थालेको थियो । सातामा २ दिन सेवा दिने प्रशासनले राष्ट्रिय परिचय पत्रलाई मध्यनजर गर्दै साउन २२ देखि नियमित दैनिक सेवा दिएको हो । त्यसपछि परिचय पत्रको टोली आए सँगै नियमित नागरिकता बन्दा एकै महिनामा १ हजार १२ जनाले नागरिकता बनाएका थिए ।

“हिजोआज कार्यालयमा सेवाग्राहीको भीड बढेको छ, उमेर पुग्ने बित्तिकै नागरिकता लिन आउनेको सङ्ख्या बढी भएको प्रमुख अर्यालले बताए । हाल नागरिकता लिन निवेदन दिएर स्टक रहेको सङ्ख्या पनि धेरै छ । एउटा कम्प्युटरको सिस्टमले सेवा दिँदा एकै दिन सयौँलाई दिऊ भन्ने गरि काम गर्न नसकिएको उनले बताए । 

प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगी सहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सह लेखापाल एक, कार्यालय सहयोगी दुई जनाको दरबन्दी छ । कार्यालयमा हाल स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, दुई खरिदार छन् भने करारमा एक कम्प्युटर अपरेटर, दुई कार्यालय सहयोगी छन् ।

जिल्लाको पूर्व भेगका नागरिकलाई सदरमुकाम पुग्न झन्झट हुने हुँदा सहज र सरल सेवा दिने उद्देश्यले विसं २०६३ असार १० इलाका प्रशासन कार्यालयको उद्घाटन गरि सेवा दिन थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ