arrow

राष्ट्रपति कार्यालयको आँगनमा पुगेका देउसी भैलोले केके पाए ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
deusibhailos.jpg

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसी भैलो प्रस्तुत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितमा ती कलाकारले देउसी भैलोसहित नेपालका विभिन्न क्षेत्र र भू-भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए । त्यस क्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक-सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

त्यसै गरी बाल मन्दिरका बालबालिकाले पनि देउसी भैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसी भैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेल रोटी, फलफूल र दक्षिणा समेत प्रदान गरेकी थिइन् । उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेल रोटीसहितको दक्षिणा आफैले दिएकी थिइन्। 

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुराउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन् ।

उनले सांस्कृतिक संस्थानले नेपालको लोक-संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसी भैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिइन्।

उनले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पुर्‍याउन सक्ने बताइन् ।

राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरूले निकै खुसी व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ