arrow

तिहारको चौथो दिन : गरियो गोवर्द्धन पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
gai-tihar.jpg

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको चौथो दिन शुक्रवार गाई, गोरु र हली एवं कृषकको पूजाआजा गरी मनाइएको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी शुक्रवारका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यही मान्यताका आधारमा शुक्रवार गाई पूजा गरिएको हो ।

शुक्रवार गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । वर्षभर कृषि कर्म गर्ने कृषक र जोतिएर मानवरहितका लागि सेवा गर्ने गोरुलाई पनि शुक्रवार पूजाआजा गरी मीठा-मीठा खानेकुरा खान दिइयो । यसैले शुक्रवारको दिनलाई हल तिहार पनि भनिन्छ ।

गरियो गोवर्द्धन पूजा
शुक्रवारै बिहान आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिएको छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसल धारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ