- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तिहारको अन्तिम दिन भाइटीका धुमधामका साथ मनाइँदैछ । सबै तह र तप्काका नेपालीहरुले आ–आफ्नै तरिकाले भाइटीका लगाइरहेका छन् । नेतादेखि कलाकारहरुको पनि भाइटीकाको आफ्नै योजना छन् । यहाँ केही कलाकारहरुले तिहार तथा भाइटीकाको अनुभव सुनाएका छन् ।
नायिका रेखा थापाका लागि तिहार रमाइलो र एकदम मनपर्ने पर्व हो । तिहारमा जताततै झिलिमिली उज्यालो हुने, लक्ष्मीपूजा गरिने र भाइपूजा हुने भएकाले उनी उत्साहित छिन् । यसपटकको तिहारमा सेलरोटी बनाउन सिक्ने योजना रहेको उनले सुनाइन । ‘मलाई सेलरोटी बनाउन एकदमै रहर छ तर अहिलेसम्म बनाएको छैन, यस पटक सिक्ने प्रयास गर्छु’उनले भनिन् ।
नायिका थापाको भाइटीका अन्यको भन्दा केही फरक छ । उनले आफना दाजुभाईसंगै धर्म दाजुभाईहरुलाई पनि टीका लगाइदिने गरेकी छिन् । समय परिस्थिति मिल्दा नायिका थापा सबैलाई टीका लगाइदिने र कार्यव्यस्थताले गर्दा टिका लगाउन नभ्याए पनि दाजुभाईको साथ सहयोग, माया र आत्मियता उत्तिकै प्रगाढ रहने उनको अनुभव छ । यसपटक भने नायिका थापाले आफ्ना पाँचजना दाजुभाईहरुलाई टिका लगाइदिने बताइन । तर उनलाई दाजुभाईले पर्याप्त दक्षिणा नदिएको रमाइलो अनुभव रहेको बताउँछिन् । ‘म आफै कमाउँछु भनेर पनि हो कि दाजुभाईहरुले मलाई त्यति धेरै दक्षिणा दिए जस्तो लाग्दैन ।’
हाँस्य कलाकार जीतु नेपालले तिहार पनि दशैं जस्तै सामान्य नै हुने बताउँछन् । पहिला जस्तै यस पटक दिदीसँग टीका लगाउने उनको अनुभव छ । तिहारको मुख्य रमाइलो नै देउसीभैलो भएकाले राती दुई बजेसम्म देउसीभैलो खेल्ने गरेको उनको अनुभव छ । उनी भन्छन्,‘जबसम्म दक्षिणा दिँदैनथे, तबसम्म भट्याएको भट्याई गरिन्थ्यो । हाम्रो १०-१२ जनाको टिम हुन्थ्यो । कसको घरमा कति पैसा दिन्छन् होला भन्ने पीर हुन्थ्यो । दक्षिणामा दिएको धान, चामल बेचेर पनि पैसा भाग लगाउने गरिन्थ्यो । तर अहिले समय बदलिएको छ । पहिला रमाइलोको लागि देउँसीभैली खेलिन्थ्यो भने अहिले पैसाको लागि खेलिन्छ ।’