arrow

मध्य रातमा भीषण आगलागी : २१ घर खरानी, करोडौँको क्षति 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
fire-mugu.JPG

मुगु । सोमवार राती मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २१ घर जलेर खरानी भएका छन् भने करोडौँको धनमाल क्षति भएको छ । राती १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागीले फैलिँदै जाँदा २१ घर खरानी हुनुका साथै करोडौँको धनमाल क्षति भएको हो ।

आगलागीबाट ठिल्ले लामा,रतन बहादुर शाही,जान बहादुर हितान, दान बहादुर हितान,जनक बहादुर मल्ल,झोम्वा लामा,एन्गल लामा,डम्बर मल्ल,र्तोचे लामा,गुरु लामा,टासी लामा,पृथ्वीजङ्ग शाह, छत्र बहादुर मल्ल,शकुन्तला शाही,विशाल मल्ल,लक्ष्मी शाही,पुतली शाही,कुशलाल सावत, गोमा मल्ल,छिरिङ लामाका घर जलेर खरानी भएको,अग्नि नियन्त्रणका लागी सूर्य बहादुर मल्लको घर सुरक्षाकर्मीले आंशिक भत्काएको र मानवीय क्षति भने कोही नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आगलागीबाट खरानी भएका घरहरूमा रहेका अन्दाजी २१ जना र ती घरहरूमा भाडामा बस्नेहरूको करोडौँको धनमाल खरानी भएको पनि प्रहरी जनाएको छ । प्रहरी मुचुल्काका लागी घरधनी,पसलधनीहरुसंग सोधपुछ चलिरहेकाले यकिन क्षतिको विवरण अहिले भन्न नसकिने र अन्दाजी बजारमा चलन चल्तीको विक्री दर अनुमान गर्दा करोडौँ बढीको क्षति भएको र पसलहरूको सामानहरू समेत जोड्दा १०० करोड आसपास सम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले बताए ।

१२ बजेबाट सुरु भएको आगलागी नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,नगर प्रहरी र स्थानीयहरूको सक्रियतामा करिब ५ घण्टा पनि नियन्त्रणमा आएको थियो । पुराना माटो,ढुङ्गा र काठले बनेका घरहरू भएकाले आगोले उग्र रूप लिएको थियो । रातीको समय भएकाले कसैले आफ्ना समानहरू उठाउन समेत पाएनन् । 

गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितिले राती नै ट्याङ्गकी खाली गरि पानी छोडे पनि आगलागी नियन्त्रण लिन कठिन भएको थियो । 

यसै बिच मङ्गलवार बिहान १० बजे जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पूर्ण बहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले प्रदेश र सङ्घ सरकारलाई खरानी भएका घर पुर्न निर्माणका लागी,स्थानीय सरकार,उद्योग वाणिज्य सङ्घ र सङ्घ संस्थालाई राहतका लागी र सुरक्षा निकायलाई यकिन क्षतिको विवरण लिन सहयोग गर्न आग्रह गर्ने निर्णयको छ ।

यता कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका छन् । । मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भने “मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौको धनमाल नष्ट भएको छ ।” 

आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयवासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको र स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेकाले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ