arrow

'रेबिज इम्युनोग्लोबुलिन' मङ्सिर ५ गतेदेखि सातै प्रदेशमा पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
ministry-of-health-1618304803.jpeg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्सिर ५ गतेदेखि सात वटै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन उपलब्ध हुने गराएको छ ।

रेबिज खोप देशभर उपलब्ध भए पनि रेबिज इम्युनोग्लोबुलिन भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्रै पाइने गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०३० सम्ममा बिश्वमैं रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्यलाई आत्मसात् गर्दै मन्त्रालयले सातै प्रदेशमा इम्युनोग्लोबुलिन उपलब्ध गराउने भएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले मसिंर ५ गतेदेखि सात प्रदेशका ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिन सुई प्राप्त गर्न सकिने जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्षमा थप आवश्यकता अनुसार सबै जिल्लामा यो सेवा उपलब्ध गराइने मन्त्री खतिवडाले बताए ।

अब, प्रदेश १ को कोसी अस्पताल, विराटनगर, प्रदेश २ मा जनकपुर अस्पताल,धनुषा र नारायणी अस्पताल वीरगन्ज, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौँडा, भरतपुर अस्पताल,चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल,बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल,सुर्खेत र सुदूरपश्चिमको प्रादेशिक अस्पताल,धनगढीमा रेबिज इम्युनोग्लोबुलिनको सुई लगाउन सकिने छ ।

रेबिज इम्युनोग्लोबुलिन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरिपरि सुईको माध्यमले लगाइन्छ । सामान्यतया एन्टिरेबिज भ्याक्सिन लगाएको ७ देखि १०दिन भित्र मात्र शरीरले एन्टिबडी बनाउन थाल्दछ ।

एक वा एक भन्दा बढी घाउ हुने गरी टोकेमा, ठुलो घाउ हुनेगरि टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज शङ्कास्पद जनावरको र्‍याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ र यस्तो टोकाइहरू बढी संवेदनशील हुने हुँदा तत्काल रेबिज भाइरसलाई निष्क्रिय बनाई रेबिजको कारण हुन सक्ने जोखिम कम गर्ने उद्देश्यले रेबिज इम्युनो ग्लोबुलिनको सुई दिइन्छ । 

रेबिज रोग, रेबिज ग्रस्त कुनै पनि स्तनधारी प्राणीहरूबाट मानिसमा सर्न सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो । यो बौलाहा जनावरले मानिसलाई टोक्दा लाग्ने रोग भनेर पनि चिनिन्छ । रेबिज लागेको जनावरले टोकेमा वा चिथोरेमा उक्त जनावरको र्‍यालबाट यो रोग मानिसमा सर्ने गर्दछ ।

घाउ वा छाला छेडेको ठाउँमा चाट्दा वा मुख तथा नाकको म्युकस मेम्ब्रेनमा रेबिज लागेको जनावरले चाट्दा पनि यो रोग सर्न सक्दछ । यदि मानिसलाई रेबिज रोग लागेमा यसको कुनै उपचार छैन तसर्थ शङ्कास्पद रेबिज सङ्क्रमित जनावरले टोकेमा तत्काल एन्टि रेबिज भ्याक्सिन लगाउनु पर्दछ । 

हाल देशका विभिन्न अस्पताल लगायत केही प्राथमिक स्वास्थ्य केन्द्रहरूमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट निःशुल्क प्राप्त भएको एन्टी रेबिज भ्याक्सिन टिकट शुल्क मात्र लिएर निःशुल्क प्रदान गर्ने गरिएको छ । हाल टेकुमा मात्रै लगाउन मिल्ने रेबिज इम्युनोग्लाोबुलिन पनि अब, सातै प्रदेशबाट लगाउन सकिने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ