arrow

प्रकाश चन्द्र भट्ट,

भारतले अनुमति नदिएपछि नेपालको बाटो हुँदै छाङ्गरु र तिंकरमा जनगणना गर्न खटिए सहायक जनगणना अधिकारी कार्की

गणक कार्कीको साथबाट प्रश्नावली थुतिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
tinker.JPG

दार्चुला । व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरमा जनगणना गर्न सहायक जनगणना अधिकारी खगेन्द्र कार्की खटिएका छन् । भारतले छाङ्गरु जान बाटोको अनुमति नदिएपछि शुक्रवार सहायक जनगणना अधिकारी कार्की नेपालको बाटो हुँदै एक जना सहयोगी लिएर त्यसतर्फ प्रस्थान गरेका छन् । 

पटक पटक आग्रह गर्दा पनि भारतले अनुमति नदिँदा नेपालकै बाटो भएर सहायक जनगणना अधिकारी कार्की व्याँस क्षेत्र हिँडेको जिल्ला जनगणना कार्यालय दार्चुलाका सूचना अधिकारी जनक सिंह बोहराले जानकारी दिए ।

‘जिल्ला प्रशासनबाट अनुमति मागेर धेरै पटक भारतको बाटो भएर जान खोज्दा भारतले जान दिएन, उनले भने, ‘गणकलाई जान नदिएपछि आफ्नै भूमिबाट सहायक जनगणना अधिकारी कार्की र साथमा कार्यालयका सहयोगी लोकेन्द्र टेर व्याँस हिँडेका छन् ।’

शुक्रवार दिउँसोतिर टोली सुन्सेरा पुगेको छ । त्यहाँबाट वडा नम्बर २ दुम्लिङ हुँदै २ दिनको यात्रामा छाङ्गरु पुग्ने उनले बताए । नेपालबाट व्याँस गाउँपालिका-२ दुम्लिङसम्म मात्र बाटो रहेको छ ।

कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धारचुलाबाट छियालेक-गब्र्याङ हुँदै सीता पुल तरेर छाङ्गरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो। 

एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएन । दार्चुला प्रशासनले पहिलो पटक कात्तिक २५ र ३० गते पत्र पठाएको र त्यसको कुनै जवाफ आएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताए ।

भदौ ३ देखि १८ गते भएको सूचीकरणको बेला सुपरिवेक्षकलाई छाङ्गरु जान दिए पनि अहिले आएर गणकलाई रोक लगाएको हो । कात्तिक २७ गतेतिर सो क्षेत्रको जनगणनामा खटाएका गणक राजेन्द्र कार्कीलाई भारतीय एसएसबीले नेपाल जान नदिएर फर्काएका थिए । 

सूचना अधिकारी बोहराले भने, ‘गणकलाई सीतापुल क्षेत्रबाट वारी आउनै नदिई फर्काइयो, उनको साथबाट ४-५ प्रश्नावलीहरूसमेत एसएसबीले थुत्यो ।’

सोही कारण गणक राजेन्द्र कार्कीले व्याँस जान नमानेपछि सहायक जनगणना अधिकारी खगेन्द्र कार्की पैदल हिँडेका छन् । छाङ्गरु र तिंकरमा सीमित घर भएकाले गणनामा सहायक जनगणना अधिकारी कार्कीलाई त्यत्ति अप्ठ्यारो नपर्ने उनले बताए । तिंकर र छाङ्गरुमा १ सय १३ परिवारको बसोबास रहेको छ । सो क्षेत्रमा सौका समुदायको बसोबास छ चिसो बढेकाले उनीहरू अब जिल्ला सदरमुकाम खलङ्गा कुन्चा सर्ने तयारीमा छन् । 

भारतीय अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

व्याँस गाउँपालिका-१ स्थित कुटी, नाभि र गुञ्जी भारतीय अतिक्रमणमा छन् । ती गाउँसँगै जोडिएका तिंकर र छाङ्गरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ । तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्नुको विकल्प छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ