सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी : गृहमन्त्री खाँण
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
833
Shares
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाँणले बताए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजापछि नेपाली कांग्रेसका नेता÷कार्यकर्तासँगको भेटघाटमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए ।
सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैंचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज पूरा देश जेगिन पुगेको गृहमन्त्री खाँणको भनाइ थियो ।
हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताए । रुपन्देहीको मर्चवारमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मल छिटोभन्दा छिटो उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।
खाँणले सरकारले कृषि र शिक्षालाई बढावा दिनेगरी काम गरिरहेको बताए । ‘हामीले रासायनिक मल आयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘केही समयमा मल उपलब्ध हुन्छ । त्यस्तै कोटहीमाईमा प्राविधिक शिक्षालय निर्माण गर्ने, सडक, खानेपानी र विजुलीलगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’
गृहमन्त्री खाँणसँग रुपन्देही-४ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रमोद यादव लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँ र लुम्बिनी प्रदेश सांसद अष्टभुजा पाठक सहभागी थिए । गृहमन्त्री खाँणले हरेक नेपालीको जीवन रक्षा गर्नु नेपाल सरकार र नेपाली कांग्रेसको पहिलो लक्ष्य रहेको बताए ।
वि.सं. २०४८ सालभन्दा पहिला विकासको गति धेरै न्यून रहेपनि ०४८ साल बहुदलीय व्यवस्था आएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले व्यवस्थित तरिकाले अर्थतन्त्रलाई उठाउने काम गरेको उनले बताए ।
भैरहवा-काठमान्डौ विमान सेवा हप्तामा २ पटक मात्र सेवादिने अवास्थाबाट कांग्रेसले विभिन्न किसिमका संघर्ष गरी दैनिक संचालन गर्ने व्यवस्थापन गरेकोसमेत बताए ।
उनले मर्चवार मन्दिर निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले कांग्रेस अधिवेशनमा रुपन्देही क्षेत्र नं ४ मा निर्विरोध कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरेकोमा पार्टीका नेता कार्यकर्तालाई धन्यवाद समेत दिए । रुपन्देही क्षेत्र नं ४ माहिजो मुकेश यादवको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए ।