arrow

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, पक्षमा २२ मत, विपक्षमा शून्य

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ मंसिर १५ बुधबार
jeevan-bahadur-shahi-karnal.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भनी मंगलबार प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए । आज बसेको प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत  र विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । 

अहिले प्रदेश सभामा सभामुखसहित ३५ जना सांसद संख्या छ । तर बुधबारको बैठकमा  २२ जना सांसद उपस्थित थिए। उपस्थित भएका २२ जनाले नै विश्वासको मतको पक्षमा मतदान गरेका छन् । मुख्यमन्त्री शाहीलाई कांग्रेसका ६, माओवादीका १२, समाजवादीका ३ र राप्रपाका १ जना सांसद गरी २२ जना सांसदले मत दिएका हुन् ।

गएको कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मंगलबार विश्वासको मत मागेका थिए । तत्कालीन प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शाहीलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।  

कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित १३, माओवादीका १२, नेपाली कांग्रेसका ६, समाजवादीका तीन र राप्रपाका एक जना सांसद छन् ।  एमाले बाहेकका अन्य सबै दलले विश्वासको मत पाउँ भनी मुख्यमन्त्री शाहीले पेश गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महाधिवेशनका कारण जिल्ला बाहिर रहेकाले अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ