arrow

३३ दिने विशेष अभियान

अब तपाई जहाँ हुनुहुन्छ त्यहींबाट मतदाता नामावली दर्ता

स्थानीय तहको केन्द्रबाट पनि नाम दर्ता गर्न पाइने

logo
एम गौतम
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
election-commission167.jpg

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका ३३ दिने विशेष अभियान शुरु गरेको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि उमेर पुगेका र नामावलीमा नाम छुट भएकाहरुको नाम नामावलीमा समावेशन गर्न भन्दै आजबाट २० पुससम्म गरी ३३ दिन नामावली दर्ता विशेष अभियान शुरु गरेको हो ।

यसअघि आयोगले मतदाता नामावली ऐन, २०७३ बमोजिम ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट नियमित रुपमा मतदाता नामावली संकलन गर्दै आएको थियो । तर यसपटक भने अभियान नै संचालन गरेर आयोगले ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रबाटसमेत नामावली संकलन शुरु गरेको हो।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट बाहेक यो अवधिभर ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रबाटसमेत नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

उनका अनुसार यसअघि आफ्नो स्थायी ठेगाना रहेको जिल्ला स्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने व्यवस्था रहेकोमा विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरुलाई समेत सहज रुपमा नाम दर्ता प्रकृयामा सहभागी गराउन आजैबाट नियमित रुपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरुको समेत नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको हो ।

उनका अनुसार यसरी संकलन भएको नाम आयोगको सर्भरमा रेकर्ड राखिने छ भने सम्वन्धित जिल्ला हुँदै सम्वन्धित स्थानीय तहबाट सम्वन्धित वडामा नै परिचय पत्र पुर्याइने छ। आयोगले उमेर पुगेका र मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका आम नागरिकले नाम दर्ता गर्न सक्ने जनाएको छ। नामावली संकलन अभियानमा १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गरिनेछ।

सो अभियान हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म संचालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म संचालन हुने आयोगले जनाएको छ।

नामावली संकलन कार्य हरेक जिल्लामा दुई चरणमा संचालन हुने छ त्यसका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम संचालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने छ।

यो अभियानमा देशभर करिव २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रुपमा संलग्न हुने र अभियान २० पुससम्म संचालन हुने आयोगले बताएको छ। तर स्थानीय तहको केन्द्रबाहेकका हकमा भने नामावली संकलन सो मिति पछि पनि जारी रहने छ। 

हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेकोमा यस कार्यक्रमबाट देशभर करिव १० लाख मतदाता थप हुने अनुमान आयोगको छ।

आयोगले २०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुन लागेको र  प्रचलित कानुनी व्यवस्था बमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले नामावली दर्ता अभियानमा सहभागी हुन उमेर पूरा भएका आम सर्वसाधारणमा आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ