- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौंं । अहिलेसम्म विश्वका ३४ देश र क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परिसकेको छ । बढी संक्रामक र घातक हुनसक्ने देखिएको यो भेरियन्ट छिमेकी मुलुक भारतमा आइसकेको छ । निकै तीव्र गतिमा भारतमा फैलन सक्ने भन्दै व्यापक सचेतना अपनाउन थालिएको छ । राजधानी नयाँदिल्लीका विद्यालयहरु बन्द गरिएका छन् ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टलाई लिएर चिन्ता भए पनि संक्रमण फैलिन नदिन उल्लेख्य काम भने हुन सकेको छैन । निकै अस्तव्यस्त भारतसँगको खुला सीमा र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमिक्रोन नेपाल भित्रिने ठूलो चिन्ताको विषय रहेको छ ।
ओमिक्रोन भित्रन नदिन सरकारले बिहीबार राति १२ बजेबाट लागू हुने गरी दक्षिण अफ्रिका र हङकङ लगायतका नौ देशबाट र ती देश ट्रान्जिट बनाएर नेपाल प्रवेशमा रोक लगाएको छ । यद्यपि हङकङ बाहेक दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउने यात्रुहरु तुलनात्मक रुपमा निकै नै कम हुने गर्छन् ।
नेपालबाट बढी आवतजावत हुने भारत, जापान, अष्ट्रेलिया, अमेरिका जस्ता देशहरुमा ओमिक्रोन फैलिसकेको छ । यसै कारणले हङकङ र आठ अफ्रिकी मुलुकभन्दा पनि अन्य देशबाट ओमिक्रोन नेपाल भित्रिन सक्ने जोखिम बढेको हो ।
यसैकारणले ओमिक्रोन भेरियन्ट नेपाल भित्रिन नदिन सबै देशबाट आउने नागरिक आफैंले अनिर्वायरुपमा क्वारेन्टिन बस्नुपर्ने देखिन्छ। सरकारले विदेशबाट आउने नागरिकलाई क्वारेन्टिन बस्न, परीक्षण गर्न भन्दै पोजेटिभ देखिएकाहरुको जिन सिक्वेन्सिङ गर्ने भनेको थियो ।
तर अहिलेको हकमा यो लगभग असम्भव नै देखिन्छ । किनकि सबै मानिस होटेलमा क्वारेन्टिन बस्न सक्दैनन् । केही बस्न नचाहलान् र यस्तै अन्य कारण पनि हुन सक्छन् ।
मन्त्रिपरिषद्को बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अगुवाइमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन दिएको छ । तर कुन देशबाट आउने कस्ता यात्रुलाई क्वारेन्टिनमा राख्ने विषय अन्योल नै छ । हुनत अन्य देशमासमेत अन्योलपूर्ण अवस्था नै रहेका बेला नेपाल सरकारले मात्रै गरेन भन्न पनि मिल्दैन ।
ओमिक्रोनको संक्रमणबाट जोगिन निगरानी बढाउने, स्वास्थ्य मापदण्ड कडाइका साथ लागु गर्ने, खोप बढाउने जस्ता रणनीति अपनाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन् । बाहिरबाट नेपाल भित्रिनेका लागि विमानस्थल र नाकामा कडाइ भइसकेको उनी बताउँछन् ।
कुन देशबाट आउनेलाई विमानस्थलबाटै क्वारेन्टिनमा बस्न जानुपर्छ भन्ने सम्मको निर्णय नभए पनि मानिसहरुको चेतनाको स्तर बढेका कारण धेरै आफै पनि सचेत हुने र क्वारेन्टिन बस्लान् भन्ने उनको भनाइ छ ।
‘नाकाहरुबाट खोप लगाएर आएका, पीसीआर परीक्षण नेगेटिभ आएकाले होम क्वारेन्टिन बस्नुपर्ने र खोप नलगाएकाले अनिवार्यरुपमा आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्नुपर्ने छ । सोही अनुसारको निर्देशन दिइसकिएको छ’, डा. अधिकारीले अघि भने ‘विमानस्थलमा पनि कडाइ शुरु भएको छ टेष्ट गर्ने, टेष्ट गर्दा पोजेटिभ आउनेको जीन सिक्वैन्सिङ गर्ने कामहरु भइरहेको छ ।’
अहिले विभिन्न ल्याबहरुबाट जीन सिक्वेन्सिङका लागि पोजेटिभ देखिएका नमूनाहरु मगाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । यद्यपि कुनै देशबाट आएका लक्षित व्यक्तिहरुको नमूना भने तोकेर नमगाइएको प्रयोगगशालाले जनाएको छ ।
यसबाट ओमिक्रोनको जोखिम भएको देशबाट आएकाहरुको पीसीआर परीक्षणको तथ्यांक सरकारी निकायसँग नरहेको देखिन्छ । यति मात्रै हैन विदेशबाट आएर पोजेटिभ देखिएकाहरुको भन्दै तोकेर नमूना नमगाइएको समेत देखिन्छ ।
विभिन्न ल्याबलाई पोजेटिभ देखिएका नमूनाहरु पठाउन भनिएको र तीमध्ये केही नमूनाको जीन सिक्वेन्सिङ गर्ने प्रयोगशालाले जनाएको हो । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्ट भन्दा पुनःसंक्रमण गर्ने क्षमता र फैलिने क्षमता बढी हुनसक्ने देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।
ओमिक्रोन भेरियन्ट कति घातक, कति आक्रामक र कति खोपलाई चुनौती दिने हो भन्ने विषयमा जानकारी आइनसकेको उनको भनाइ छ । यो भेरियन्टमा म्युटेसन बढी भएको भए पनि बढी शक्तिशाली छ या कमजोर छ भन्ने कुरा थाहा नभइसकेको डा. पुनले बताए ।
शुरुमा दक्षिण अफ्रिकाका चिकित्सकहरुको कुरा सुन्दा त्यति खतरनाक नभएको उनको भनाइ छ । ‘भारत, इजरेल, हङकङ लगायतका देशमा रहेका ओमिक्रोन भेरियन्टका संक्रमित धेरै गम्भीर अवस्थामा बिरामी भएका अथवा ज्यान गुमाएको भन्ने कुरा पनि आएको छैन । तर यतिले पनि पुग्दैन विस्तृत रुपमा कस्तो अवस्था देखिन्छ, कुन उमेर समूह र दीर्घ रोगीलाई कति असर पार्छ भन्ने कुरा थाहा छैन’, उनले भने ।
‘यसअघि डेल्टा भेरियन्टले धेरै समस्या गरेका कारण पूर्व तयारी गरेको जस्तो मैले देख्छु होइन भने यो कति खतरनाक छ हेर्न बाँकी छ’, डा. पुनले भने । नयाँ भेरियन्ट आए पनि संक्रमणबाट बच्ने कुरा पुरानै जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, भीडभाडमा नजाने, सेनिटाइज गर्नेजस्ता कुराहरु नै लागु हुने डा. पुन बताउँछन् ।
नेपालमा संक्रमण भित्रिन नदिन नाकामा कडाइ गर्नुपर्ने उनको भनाइ छ । ‘संक्रमण भित्रिन नेपालभारत सीमा र अन्तर्राष्ट्रिय विमानस्थल हो । विमानस्थलमा पहिलेदेखि नै हेल्थ डेस्क छ, त्यसलाई झन् सशक्त बनाउनु पर्न सक्छ । तर, नेपाल भारत सीमा अलि बढी चिन्ताको विषय हो’, उनले भने ।
विमानस्थलमा गम्भीर भएर योजना बनाएको पनि पाइँदैन । अर्कातर्फ नेपालको पर्यटन ध्वस्त भइसकेको छ । त्यही पर्यटनलाई उक्साउने नाममा ओमिक्रोन भित्रियो भने त्यसले पार्ने गम्भीर असरको मूल्यांकन गर्न नसकिने खालको पनि हुन सक्छ ।
अर्कातर्फ नेपालमै कोरोना संक्रमण यसै पनि रोकिएको छैन । दैनिक दुई सय भन्दा बढी संक्रमित थपिइरहेका छन् । यसर्थ यसलाई रोक्न नसकेको सरकारले ओमिक्रोन भित्रियो भने अवस्था के होला ? यतातर्फ सोच्न ढिला भइसकेको छ ।