- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ४० देश भन्दा बढी देशमा फैलिसकेको छ । नोभेम्बर २४ (११ दिनअघि) विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा फेला परेको पुष्टि गरेको ओमिक्रोन भेरियन्ट छोटो समयमा नै यति धेरै देशमा फैलिएको छ ।
भारत, जापान, अस्ट्रेलिया, अफ्रिका, बेलायत, क्यानडा एवं अमेरिकालगायतका सबै जसो मुख्य देशमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिसकेको छ । यो भेरियन्ट झनै बढी सङ्क्रामक रहेको डब्ल्युएचओले समेत भनिसकेको छ ।
नेपालमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको खुला सीमाबाट ओमिक्रोन भेरियन्ट भित्रिने सम्भावना उच्च रहेको विज्ञहरू बताउँछन् । खास गरी खुला सीमा भएका कारण राम्रोसँग व्यवस्थापन हुन नसके भारतबाट ओमिक्राेन भित्रिने चिन्ता बढी रहेको डा. शेरबहादुर पुनको भनाइ छ ।
यसबिच भारतको ख्याति प्राप्त इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरका प्रोफेसर मनिन्द्र अग्रवालले जनवरी र फेब्रुअरीकोबीचमो (करिब एक महिनापछि) कोभिड१९ महामारीको तेस्रो लहर आउने चेतावनी दिएका छन् ।
भारतमा महामारीको पूर्वानुमान गर्न भारत सरकारले समेत समर्थन गरेको सूत्र मोडेलका सह संस्थापक समेत रहेका प्रोफेसर अग्रवालले मध्यम किसिमको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका हुन् ।
तर, अस्पतालमा भर्नाहुने दर भने कम हुसक्ने प्रारम्भिक अध्ययनले देखाएको उनले बताएका छन् । तर, ओमिक्रोनले कतिसम्म गम्भीर अवस्थामा पुर्याउन सक्छ र कति मानिस अस्पताल भर्ना हुन पुग्छन् भन्ने कुरा भने थप अध्ययनले देखाउनले उनको भनाइ छ ।
दक्षिण अफ्रिकी अध्ययनले ओमिक्रोनले एक पटक सङ्क्रमित भइसकेकाहरूमा फेरि सङ्क्रमण गर्न सम्भावना कम देखाएको उनले बताएका छन् । यस्तै विश्वका अन्य मुलुकमा पनि अहिलेसम्म ओमिक्रोनबाट सङ्क्रमितहरूको अवस्था सामान्य जस्तै देखिएको छ ।
तर, यस विषयमा थप अध्ययन र तथ्याङ्कको विश्लेषणपछि मात्रै यकिन हुन सकिने विज्ञहरूको भनाइ छ ।
ओमिक्रोन भेरियन्टको सङ्क्रमण रोक्न जापान, इजरायल, मोरक्कोलगायतका देशले विदेशीहरूको आगमनमा रोक लगाइसकेका छन् । बेलायतले यात्रामा नियमहरूमा झनै कडाइ गरेको छ । अब, बेलायत प्रवेश गर्न अनिवार्यरुपमा कोभिड१९ परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएको छ ।
नेपालले समेत सरकारले हङकङसहित विभिन्न ९ अफ्रिकी मुलुकबाट यात्रामा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमा क्षेत्रमा कडाइ गरिएको जानकारी दिएको छ ।
ओमिक्रोनको जोखिम भएको देशबाट आउनेले परीक्षण गर्नु पर्ने र सीमाबाट भित्रिन अनिवार्यरुपमा पीसीआर नेगेटिभ या खोप लगाएको प्रमाण पत्र देखाउनु पर्ने निर्देशन दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीको भनाइ छ ।
यसअघि देखा परेको डेल्टा भेरियन्टले विश्वभर दोस्रो लहर ल्याएको थियो । विश्वभर एवं नेपालमा समेत पहिलो लहर भन्दा दोस्रो लहर झनै घातक बनेको थियो । ओमिक्रोन भेरियन्टले डेल्टा भन्दा पनि बढी स्वरूप परिवर्तन गरेको छ । यसै कारणले ओमिक्रोन बढी घातक र सङ्क्रामक हुनसक्ने चिन्ता विज्ञहरूको छ ।
ओमिक्रोनको सङ्क्रमणबाट जोगिन विश्वभरका मुलुकहरूले फेरि पूर्व तयारी गर्न थालेका छन् । सामाजिक दुरी, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने एवं खोप लगाउने लगायतका स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
ओमिक्रोन झनै घातक र खोपलाई समेत चुनौती दिने किसिमको देखिएको खण्डमा यसले विश्वलाई नै फेरि तहसनहस पार्ने क्षमता राख्ने देखिन्छ । यसै कारण समयमै सावधानी अपनाएर सङ्क्रमण फैलिन नदिन विज्ञहरूले आग्रह गरेका छन् ।