arrow

फेवातालमा १६ हजार माछाका भूरा छाडियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
fewaa.jpg

पोखरा । पोखराको फेवातालमा माछाका भूरा छाडिएको छ। स्थानीयको आयआर्जनमा सघाउ पुर्याउँदै फेवातालको प्राकृतिक सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका-१८ को वडास्तरीय बजेटबाट तालमा १६ हजार माछाका भूरा छाडिएको हो । 

मंगलबार पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सिल्भर काप र विगहेड जातका माछाका भूरा तालमा छाडेकी हुन् । 

उनले सो कार्यक्रममा फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै ब्राण्डिङ गर्नु पर्ने बताइन् । 

फेवातालको माछा संरक्षण र व्राण्डिङ गर्न सके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रूपमा सबल हुने बताइन् । 

प्रमुख गुरुङले पोखरा क्षेत्रमा उत्पादित जेठो बुढो धानलाई प्याकेज गरेर प्रवर्द्धन गर्ने काममा महानगर लागेको बताउँदै फेवातालमा धेरै माछा उत्पादन गरेर विक्री गर्ने वातावरण बनाउन समेत तयार रहेको बताइन् । 

उनले फेवातालको माछा पालनलाई आधुनिकीकरण गर्दै व्यावसायिक रुपमा उत्पादन गर्नु पर्ने आवश्यकता औँल्याइन् । 

प्रमुख गुरुङले फेवाताल किनारमा बसेका जलारी समुदायलाई एकीकृत बस्ती निर्माण गर्ने योजना महानगरको रहेको बताइन् । 

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्ने  ठाउँको रुपमा विकास गर्न सकिने बताए । 

उनले फेवातालमा विभिन्न फरकफरक प्रकृतिका माछालाई  व्यावसायिक रुपमा पालन गर्नसकेको अवस्थामा पर्यटकका लागि समेत थप आकर्षण बन्ने बताए ।

उनले फेवातालमा माछाको व्यावसायिक उत्पादनलाई बढाउन सकिएको अवस्थामा जलारी समुदायको जीवन समृद्ध हुने बताए । 

प्रवक्ता नेपालीले फेवातालको स्वच्छ र सफा माछा उत्पादनसँगै बजारीकरणमा स्थानीय लाग्नुपर्नेमा जोड दिए । 

स्थानीय ज्ञानबाहदुर जलारीले फेवाताल क्षेत्रका जलारी समुदायको जीवन यापनमा माछापालनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै गएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ