arrow

डेढ करोड खोप भण्डारमा, स्वास्थ्य केन्द्रमा गएर 'भटाभट' लगाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
health_ministry_1617956882.JPG

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गएर तुरुन्त खोप लगाउन आग्रह गरेको छ । पछिल्लो समय नेपालमा कोभिड १९ को सङ्क्रमण फेरि बढ्ने सङ्केत देखिन थालेको छ । यसबीच निकै नै बढी सङ्क्रामक देखिएको ओमिक्रोन भेरियन्टको सङ्क्रमण समेत नेपालमा फेला परिसकेको छ।

सङ्क्रमण बढेर फेरि अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्ने र त्यसो हुँदा धेरैको मृत्यु हुने देखिएसँगै मन्त्रालयले सर्वसाधारणलाई खोप लगाउन आग्रह गरेको हो । हालसम्म नेपालमा १ करोड जनसङ्ख्याले समेत पूर्ण खोप लगाएको छैन । मन्त्रालयको शनिबारसम्मको तथ्याङ्क अनुसार ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण खोप लगाएका छन् ।

नेपालमा ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज (मात्रा) खोप भित्रिएको छ । पहिलो डोज र दोस्रो डोज गरेर २ करोड १५ लाख ५७ हजार ८३ डोज खोप मात्रै लगाइएको छ। 

हाल १ करोड ३९ लाख ९ हजार ८ सय ९७ डोज खोप देशभरका विभिन्न खोप केन्द्र एवं स्वास्थ्य केन्द्रमा भण्डार एवं सञ्चालनको अवस्थामा रहेको छ।

ओमिक्रोनको सङ्क्रमण बढ्दै गएपछि र यो भेरियन्टले एक पटक सङ्क्रमित भइसकेका र दुई डोज खोप लगाएकालाई समेत सङ्क्रमित पार्ने र बिरामी बनाउने देखिएको छ। यसै कारण जोखिमपूर्ण वर्गलाई लक्षित गरेर तेस्रो डोज लगाउन पर्ने अवस्थासमेत आउन सक्ने विज्ञहरूले बताएका छन् ।

तेस्रो डोज लगाउनुअघि बढी भन्दा बढी नागरिकले दुई डोज लगाउन आवश्यक रहेको भन्दै तुरुन्त खोप लगाउन मन्त्रालयका अधिकारीहरूले आग्रह गरेका छन् ।

जोखिमपूर्ण समूहलाई लक्षित गरेर तेस्रो डोज लगाउनेबारे तयारी भइरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले बताएकी छिन्।

‘जोखिमपूर्ण वर्गका नागरिकहरूलाई तेस्रो डोज लगाउनेबारे छलफल र तयारी भइरहेको छ । तर अहिले धेरै नागरिकहरूले २ डोज खोपसमेत लगाउन पाएका छैनन् । त्यसकारण सबैले चाँडो चाँडो खोप लगाउन आवश्यक छ’, उनले भनिन् ।

यस्तै स्वास्थ्य सेवा विभागका डा. दीपेन्द्ररमण सिंहले पहिला बढी भन्दा बढीले दुई डोज खोप लगाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘पहिला नलगाएकाहरूले दुई डोज लगाउन आवश्यक छ, त्यसरी पनि सङ्क्रमणलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ, त्यसपछि जोखिम रहेका नागरिकहरूलाई थप खोप लगाउने तयारी भइरहेको छ।’

बढी सङ्क्रामक ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट जोगिन र स्थिति थप विकराल हुन नदिन अहिले खोप नलगाएकाहरूले तत्काल खोप लगाउन आवश्यक देखिएको छ। देशभर स्थानीय तहमा तोकिएका स्वास्थ्य केन्द्र एवं खोप केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ