- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। कोरोना भाइरसविरुद्धको खोपको थप मात्रा अथवा बुस्टर डोज लगाउनेबारे के गर्ने भन्ने विषयमा स्पष्ट निर्णय हुन सकेको छैन ।डेल्टा भेरियन्ट भन्दा निकै बढी सङ्क्रामक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर तीव्र रूपमा फैलिन थालेसँगै विभिन्न देशहरूले प्रतिबन्धमा कडाइ पारिरहेका छन् ।
अमेरिका, इङ्गल्याण्ड, क्यानडा, इजरेल, जर्मनी, फ्रान्स लगायतका थुप्रै मुलुकहरूले कोरोना भाइरस विरुद्धको खोपको थप डोज अर्थात् बुस्टर डोजसमेत लगाउन थालेका छन् ।
ओमिक्रोन भेरियन्टले दुई खोप लगाएका र एक पटक सङ्क्रमित भइसकेकाहरूलाई सङ्क्रमित बनाउने देखिएपछि विभिन्न देशहरूले बुस्टर डोज लगाउन थालेका हुन् ।
नेपालमा के भइरहेको छ ?
नेपालको सन्दर्भमा पनि जोखिम समूह जस्तै दीर्घरोगी, प्रतिरक्षा प्रणाली कमजोर भएका र ६० वर्षमाथिका नागरिकहरूलाई बुस्टर डोज लगाउने विषयमा छलफल एवं तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जोखिमपूर्ण समूहका नागरिकलाई तेस्रो डोज लगाउने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रले जानकारी दिइन् । यस्तै स्वास्थ्य सेवा विभागका डा दीपेन्द्ररमण सिंहले पनि जोखिमपूर्ण समूहका नागरिकलाई केही समयपछि थप मात्रा खोप लगाउने तयारी गरिरहेको जानकारी दिएका छन् ।
तर अहिले धेरै जनाले २ डोज खोप मात्रै पनि नलगाएका कारण सबैलाई तेस्रो डोज लगाउनेबारे निर्णय गर्न नसकिने मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
नेपालमा कुल जनसङ्ख्याको ३९ प्रतिशतले मात्रै एक मात्रा खोप लगाएका छन् भने ३१ प्रतिशतले पूर्ण खोप लगाएका छन् । खोप केन्द्रमा खोप लगाउन जाने मानिसहरूकै सङ्ख्या कम भएपछि चाँडो खोप लाग्न नसकिरहेको मन्त्रालयकी प्रवक्ता डा संगिताको भनाइ छ।
अहिले १ करोड भन्दा बढी डोज खोप देशभरका विभिन्न खोप केन्द्र र स्वास्थ्य संस्थाहरूमा भण्डार एवं सञ्चालनको अवस्थामा रहेको छ ।
अध्ययन-अनुसन्धानबीना विदेशीको नक्कल
नेपालमा अहिले ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिरहेको छ या छैन भनेर थाहा पाउन पीसीआर परीक्षणका क्रममा एस जीनसहितको परीक्षण हुने गरेको छैन ।
पीसीआरमा एस जीन समावेश गरेर परीक्षण गर्दा एस जीन नेगेटिभ आएमा त्यो ओमिक्रोन भेरियन्ट हो कि भनेर आशङ्का गर्न सकिन्छ । र त्यसलाई जीन सिक्वैन्सिङ गर्दा पुष्टि हुन्छ।
तर, एस जीन समावेश नगरेर नै खास गरी पीसीआर परीक्षण हुने गरेका कारण ओमिक्रोनको सङ्क्रमण फैलिरहेको छ या छैन भनेर थाहा पाउन कठिनाइ हुने देखिएको छ।
यस्तै नेपालमा कोभिड-१९विरुद्धको पूर्ण खोप लगाएको कति समयपछि शरीरमा एन्टीबडीको लेभल कम भयो, कति कम भयो भन्ने अध्ययनसमेत हुन सकेको छैन ।
यस किसिमको अध्ययन भएमा खोपको प्रभावकारिता कति घट्यो र बुस्टर डोज कुन समूहका नागरिकलाई दिन आवश्यक छ भन्ने आधार बनाउन सहज हुन सक्छ ।
यस्तै पूर्ण खोप लगाएका कुन समूहका नागरिक कति सङ्क्रमित भए, कति गम्भीर बिरामी भए र कतिको मृत्यु भयो भन्ने किसिमको अध्ययन भएमा यस्तो अध्ययन पनि बुस्टर डोज दिने आधार बन्न सक्छ ।
कुनै किसिमको अध्ययन या विश्लेषणबिना नै विदेशीले जे गर्याे जस्ताको त्यस्तै त्यो नक्कल गर्नै पर्छ भन्ने नरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनको भनाइ छ।
'दुई मात्रा खोप लगाउँदा पनि सङ्क्रमणबाट जोगिने र सङ्क्रमित भइसकेपछि गम्भीर बिरामी नहुने सम्भावना बढी हुन्छ, त्यसैले पहिला त बढी भन्दा बढी नागरिकलाई दुई डोज खोप लगाउन आवश्यक छ,' उनले भने ।
खोपको प्रभावकारिता घटे पनि टी सेलले पनि सङ्क्रमण रोक्न मद्दत गर्ने उनको भनाइ छ। यसै कारणले पनि कुन उमेर समूहका, कस्ता रोग लागेका व्यक्तिहरूलाई जोखिम देखियो भनेर अध्ययन गरेपछि अथवा तथ्याङ्कको विश्लेषण गरेपछि तेस्रो डोज लगाउन सकिने उनको भनाइ छ।
'अमेरिका, इङ्गल्याण्ड जस्ता आफै खोप उत्पादन गर्ने र धनी देशहरूले सबै नागरिकलाई बुस्टर डोज लगाउने भने पनि त्यसको सोझै नक्कल गर्न आवश्यक छैन, हाम्रो अवस्था त्यस्तो छैन, पहिला बढी मानिसलाई दुई डोज लगाउने, त्यसपछि कुन उमेर समूहका नागरिकलाई जोखिम बढी देखिन्छ उनीहरूलाई बुस्टर डोज लगाउन,' डा पुनले भने।
कोरोना भाइरसको महामारी सुरु भएदेखि नै काम गर्दै आएका अर्का एक विज्ञ डाक्टर जोखिम पूर्ण समूहका नागरिक र बढी एक्सपोज भइराख्ने मानिसहरूलाई बुस्टर डोज लगाउन सकिने बताउँछन्।
यसरी अन्योल
दुई मात्रा खोप लगाएका व्यक्तिहरूमा ६ महिनापछि खोपको प्रभावकारिता कम हुँदै अध्ययनले देखाएपछि सुरुमा इजरेलले बुस्टर डोज लगाउन सुरु गरेको थियो । त्यसपछि अमेरिका, जर्मनी, फ्रान्स, चीनलगायतका अन्य देशहरुले पनि बुस्टर डोज लगाउन थालेका थिए ।
अहिले ओमिक्रोन भेरियन्टविरुद्ध दुई खोप प्रभावकारी नभएको भन्ने अध्ययन सार्वजनिक भएपछि यी लगायतका अन्यदेशहरुले आक्रामक तरिकाले बुस्टर डोज लगाउन थालेका छन् ।
तर, नेपालमा धेरै नागरिकले दुई डोज अर्थात् पूर्ण खोप नै लगाएका छैनन् । डेल्टा भेरियन्टविरुद्ध दुई डोजले नै पर्याप्त काम गर्ने विभिन्न अध्ययनले देखाएका कारण सबै नागरिकलाई दुई डोज लगाउन आवश्यक पनि छ।
अर्कोतर्फ अहिले नै सबै नागरिकलाई तेस्रो डोज लगाउन भन्न कुनै किसिमको आधार समेत देखिँदैन। ओमिक्रोनको सङ्क्रमण कति बढिरहेको छ, खोप लगाएकाहरू कति सङ्क्रमित भइरहेका छन्, कति गम्भीर बिरामी भइरहेका छन्, कतिको मृत्यु भइरहेको छ भन्ने किसिमको कुनै आधार नभएका कारण पनि तेस्रो डोज लगाउने विषय अहिले अन्योलपूर्ण रहेको देखिन्छ।
तर, सरकारले जोखिमपूर्ण समूहका नागरिकलाई भने चाँडै तेस्रो डोज खोप लगाउने तयारी गरिरहेको छ। हालसम्म सबैजसो देशहरूले पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज लगाइरहेका छन् ।