arrow

ओमिक्रोनको छायाँ

ओमिक्रोनको संक्रमण बढ्यो, सीमा र विमानस्थलको अवस्था के छ ?

विमानस्थल भन्दा सीमामा अपनाइएको छ उच्च सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण भारतमा बढ्दै गएको छ । सोमबारसम्म भारतमा २ सय भन्दा बढी जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ ।

ओमिक्रोन भेरियन्ट पहिचान भएयता विश्वभर कोरोना भाइरसको सङ्क्रमण दर बढ्न थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै फेरि अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्ने चेतावनी दिँदै स्वास्थ्य क्षेत्रले धान्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

भारतमा समेत सङ्क्रमण बढ्न थालेपछि खुला सीमाका कारण प्रत्यक्ष असर पर्ने नेपालमा समेत सङ्क्रमण बढ्ने जोखिम रहेको डा शेरबहादुर पुनले बताएका छन् । यसकारण नेपालले खास गरी सीमा क्षेत्रमा कडाइ गर्नु पर्ने देखिएको विज्ञहरूको भनाइ छ ।

अमेरिका, बेलायतलगायतका मुलुकहरूमा सङ्क्रमण बढ्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमा र विमानस्थल दुवै ठाउँमा कडाइ गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।

के छ विमानस्थलको अवस्था ?

तर, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने स्वास्थ्य मन्त्रालय अन्तरगतको हेल्थ डेस्क बाहेक अन्य कुनै किसिमको कडाइ सम्बन्धी निर्देशन दिइएको छैन ।

दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लोसोथो, इसवाटिनी, मोजाम्विक, मलावी र हङकङबाट नेपाल आउन या यी देशलाई ट्रान्जिट पारेर नेपाल आउन मात्रै प्रतिबन्ध रहेको अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले बताए ।

अहिले अन्य कुनै देशबाट आउने प्रतिबन्ध या अनिवार्य क्वारेन्टिन भन्ने किसिमको कुनै निर्देशन नरहेको विभागका निर्देशक ढकालले बताए । 

४ दिनअघि अध्यागमन विभागले ६७ देशबाट नेपाल आउनेले आफ्नै खर्चमा ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने सूचना निकालेको थियो । अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रीस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र मालदिभ्स लगायतका देश रहेका थिए ।

तर अहिले सो सूचना स्थगित भएको विभागका निर्देशक ढकालले बताए । ‘त्यो निर्णय हाललाई स्थगित भएको छ, त्यो विषयमा नेपाल सरकारले फेरि छलफल गरेर सीसीएमसीमा पनि छलफल होला र त्यसपछि एक दुई दिनभित्र एउटा उपयुक्त निर्णय आउला, जुन पहिला ९ वटा मुलुक भनेको थियो त्यो बाहेक थप प्रतिबन्ध केही पनि छैन, ती ९ वटा मुलुकहरूमा पनि सङ्क्रमण शून्य देखिएमा हेरफेर हुन्छ’, उनले भने ।

कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) की प्रवक्ता सुनिता नेपालले अहिले एक खोप लगाएकोलाई अनिवार्य होटेल क्वारेन्टिन र लक्षण देखिएकोलाई एजेन्ट परीक्षण गर्ने लगायतका कामहरू सीमा र विमानस्थलमा भइरहेको बताइन् । 

सीमामा के छ ?

भारतसँग जोडिएको व्यस्त सीमा रहेका जिल्लामध्ये एक कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सीमा क्षेत्रमा कडाइ र पूर्व सतर्कता अपनाइएको जानकारी दिएका छन् ।

अहिले सीमामा क्वारेन्टिन, होल्डिङ सेन्टर र चेक जाँचको व्यवस्था रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । यस्तै भारतबाट खोप नलगाएरै आइरहेका नागरिकलाई सीमामै खोप लगाइरहेको उनले बताए ।

'अहिले खोप नलगाएरै आइरहेका नेपालीलाई सीमामा नै खोप लगाइरहेका छौँ । एजेन्ट चेक गर्छाैं, पोजेटिभ देखियो भने आइसोलेसनमा पठाइहाल्छौं, हाम्रो आइसोलेसन सेन्टर खाली छ र पर्याप्त छ । महामारी आएमा होल्डिङ सेन्टर पनि तयारी अवस्थामा छ,' उनले भने ।

यस्तै हाल सङ्क्रमण नबढेको उनले बताए । '३ सय ६६ जनाको एजेन्ट चेक गर्दा ३ जना र १० जनाको पीसीआर चेक गर्दा १ जनामा सङ्क्रमण देखिएको छ, त्यस्तो सङ्क्रमण बढेको छैन, हामी सतर्कता अपनाएर बसेका छौँ,' उनले भने ।

यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पनि अहिले सङ्क्रमण नबढेको तर आफूहरूले सतर्कता अपनाएको बताएका छन् ।

'सीमामा चेकजाँच गर्ने, एजेन्ट टेस्ट गर्ने, हामीले सतर्कता बढाएका छौँ,अहिले सङ्क्रमित खासै देखिएका छैनन् तर हामीले पूर्व सतर्कता अपनाइरहेका छौँ,' उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ