केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नेसम्मको चेतावनी
आकाश शर्मा,
प्रकाशित २०७८ पुष ७ बुधबार
906
Shares
फाइल तस्बिर
काठमाडौँ। जनता समाजवादी पार्टीबाट अलग्गिएको लोकतान्त्रिक समाजवादी पार्टीभित्र महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच गम्भीर विवाद सुरु भएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पार्टीकै महतो निकट नेताहरूले एक हप्ताको चेतावनी दिएका छन्। लोसपा अध्यक्ष ठाकुरले अघिल्लो हप्ता प्रदेश २मा प्रदेश अध्यक्षमा जितेन्द्र सोनाल र प्रदेश सचिवमा रामविनोद चौधरीलाई मनोनयन गरेका थिए। ठाकुरले गरेको उक्त मनोनयनलाई लिएर पार्टीभित्र विवाद सुरु भएको हो।
ठाकुरले एकलौटी ढङ्गबाट मनोनयन गरेको भन्दै महतो पक्षधर नेताहरूले ठाकुरलाई यस्तो चेतावनी दिएका हुन। महतो निकट प्रदेश २का लोसपाका नेताहरू काठमाडौँमै आइ पार्टीको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नेसम्म चेतावनी दिएका छन्। आफ्नो निर्णयबाट पछि हट्दै ठाकुरले प्रदेश २को मनोनयनलाई रद्द गर्नु पर्ने उनीहरूको माग छ। ‘हामीले आइतबारसम्म पर्खन्छौ। त्यस बेलासम्म उहाँ (ठाकुर)ले हाम्रो माग सुनुवाइ गर्नु भएन भने हामीले पार्टी कार्यालय ताला लगाउने, धर्ना दिने जस्ता कार्यक्रम गर्छौ’महतो निकट लोसपाका केन्द्रीय सदस्य सञ्जय चौधरीले भने।
पार्टी अध्यक्षले एकलौटी ढङ्गबाट कार्यकारिणी समितिको बैठक समेत नबोलाई प्रदेश २मा प्रदेश अध्यक्ष र प्रदेश सचिव मनोनयन गरेको चौधरीले आरोप लगाए। ‘यो भनेको उहाँ(ठाकुर)को एकलौटी निर्णय हो। कमसेकम कार्यकारिणी समितिका बैठक बोलाएर बैठकबाट निर्णय गराउनु पर्थ्यो’चौधरीले भने।
ठाकुर निकट लोसपाका प्रदेश २का नेताहरू सुरुमा काठमाडौँ आइ ठाकुरलाई भेट्ने, त्यसपछि ज्ञापन पत्र बुझाउने, ज्ञापन पत्र बुझाएर पनि माग सुनुवाइ नभए पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम बनाएका छन्। धर्नाबाट पनि माग पूरा नभए पार्टी कार्यालय नै तालाबन्दी गर्ने उनीहरूको भनाइ छ।
प्रदेश २मा ठाकुरले मनोनयन गरेका प्रदेश अध्यक्ष र प्रदेश सचिव दुवै ठाकुर निकट नेता हुन। प्रदेश २मा प्रदेश अध्यक्ष र सचिव मनोनयन गर्नु अघि ठाकुरले एक पटक पनि महतो लगायत पार्टीका शीर्ष नेताहरूसँग सरसल्लाह नगरेको महतो निकट नेताहरू बत्ताउँछन्।
प्रदेश २ लोसपाका आधार भूमि हो। त्यसैले प्रदेश २को प्रदेश समितिलाई लोसपाका नेताहरूले विशेष महत्त्वको साथ हेर्ने गरेका छन्।
करिब ६ महिना पहिले जसपाबाट अलग्गिएर ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले लोसपा गठन गरेका हुन्। जहाँ कङ्गाल, त्यहाँ कचिङ्गल भने झैँ पार्टी निर्माण भएको छोटो समयमै पार्टीभित्र विवाद सुरु भएको छ। पार्टी अहिले ठाकुर र महतो समूह गरी स्पष्ट रूपमा दुई गुटमा विभाजित भएको छ।