arrow

राज्य–निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरू सञ्चालन गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
chandra-dhakal-gorakha.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्न सकिने बताएका छन्। शनिवार गोरखा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरू सञ्चालन गर्न सकिने बताए।

“यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ। यस्ता उद्योगहरू धेरै बन्द अवस्थामा छन्। निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरूमा लगानी गरी तिनीहरूलाई पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भने।

वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताए। ढकालले सरकारी ढुकुटीमा खरबौँ राजश्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताए।

“अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजश्व सङ्कलन भइसकेको छ। यो पौष मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजश्व सङ्कलन हुनेछ। तर राजश्व सङ्कलन केन्द्रीकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम् नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,” उनले बताए। गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन भएको बताउँदै उनले यसमा निजी क्षेत्रको योगदान ठुलो रहेको बताए।

ढकालले सबै व्यवसायीहरूले नाफा मात्र नहेरेको बताउँदै उनीहरूले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताए। उनले मुलुकको राजश्वमा ठुलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममा समेत नसमेटिएकोमा गुनासो गरे।

“मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको छ। सरकारी राजश्व सङ्कलनमा पनि निजी क्षेत्रले सहयोग गरेको छ। त्यसैले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्दा सरकारलाई पनि सहयोग पुग्नेछ,” उनले भने। बजार अनुगमनका नाममा व्यवसायीहरूले दुख पाएको र त्यसलाई मर्यादित बनाउनुपर्ने उनले बताए।

वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय स्तरमा लगानीका सम्भावनाहरू भएमा महासङ्घको तर्फबाट तथा व्यक्तिगत साझेदारी गर्न आफू तयार रहेको बताए। “तपाई हामीबीच व्यावसायिक सम्बन्ध भयो भने हामी पोस्टमा हुँदा र नहुँदा पनि सम्बन्ध रहने हुन्छ। यहाँका स्थानीय सम्भावनाहरू के के छन्। उत्पादनमूलक उद्योग, पर्यटन वा अन्य कुनै पनि व्यवसायमा जोडिन सकियो भने यो सम्बन्ध रहिरहन्छ,” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ