arrow

राष्ट्रियसभा निर्वाचन

८ मतदान स्थलमा १४ केन्द्र : मतदाताको मतभार १८ र ४८

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
election-commission1-1618997712.jpg

काठमाडौं। निर्वाचन आयोगले आगामी १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ८ मतदान स्थलमा १४ मतदान केन्द्र रहने जनाएको छ।

२० फागुनमा रिक्त हुँदै गरेको १९ पद पूर्तिका लागि हुने निर्वाचनमा २ हजार २५ जना मतदाता सहभागी हुँदै छन्। राष्ट्रियसभातर्फ एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र  कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिंन लागेको हो।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५ सय ३२ जना तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता कायम भएको जनाएको छ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँ पालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ८ मतदान स्थलमा १४ केन्द्रमार्फत मतदानको व्यवस्था गरेको जानकारी दिए।

उनका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरु तोकिएको हो। आयोगले मतदाताको नामावली भने १ पुसमा नै स्वीकृत गरिसकेको छ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, बिराटनगर र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला, बिराटनगरमा मतदान स्थल तोकिएको छ।

यसैगरी प्रदेश २ को लागि महेन्द्रनारायण निधी भवन जनकपुर, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्वाचन कार्यक्रम तथा कार्यतालिका यसअघि नै स्वीकृत गरिसकेको छ। स्वीकृत तालिका अनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलहरुलाई १ पुस देखि १० पुससम्म दल दर्ता गर्न समय निर्धारण गरेकोमा सो समय भित्र १२ राजनीतिक दलले दल दर्ता गराएका छन्। निर्वाचन कानुन अनुसार कुनै पनि निर्वाचन अघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ