arrow

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
himpat.jpg

मनाङ । मनाङमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । चामेसहित माथिल्लो भूभागमा भारी हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेको बताइएको छ ।

शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भएको थियो । मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा तीन फिट बाक्लो हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । 

मनाङको नासों गाउँपालिका-९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ-बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए ।

अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए ।

उनले भने बाक्लो हिमपातका कारण हिँडडुल गर्न समेत समस्या भएको छ । जिल्ला प्रशासन कार्यालयले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ