arrow

कोरोनाको तेस्रो लहर : अस्पतालमा बेड र अक्सिजनको चाँजोपाँजो गर्न सीसीएमसीसीले गर्‍यो पत्राचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
ccmcc.jpg

काठमाडौं । कोरोना भाइरस महामारीको तेस्रो लहर आउने सङ्केत देखिएसँगै कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सतर्कता अपनाउन जिल्लाहरूलाई पत्राचार गरेको छ ।

विश्वभर र छिमेकी मुलुक भारतमा समेत सङ्क्रमण बढेसँगै नेपालमा पनि उच्च सजगता अपनाउन सीसीएमसीसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई पत्राचार गरेको हो ।

सङ्क्रमण बढ्न थालेसँगै नाकामा परीक्षण बढाउन र विदेशबाट आउनेका लागि पालिकामै समेत आइसोलेसन र क्वारेनटिन व्यवस्था मिलाउन डीसीसीएमसीलाई सूचित गरिएको सीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छन् ।

भारतमा सङ्क्रमण बढेसँगै सीमा नाकाबाट नेपाल भित्रिनेहरूबाट सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको छ । 

कोरोना भाइरसको नयाँ तीव्र सङ्क्रामक भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नै बढी रहेको विज्ञहरूको भनाइ छ ।

यस्तै स्वास्थ्य मन्त्रालयलाई पनि अस्पतालहरूको अवस्था के कस्तो छ भनेर निगरानी बढाउन प्रस्ताव गरेको उनले बताएकी छन् । 

अस्पतालमा बेड र अक्सिजनको व्यवस्थासहित तयारी अवस्थामा रहनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरिसकेको सीसीएमसीसीकी प्रवक्ता नेपालले बताइन् ।

यसअघिदेखि नै विमानस्थलमा हेल्थ डेस्क सक्रिय रहेको र अब, खोप नलगाएर आउनेहरूलाई विमानस्थलमै खोपको व्यवस्था गर्नका लागि पनि आग्रह गरिएको उनले बताइन् । 

खोप नलगाएर विमानस्थलबाट भित्रिनेहरूमा लक्षण देखिएमा एन्टीजेन परीक्षण गर्ने गरिएको र अब, खोप कै व्यवस्था गर्नका लागि पनि आग्रह गरिएको उनको भनाइ छ ।

कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्न सक्ने देखिएका डा शेरबहादुर पुन बताउँछन् । तर, ओमिक्रोनले कति मानिसहरूलाई अस्पताल भर्ना हुने अवस्थासम्म पुर्‍याउँछ भन्ने महत्त्वपूर्ण कुरा रहेको उनको भनाइ छ । 

'ओमिक्रोनले तुलनात्मक रूपमा डेल्टा भेरियन्ट जस्तो विकराल रूप नलिन सक्छ तर, बढी मानिस सङ्क्रमित भएमा बढी मानिस अस्पताल भर्ना हुन पुग्छन् र यसले समस्या निम्त्याउँछ,' डा पुनले भने ।

सङ्क्रमण बढ्न नदिन पुरानै तरिकाहरू अपनाउने हो र खोपलाई महाअभियान बनाउनु पर्छ, डा पुन भन्छन् । खोपले पनि जटिल अवस्था आउन नदिने भएका कारण खोपको प्रयोग बढाउन जरुरी रहेको उनको भनाइ छ ।

सङ्क्रमण बढ्न नदिन नेतादेखि सर्वसाधारणले सभा जुलुस एवं सम्मेलनलाई कम गर्दै स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी रहेको उनको भनाइ छ ।

ओमिक्रोन भेरियन्टविरुद्ध दुई खोप मात्रै पर्याप्त नभएको विभिन्न अध्ययनहरूले देखाएको छ । 

विश्वका धेरै मुलुकमा तेस्रो डोज लगाइरहँदा स्वास्थ्य मन्त्रालयले नेपालमा जोखिमपूर्ण समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको तेस्रो डोज लगाउने निर्णय गरेकै पहिलो दिन उल्ट्याइसकेको छ ।

इजरेलले आफ्ना जोखिमपूर्ण समूहका नागरिकलाई खोपको चौथो मात्रा समेत लगाउन सुरु गरिसकेको छ । पछिल्ला दिनहरूमा विश्वभर कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालिसकेको छ । 

विश्वभर हिजो मङ्गलवार करिब १३ लाख नयाँ सङ्क्रमित थपिँदा आज अर्थात् बुधबार २१ लाख भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिका, बेलायत, अस्ट्रेलियादेखि भारतसम्म सङ्क्रमण बढेको छ ।



नयाँ