arrow

राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीबारे अद्यावधिक छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
surakshaya-meet.PNG

काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ ।  गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बसेको बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतीका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भने ।

त्यस्तै बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अद्यावधिक छलफल भयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्विपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए  ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायतको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री खाँडले अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाइ गरेका थिए । गृहमन्त्री खाँडले नवनियुक्त राष्ट्रिय अनुसन्धान विभागका प्रमुख खरेललाई बधाई दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ