arrow

‘रोगले होइन भोकले मर्ने दिन आउन नदिन सचेत र सजग रहनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार

विराटनगर । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको मोरङको आज बसेको बैठकमा सहभागीले ‘रोगले होइन भोकले मर्ने’ दिन आउन नदिन आमनागरिक सचेत एवं सजग रहनुपर्ने आवश्यकता औँल्याइएको छ । 

गएको कात्तिक महिनामा आएको बैमौसमी वर्षा र बाढीबाट भएको किसानको धानबाली क्षतिलाई राहत वितरण गर्न, विगत केही दिनदेखि तराईमा बढ्दै गएको चिसो र शीतलहरबाट गरिब एवं विपन्न परिवारलाई जोगाउन तथा ओमिक्रोन भाइरसबाट आमनागरिकलाई बच्न र बचाउन के के उपाय अपनाउन सकिन्छ भन्ने धारणा बुझ्न र राहत वितरण गर्ने उद्देश्यले आयोजित सो बैठकमा उद्योगी व्यापारी, स्थानीय पालिका प्रतिनिधि, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, जनस्वास्थ्य प्रमुख, कोशी अस्पतालका प्रमुखको सहभागिता रहेको थियो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुलीले विपद् न्यूनीकरणमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको जानकारी दिँदै सरकारले विपद्मा परेका नागरिकलाई उद्धार, राहत वितरणमा चासोको साथ काम गरिरहेको छ भने। 

विपद्मा अग्रभागमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ७० जनालाई विपद् पूर्वअभ्यास तालिम दिएको र सो तालिम स्थानीय पालिकाका नगर रक्षक एवं अगुवा नागरिकलाई पनि दिन आवश्यक छ भने ।

प्रजिअ दाहालले कोरोना भाइरसबाट आमनागरिकलाई जोगाउन नेपाल भारतको वैध सीमाबाट मात्र नागरिक ओहोरदोहोर गराउने जानकारी दिँदै विपद् व्यवस्थापन कोषमा अहिले रु एक करोड १० लाख, एक हजार कम्बल रहेको जानकारी दिए। उजले जिल्लामा विपद्मा परेका, गरिब एवं विपन्न परिवारमा न्यानोका लागि एक÷एक थान कम्बल बाँड्ने र यसका लागि स्थानीय पालिकालाई लक्षित वर्गको सूची तत्काल पठाउन निर्देशन दिए । 

अहिले रतुवामाई नगरपालिका, जहदा गाउँपालिका, कटहरी र विराटनगर महानगरपालिकाबाट अति प्रभावित क्षेत्रका नागरिकका लागि कम्बल माग भइआएको प्रजिअ दाहालले बताए ।

उनले आगामी दुई दिनभित्र विवरण सङ्कलन गरेर कम्बल बाँड्ने भन्दै जिल्ला वन कार्यालयले त्यस्ता वर्गलाई निःशुल्क मुढा र दाउरा उपलब्ध गराउने भएकोले जनप्रतिनिधिले चासोका साथ काम गर्न आग्रह गर्नुभयो । उनले नागरिकको ज्यानको सुरक्षा गर्न राज्यको दायित्व पनि भएकाले सीमा क्षेत्रका हेल्प डेस्कले ट्रेसिङ, टेस्ट र ट्रिटमेन्ट कार्यलाई एक साथ अघि बढाउनु पर्ने सुझाव दिए ।

कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले कोरोनाले नकारात्मकभन्दा पनि सकारात्मक हुन पनि सिकाएकाले यसैका लागि नागरिकले अपनाएको स्वास्थ्य सुरक्षा मापदण्डबाट डाइरिया र स्वासप्रस्वासको रोगी घटेको जानकारी दिए । उनले हात धुने र मास्क लगाउने बानीका कारण नागरिकको स्वास्थ्यमा सुधार आएको बताउँदै कोशी अस्पतालमा छ वटाबाट १२ वटा आइसियु बनाएको र कुनैमा पनि बिरामी खाली नरहेको जानकारी दिए । 

जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले खोपको कुनै समस्या नरहेको भन्दै सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था छ र यसकालागि स्थानीय पालिकाहरुले समन्वय गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ