arrow

नेपालमा एक सातामा दुई गुणाले बढ्यो काेराेना सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
coronaaa.jpg

काठमाडौं । विश्वभर बढिरहेको कोरोना भाइरस (काेभिड-१९) को सङ्क्रमण नेपालमा समेत बढेको देखिएको छ । गत साताको तुलनामा यो साता झन्डै दुई गुणाले सङ्क्रमण बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

यो साता अर्थात् पुस १८ देखि २४ गतेसम्मको तथ्याङ्क हेर्दा ३,८२२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तर, गत साता पुस ११ देखि १७ गतेसम्म १,८३२ जनामा नयाँ सङ्क्रमित थपिएका थिए ।

यो तथ्याङ्कलाई अझै विश्लेषणात्मक तरिकाबाट हेर्दा यो साता सङ्क्रमण दर ४.७७ प्रतिशत देखिएको छ । यसको अर्थ ८० हजार ५० जनाको नमुना परीक्षण हुँदा ३,८२२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसरी सङ्क्रमण दर ४.७७ प्रतिशत पुगेको स्पष्ट भएको हो ।

तर, गत साता (११ देखि १७ गतेसम्म) सङ्क्रमण दर २.२९ प्रतिशत रहेको छ । गत साता ७९ हजार ६७७ जनाको नमुना परीक्षण गर्दा १,८३२ जनामा सङ्क्रमण देखिएको थियो । यसरी सङ्क्रमण दर २.२९ प्रतिशत रहेको पुष्टि हुन्छ ।

गत साताको तुलनामा यो साता सङ्क्रमण दर झन्डै दुई गुणाले बढेको हो ।  सातागत तथ्याङ्क भन्दा पनि दैनिक तथ्याङ्कले नै सङ्क्रमण दर बढेको स्पष्ट देखिएको छ । शनिबार अर्थात् हिजोको सङ्क्रमण दर ६.४६ प्रतिशत रहेको छ भने अस्ति शुक्रबारको सङ्क्रमण दर ७.११ प्रतिशत रहेको थियो ।

दुई साताअघि अर्थात् पुस ४ देखि पुस १० गतेसम्म पनि सङ्क्रमण दर न्यून नै अर्थात् २.२७ प्रतिशत रहेको थियो । त्यति बेला ७२ हजार ३८२ जनाको नमुना परीक्षण गर्दा १ हजार ६४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसरी दुई साताअघि पनि सङ्क्रमण २.२७ प्रतिशत रहेको पुष्टि हुन्छ ।

तर विगत साता दिन अर्थात् यो साता सङ्क्रमण दर बढेर झन्डै ५ प्रतिशत अर्थात् ४.७७ प्रतिशत पुगेको छ । यसरी हेर्दा नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढिसकेको देखिन्छ । सङ्क्रमणबाट जोगिन सबैले स्वास्थ्य मापदण्डको पालना, भिडभाड जन्य कार्यक्रमहरूको आयोजना नगर्ने र खोप लगाउने कार्यलाई आत्मसात् गर्नुपर्ने देखिन्छ । 

गत साता भन्दा सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढेको छ । पुस ११ गते ४ हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या पुस २४ गते ६ हजार १४० पुगेको छ । 

गत साताको तुलनामा मृत्यु हुनेको सङ्ख्या भने कम देखिएको छ । पछिल्ला ७ दिनमा ८ जना सङ्क्रमितको मृत्यु भएको छ भने, त्यस अघिल्ला ७ दिनमा ११ जनाको मृत्यु भएको थियो ।

कोरोना भाइरसबाट सङ्क्रमित केही मान्छे बिरामी र गम्भीर बिरामी हुन अथवा ज्यान गुमाउने अवस्थामा पुग्न केही दिन लाग्छ । यस कारणले पनि सङ्क्रमण बढ्ने बित्तिकै मृत्यु हुनेको सङ्ख्या नबढेको अनुमान गर्न सकिन्छ ।

ओमिक्रोन भेरियन्ट केही कम सङ्क्रामक भनिए पनि बढी मानिस सङ्क्रमित हुँदा बढी मानिस बिरामी हुने र बढी मानिसको ज्यान ज्याने सामान्य नियमलाई ध्यानमा राखेर सावधानी अपनाउन जरुरी रहेको विज्ञहरूको भनाइ छ ।

भारत, अमेरिका, बेलायतलगायत विश्वभर सङ्क्रमण बढ्न थालेसँगै यो तेस्रो लहरको सुरुवात हुनसक्ने भन्दै चिन्ता बढेको छ ।

खास गरी ओमिक्रोन भेरियन्टले सङ्क्रमण बढाएपछि तेस्रो लहरको सङ्केत देखिएको हो । ओमिक्रोन भेरियन्टले पूर्ण खोप लगाएका र एक पटक सङ्क्रमित भइसकेकालाई समेत सहजै सङ्क्रमित पार्ने देखिएका कारण बढ्दो सङ्क्रमण फेरि स्वास्थ्य क्षेत्रमाथि सङ्कट आउन सक्ने र कयौँ मानिसले ज्यान गुमाउन सक्ने चिन्ता विज्ञहरूले जनाएका छन् ।

डेल्टा भेरियन्ट जत्तिकै आक्रामक रूपमा सङ्क्रमण बढ्ने हो भने फेरि स्वास्थ्य क्षेत्रमाथि सङ्कट आउने र कयौले ज्यान गुमाउने भयावह स्थिति आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।



नयाँ