arrow

समितिले सकेन सर्वसम्मतिबाट प्रदेश २ को नाम र राजधानी तोक्न

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ माघ २ आइतबार
pradesh-23.jpg

जनकपुर ।  प्रदेश २ को नाम र राजधानीका तोक्न गठित अध्ययन विशेष समितिले सर्वसम्मति जुटाउन असफल भएको छ । समितिले १५ दिनभित्र जम्मा ८ वटा बैठक बसी नाम र राजधानीका छुट्टा छुट्टै प्रस्तावमा सहमति जुटाउने प्रयास गरे पनि असफल भएको हो । 

सभामुख सरोज कुमार यादव नेतृत्वमा पौष १३ गते प्रदेशसभाबाट १६ सदस्यीय विशेष समिति गठन गरिएको थियो । आइतबार प्रदेशसभाको बैठकमा प्रतिवेदन पेस गरेको र हाल सो प्रतिवेदनमाथि सांसदहरूले छलफल जारी राखेका छन् ।

 प्रदेशसभा बैठकमा राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिका सदस्य परमेश्वर साहले समितिको प्रतिवेदन पेश गरेका छन्। समितिमा प्रदेश नम्बर दुईको राजधानीको विषयमा सात वटा प्रस्ताव प्राप्त भएका छन् । प्राप्त प्रस्तावहरूमा समितिले छलफल गरेर ३ वटा प्रस्ताव फिर्ता गराइ हाल ३ वटा प्रस्ताव मतदानका लागि तय गरिएको छ ।

जसमा जनकपुरधाम धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व-पश्चिम लोकमार्ग पूर्वमा कमला नदी दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भू-भाग पहिलो प्रस्ताव रहेको छ। यसका प्रस्तावकहरू परमेश्वर साह, रवीन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह रहेका हुन् । 

दोस्रो प्रस्तावक सिंगासन साह कलवारले वीरगन्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर सिमरा निजगढ हुँदै सिमरौनढसम्म प्रस्ताव गरिएको छ ।

तेस्रो प्रस्ताव वीरंगज महानगरपालिका भरी रहेको छ जसको प्रस्तावक राजेश्वर प्रसाद शाह छन् । 

त्यसै गरी नामकरणका लागि चार वटा प्रस्ताव तोकिएको छ । जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह छन् । जानकी प्रदेशको प्रस्तावक प्रमोद कुमार यादव र मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी रहेका छन् भने मध्य मधेस प्रदेशको प्रस्तावक राजेश्वर प्रसाद साह छन्।

प्रदेशको राजधानी र नामा करण टुङ्ग्याउनु पर्ने सहमतिको नजिक पुगी समितिले केही सकारात्मक उपलब्धिहरू हासिल गरे पनि सर्वसम्मतिले यसलाई पूर्णता दिन नसकेको समितिका सभापति सभामुख सरोज कुमार यादवले बताए ।

 सभामुख यादवले भने हामीले सर्वसम्मतिका लागि निकै प्रयास गर्‍यौ तर, सहमतिभन्दा पनि आ-आफ्नो दलीय स्वार्थको कारण एकमत हुन नसकेको जानकारी गराए।

यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेशसभामा मतदान भएको थियो । त्यस बेला राजनीतिक दलहरुबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान गरेका थिए । तत्कालीन बैठकमा पनि दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामकरणको प्रस्ताव पारित हुन असफल भएको थियो ।

प्रदेश सभामा कुल १०४ सदस्यमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको आठ, एमालेको आठ र नेपाल सङ्घीय समाजवादी पार्टीको एक जना प्रदेश सांसद रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ