- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
(सफल व्यवसायी एवं राजनीतिकर्मी अनिल रुङ्गटाको दुवै भूमिका सन्तुलित शैलीले अगाडि बढिरहेको छ । व्यवसाय आफ्नो ठाउँमा र राजनीति आफ्नो ठाउँमा कुँदिरहेको छ । राजनीति समाजसेवा हो । राजनीतिबाट पैसा कमाइँदैन । खर्च हुन्छ । यो हिसाबले एक नेताले कुनै व्यवसाय पनि सँगसँगै लैजाने हो भने राजनीतिबाट गरिने समाजसेवा सहज हुन्छ । आफ्नै व्यवसाय भयो भने राजनीतिकर्मी भ्रष्टाचारमा नअल्झने तर्क पनि आइरहेका छन् । यिनै दुवै भूमिकामा निपूर्ण रुङ्गटासँग हाम्राकुराले संक्षिप्त कुराकानी गरेको छ)
तपाई पहिले व्यवसायी कि राजनीतिकर्मी ?
म विद्यार्थी कालदेखि नै राजनीतिमा लागेको हुँ । म नेविसंघमा आवद्ध भएको थिएँ । २०४२ सालदेखि नै नेविसंघको कार्यकर्ता भएर काम गरेको हुँ । पछि गएर नेपाली कांग्रेसमा आवद्ध भएर काम गरिरहेको छु । मैले कांग्रेसमा रहँदा शुरुआतमा फ्रन्टलाइनमा रहेर काम गरिन । तर २०६२–६३ देखि फ्रन्टलाइनमै रहेर काम गरिरहेको छु । व्यवसाय पनि गरिरहेको छु । मेरो जीवनमा व्यवसाय भन्दा राजनीति जेठो छ । दुवै सँगसँगै अगाडि बढिरहेको छ । व्यवसाय आफ्नो ठाउँमा र राजनीति आफ्नो ठाउँमा गरिरहेको छु ।
तपाईको चर्चा चाहिँ पहिले राजनीतिमा भन्दा व्यवसायमा भयो हैन त ?
शुरुमा म अध्ययन गर्ने क्रममा नेविसंघको राजनीतिमा रहेँ । पछि गएर व्यवसायमा लागेपछि व्यवसायतिर ढल्केको हुँ । त्यसो गर्दा राजनीतिमा फ्रन्टलाइनमा रहेर काम गरिन । तर पछिल्लो डेढ दशकदेखि राजनीतिमा बढी लागिरहेको छु ।
तत्कालीन संविधानसभाका सदस्य तपाईले गत प्रतिनिधि सभाको चुनाव हार्नुभयो, अबको तयारी के छ ?
पार्टीले टिकट दियो भने फेरि निर्वाचन लड्ने हो । पर्सा १ नम्बर क्षेत्रबाट लड्ने सोच छ । जिल्लाका साथीहरु, पार्टीका साथीहरुले चुनावमा उठ्ने अपेक्षा गरेका छन् । त्यसैले म पनि चुनाव लड्नका लागि लागिपरेको छु ।
टिकट लिनका लागि योगदान पनि दिइराख्नु भएको होला नि ?
म मेरो क्षेत्रमा निरन्तर लागिराखेको छु । सेवामा हरेक दिन जोडिइराखेको छु । पार्टीका साथीहरुसँगै जनताले पनि मलाई उम्मेदवारको रुपमा देखिरहेका छन् । सोही किसिमले नै उनीहरुले सम्बन्ध गाँसिरहेका छन् । त्यसैले चुनाव लड्नु नै मेरा लागि मूख्य कुरा हो । पार्टीले टिकट दियो भने चुनाव नै लड्ने हो ।
व्यवसाय गर्न सजिलो कि राजनीति ?
आ–आफ्नो छुट्टै भूमिका छ । दुवै क्षेत्रमा इमानदारी चाहिन्छ । आफ्नो व्यवसाय गरेर कमाउनु भनेको राम्रो कुरा हो । नियम कानूनभित्र रहेर आफ्नो बुद्धि र मेहनतले कमाउनु राम्रो हो । त्यसका लागि इमानदारीता चाहिन्छ । र अर्कोतिर राजनीतिमा पनि इमानदारीका साथ गर्यो भने राम्रो हुन्छ । दुवैमा दिने भनेको समय हो । समयलाई सन्तुलित गर्न सक्नु भयो भने दुवै सँगसँगै चल्न सक्छ ।
व्यवसायबाट राजनीतिमा लाग्ने क्रम बढ्दो छ, के भन्नुहुन्छ ?
सबै क्षेत्रलाई नियन्त्रण गर्ने सँगसँगै सबैलाई प्रभाव पार्ने क्षेत्र भएकाले राजनीतिक क्षेत्रमा बढी आकर्षित हुनु स्वभाविक कुरा हो । राजनीतिप्रति पछिल्लो समयमा युवाहरु आउने क्रम बढ्दो छ । युवामा राजनीतिक चेतना पनि जागृत भएको छ । त्यसैले पनि राजनीतिमा व्यवसायीहरु सँगसँगै पेशागत क्षेत्रबाट व्यक्तिहरु आइरहेका छन् । यो स्वागतयोग्य छ । किनभने उनीहरुको आफ्नो सफलता, उनीहरुको मेहनत र कहीं न कहीं उनीहरु पार्टीमा आउँदा पार्टीलाई पनि योगदान हुनसक्छ । तर सबैभन्दा ठूलो कुरा इमानदारी हो । तपाई जुनसुकै क्षेत्रमा जानुस् इमानदारी पहिलो प्राथमिकता हो । निस्वार्थ भावनाले पार्टीमा लागिपर्ने हुनुपर्छ ।
लाभका लागि व्यवसायीहरु राजनीतिमा आए भन्ने आरोप पनि छ नि ?
लाभका लागि राजनीतिमा आउनेहरु धेरै दिन टिक्न सक्दैनन् । किनभने त्यो नाङ्गो भइहाल्छ । नाङ्गो हुनबित्तिकै पार्टीका साथीहरुले, कार्यकर्ता साथीहरुले, नेताहरुले र जनताले पनि त्यो कुरा पचाउनै सक्दैनन् । त्यो मान्छे नाङ्गो हुन्छ । केही दिनमात्र टिक्न सक्छ । त्यो भन्दा बढी उसले राजनीति गर्न सक्दै सक्दैन । त्यसकारण पार्टीमा आउनु हुन्छ भने पार्टीका सिद्धान्त मनन गर्नुपर्छ । पार्टीको विचारलाई अंगाल्नुपर्छ । त्यसपछि इमानदार भएपछि मात्र सेवा भावनाले यदि आउँछ भने त्यसलाई हामीले सकारात्मक रुपले देख्न सकिन्छ ।
व्यवसाय र राजनीति सँगसँगै गरिरहँदा व्यक्तिगत रुपमा कुनै आरोप खेप्नु परेको त छैन ?
आजसम्म मैले त्यस्तो कुनै आरोप खेपेको छैन । मैले दुवै क्षेत्रमा इमानदारीपूर्वक काम गरेको छु । मैले व्यवसाय र राजनीति अलगअलग गरेको छु । एकअर्कामा जोडेको छैन । व्यवसायलाई राजनीतिबाट प्रभावित हुन पनि दिएको छैन । त्यसकारणले मलाई अहिलेसम्म आरोप खेप्नु परेको छैन ।
विभिन्न समयमा बदनाम गर्न खोजिन्छ, पछिल्लो समयमा सुपारी तस्करीको लाइन खुलाउन लाग्नु भएको भनेर मिडियाले लेखे नि ? हो त ?
यो आश्चर्यजनक कुरा छ । किनभने सुपारीको घटनामा मेरो कुनै पनि संलग्नता छैन । नभएको कुरा मिडियामा लेखिएको पाएँ । कुनै पनि किसिमको अर्थात् टाढाटाढासम्म पनि संलग्नता हैन । जुन मान्छेहरुको नाम मसँग जोडिएको छ ती मान्छेहरुलाई न त मैले कहिल्यै भेटेको छु, न त मैले फोनमा कुरा गरेको छु, न मेरो कुनै चिनजान नै छ । त्यसकारणले त्यो मनगढन्ते र एकदमै असत्य लेखिएको छ । कुन किसिमले यो समाचार आयो म छक्क परेको छु । मेरो यसमा कुनै सरोकार, संलग्नता छैन । मैले समाचार छाप्ने पत्रकारलाई पनि फोन गरेँ कुन आधारमा छाप्नु भएको हो भनेर । उहाँले कुनै पनि उचित उत्तर दिनु भएन ।