arrow

चिनियाँ अतिक्रमणविरुद्ध फेरि बोले मुख्यमन्त्री शाही, कुटनीतिक तवरबाटै समाधान गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
jeevan-bahadur-shahi-karnal.jpg
तस्बिर– फाइल

काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको विषय कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले फेरि स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री शाहीले नेपाल र चीनबीच सीमा विवाद रहेको र त्यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका हुन् ।

यसअघि पहिलो पटक त्यतिबेला कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेता रहेका शाहीले नै हुम्लामा चीनले भूमि अतिक्रमण गरेको स्थलमै गएर स्थलगत अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

शाहीले हुम्लामा चिनियाँ अतिक्रमणबारे तयार गरेको उक्त प्रतिवेदनलाई गम्भीरपूर्वक लिनुपर्ने बताउँदै उक्त रिपोर्ट फोहरमा फाल्नका लागि मात्रै नभएको बताएका छन् ।

कर्णालीको हुम्ला, मुगु र डोल्पाले तिब्बत स्वायत्त क्षेत्रसँग सीमा साझा गर्छ । यी जिल्लाहरुमा रहेको सीमा विवाद बाहेक अन्य प्रदेशका दोलखा, संखुवासभा, ताप्लेजुङमा समेत  चीनसँग सीमा विवाद रहेको र ती जिल्लाहरुको सीमा विवादसमेत कुटनीतिक माध्यमबाटै समाधान गरिनुपर्ने मुख्यमन्त्री शाहीले बताएका छन् ।

अत्यधिक चिसो मौसमका कारण मार्च महिनासम्म यी जिल्लाका सीमानाकासम्म पुग्न निकै मुस्किल रहेको मुख्यमन्त्री शाहीले बताएका छन् । चिनियाँ अतिक्रमणको खबर पाइए पनि सामान्य अवस्थामा सरकारी अधिकारीहरु उक्त विवादित सीमा क्षेत्रमा नजानु हाँस्यास्पद रहेको उनको भनाइ छ ।

चीनसँग सीमाविवाद छैन भन्नु गलत रहेको बताउँदै मुख्यमन्त्री शाहीले चीनसँगका सबै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् ।

चीनले नेपालमा विभिन्न क्षेत्रमा भूमि अतिक्रमण गरेको विषयलाई लिएर पछिल्ला दिनहरुमा देशभर प्रदर्शन भइरहेको छ । 

यसैबीच कर्णालीका मुख्यमन्त्री शाही चिनियाँ अतिक्रमणलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्नेमा स्पष्ट पारेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ