arrow

कोरोनासँग ख्यालठट्टा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
editorial-sampadakiya1.jpg

कोरोना भाइरसको महामारी द्रूत गतिले फैलिइरहेको छ । मंगलबारको आँकडामात्र हेर्ने हो भने देशभर परीक्षण गरिएकामध्ये एकैदिन १० हजार दुई सय ५८ संक्रमित भएका छन् । पीसीआर परीक्षणको ४९ प्रतिशत संक्रमित पाइएका छन् । यो प्रतिशतले दुई जनाको परीक्षण गर्दा एक जनालाई संक्रमण भएको जनाउँछ । परीक्षण नगरिएको संख्या अधिक रहेको चिकित्सकहरुले बताइरहेका छन् । चिकित्सकहरु स्वयंसमेत उल्लेख्य संख्यामा संक्रमित भइरहँदा यसको स्थिति भयावह भएको पाइन्छ । त्यसमध्ये काठमाडौं उपत्यकाको स्थित अझ भयावह छ । मंगलबारमात्रै एकैदिन पाँच हजार पाँच सय ४९ संक्रमित थपिएका छन् । उपत्यका त पूर्णरुपले हटस्पट बनेको छ । सीमानाकासँग जोडिएका जिल्लाहरुमासमेत कोरोनाको असर बढ्दै गएको छ । अहिले प्रधानमन्त्री कार्यालयदेखि हरेक स्थानीय तहका कार्यालयसम्म कोरोना संक्रमण फैलिएको छ । 

एकैदिन १० हजार बढी संक्रमित थपिँदासमेत सरकार भने त्यति गम्भीर पाइएको छैन । अझ भयावह स्थिति भएको काठमाडौं उपत्यकाका स्थानीय प्रशासन त झन् औपचारिकता पूरा गरेजस्ता लाग्छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रशासनले मंगलबार जारी गरेका २७ बुँदे आदेशले कुनै अत्यास लाग्ने खालको संक्रमण फैलिएको नभएजस्तोमात्र देखाउँछ । किनकि पार्टी प्यालेस खोल्नका लागि बढीमा ५० जना उपस्थिति हुन पाउनेदेखि यातायात पूर्ण सीट क्षमतामा संचालन गर्न पाउने नियमले सोही संकेत गर्छ । हरेक बुँदामा कोरोनाको स्वास्थ्य मापदण्ड पालना गर्ने भनिएको छ । तर पूर्ण सीट क्षमतामा यात्रु राखेपछि कुन चाहिँ स्वास्थ्य मापदण्ड पालना भयो त ?
 
सडकमा अझै पनि मानिसहरु बिना मास्क हिँडिरहेका पाइन्छन् । अस्पतालमा पनि बिना मास्क नै गइरहेको देखिन्छ । तर उनीहरुलाई मास्क नलगाएबापत दिनुपर्ने नसिहत केही छैन । यतिबेला सुरक्षाकर्मीदेखि लिएर यथेष्ट मात्रामा स्वयंसेवकहरु खटिएर मास्क लगाएरमात्र घर बाहिर निस्कनुपर्ने नियम लगाउनु पर्ने हो । यतिबेला नै काम लाग्ने हो स्थानीय तहको भूमिका । तर कतै पनि यस्तो नियममा कडाइ गरिएको पाइएको छैन । 

त्यसमा सबैभन्दा ठूलो दोष त सरकारकै छ । राजनीतिक दलहरुकै छ । दलहरुको लापरबाही निकै नै बढेका कारण अहिले कोरोनाको महामारी पनि बढेको हो । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का एक संक्रमितले दश जनालाई सार्न सक्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । अर्थात् यो संक्रमण तीव्र रुपले फैलिरहेको छ । पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा धेरै भन्दा धेरै मानिस संक्रमित हुने आँकलन स्वास्थ्यविद्हरुले गरिरहेका छन् । तर अहिले मृत्युदर कम भएको भन्दै त्यसलाई आधार मानेर सरकारदेखि सर्वसाधारणसम्मले हेलचेक्रयाइँ गरेको महसुस गर्न सकिन्छ । 

कोरोनाको खोप लगाएका कारणले मृत्युदर कम भएको भए पनि संक्रमण भइसकेपछि त्यसका ‘साइड इफेक्ट्स’ थुप्रै हुने गरेको पहिलो र दोस्रो लहरमै संक्रमित भइसकेका पीडितहरुका अनुभवले बताइरहेका छन् । पहिले फोक्सोमा आक्रमण गर्ने कोरोनाले अहिले फोक्सोसँगै कलेजोमा पनि संक्रमण गरिरहेको पाइएको छ ।

तसर्थ यो महामारीबाट बच्ने एकमात्र विकल्प भनेकै स्वास्थ्य प्रोटोकल अपनाउने हो । अहिले बुस्टर डोजका नाममा भीड बढेको छ । त्यही भीडबाटै कयौं संक्रमित बढ्ने अनुमानसमेत भइरहेको छ । यसलाईसमेत व्यवस्थित नगर्ने हो भने संक्रमणको दर अझ बढ्ने छ । सबै मिलेर कोरोना महामारी रोक्न सचेत होऔं । गल्ती गर्ने छुट कसैलाई छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ