arrow

जसको कोरोनाको अध्ययनले बन्यो अन्तर्राष्ट्रिय पहिचान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
health-research.jpg

काठमाडौँ .।  समस्याको समाधान पहिल्याउन गरिने अनुसन्धानले नयाँ ज्ञानको विकास गर्नुको साथै संस्थागत पहिचान गराउन पनि मद्दत गर्दछ भन्ने उदाहरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बनेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ । 

कोरोना महामारी फैलिरहेको परिषद्ले कोभिड-१९ सँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गरेको छ । परिषद्ले कोभिड-१९ का मात्र दुई हजार पाँच सयभन्दा बढी जेनेटिक (अनुवांशिक) अध्ययन नमूनाको परीक्षण गरिसकेको छ । परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड-१९ को औषधिसँग सम्बन्धित ट्रायल, नेपालमा नै पहिलोपटक कोभिड-१९ को आणुवांशिक अध्ययन (जेनेटिक अध्ययन), खोपको तेस्रो तहको अध्ययन जस्ता कामले परिषद्लाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सफल भएको बताए । उनका अनुसार परिषद्ले कोभिड-१९ महामारीका समयमा आइसोलेसन, क्वारेन्टिन, प्रयोगशाला र कोभिड-१९ को उपचार गर्न अस्पतालका अवस्था, कोरोना भाइरसको कुन तहमा फैलिएको, फेसमास्क प्रयोगको अध्ययनलगायतका ४० भन्दा बढी अध्ययन गरेको छ ।

बिरामीलाई कोरोना रोकथाम र नियन्त्रण गर्न औषधि दिइरहेको बेला अस्पताल गएर गरिने अध्ययन पनि परिषद्ले गरेको छ । उनले कोरोना बेला औषधि र खोपको परीक्षण गर्दा अस्पताल तथा जनतासँग कसरी सम्बन्ध स्थापित गरी काम गर्न सकिन्छ भन्ने बुझ्न सकिएको बताए । परिषद्ले कोरोना भाइरस सङ्क्रमणको उपचारमा प्रयोग गरिएको रेम्डिसिभिर, एस्पिरिन, कोलचिसाइन र कोर्टीकास्टराइड गरी चार प्रकारका औषधिको क्लिनिकल ट्रायल गरिएको थियो । “खोप ट्रायल कसरी गर्ने, थर्ड फेजको ट्रायल गर्दा सहभागिताका अधिकार सुरक्षा गर्ने जस्ता धेरै कुराहरु सिक्ने र सिकाउने मौका पायांैँ’’, उनले भने । 

परिषद्ले कोरोना भाइरससँग सम्बन्धित अध्ययन अनुसन्धानको मापदण्ड बनाई अनुसन्धानलाई व्यवस्थित बनाएको छ । कोभिड-१९ को बेला जनतालाई सूचना दिनका लागि स्वास्थ्य मन्त्रालयसँगको अनुरोधमा परिषद्ले दैनिक प्रत्यक्ष प्रसारण गरेको साथै कोरोनासँग सम्बन्धित अध्ययनलाई पनि जनतासँग पुर्‍याइएको बताए । 

नेपालमा कोरोना भाइरसविरुद्धको खोप तथा औषधिको परीक्षण गर्दा बीमासम्बन्धी नीति नभएर समस्या भएको थियो । पछि परिषद्कै अगुवाइमा राष्ट्रिय बीमा संस्थान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा क्लिनिकल परीक्षणको बीमासम्बन्धी मापदण्ड बनाइयो । अब कुनै पनि खोप तथा औषधिको औषधिय परीक्षण (क्लिनिकल ट्रायल) गर्दा नेपालमा नै रहेका बीमा कम्पनीमार्फत गर्न सकिनेछ । साथै, नेपालमा परीक्षणसम्बन्धी रजिष्ट्री नभएको अवस्थामा परिषद्कै अगुवाइमा रजिष्ट्री गर्ने काम भएको छ । 

परिषद्ले स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धानलाई समेटेर जर्नलमा पाँच सयभन्दा बढी लेख प्रकाशित गरेको बताए । परिषद्का संस्थापक अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेले परिषद्ले कोरोना सङक्रमणको बेला गरेको अध्ययन अनुसन्धानले कोरानो भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुगेको बताए । “कोरोना भाइरसको परिषद्ले धेरै नै अध्ययन अनुसन्धान गरेको थियो”, उनले भने, “परिषद्ले गरेको अध्ययनले सरकारले कोराना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सफल भयो ।” उनले कोरोना भाइरस सङ्क्रमणको बेला परिषद्ले गरेको काम अन्तर्राष्ट्रियरुपमा पनि स्थापित काम भएको बताए । 

यस्तै परिषद्ले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, जनसङ्ख्यामा आधारित नसर्ने रोगको सर्वेक्षण, जनसङ्ख्यामा आधारित क्यान्सर रजिष्ट्री, क्लिनिकल ट्रायल रजिष्ट्रीलगायतका महत्वपूर्ण अनुसन्धानमूलक कार्यहरु गरेको छ । ती अनुसन्धानले नेपालको स्वास्थ्य नीति र योजनामा तर्जुमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए । परिषद्ले नेपालमा पहिलोपटक कोरोना भाइरसको अनुवांशिक अध्ययन (जीन सिक्वेसिङ) गर्ने काम गरेको छ । त्यतिबेला परिषद्ले नेपालमा नै पहिलोपटक कोभिडसँग सम्बन्धित १५ वटा नमूनाको जीन सिक्वेसिङ गरेको थियो । त्यसपछि नै अन्य स्वास्थ्य संस्थाले अन्य रोगका पनि जीन सिक्वेसिङ गरिरहेका छन् । 

आरडिटी किटलाई प्रतिबन्ध
परिषद्ले अध्ययनअनुसार नै सरकारले र्‍यापिड डाइगोनोष्टिक किट (आरडिटी) लाई कोरोनाको निदानात्मक कार्यका लागि प्रतिबन्ध लगाएको थियो । “कैलालीमा कोरोना फैलिएको थियो । आरडिटी कीट पनि भर्खरै आएको थियो । कीट निदानात्मक प्रयोगका लागि ठीक छैन तर सर्भेक्षेणका लागि मात्र ठीक छ भने हामीले गरेको अध्ययनको आधारमा मन्त्रालयले आरडिटी कीटलाई सर्भेक्षेणको रुपमा मात्र प्रयोग गर्ने र कोभिड-१९ को निदानात्मक कामका लागि पिसिआर नै प्रयोग गर्ने निर्णय गर्‍यो”, कार्यकारी प्रमुख डा ज्ञवालीले भने । 

परिषद्ले कोरोना भाइरसको खोपसम्बन्धी पनि अध्ययन गर्नुपर्दछ भनेर तेस्रो चरणको परीक्षण गर्न अनुमति प्रदान गरेको थियो । “पहिलो र दोस्रो परीक्षणमा सुरक्षित भएका खोपलाई तेस्रो परीक्षण नेपालमा गर्नका लागि सरकारसँग अनुमति मागेर गर्न सफल भयो”, उनले भने, “सुरुमा सरकार पनि सहमत भएको थिएन । तर पछि नेपालमा पनि तेस्रो तहको ट्रायल गरेर अन्तर्राष्ट्रियरुपमा चिनुपर्दछ भनेर सरकारसँग वकालत गर्‍यौँ र सफल पनि भयौँ ।”

रेम्डिसिभिरको अध्ययन 
महामारीको बेला रेम्डिसिभिरप्रति भाइल डेढदेखि दुई लाख रुपियाँसम्म कालो बजारीमा बिक्री हुने गरेको थियो । रेम्डिसिभिर खोपको अध्ययनपछि कालोबजारीया रोकिएको थियो । परिषद्को उक्त अध्ययन अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भइसकेको छ ।

यस्तै श्वासप्रश्वास फेर्न गार्‍हो बनाएको बिरामीलाई सजिलो बनाउन प्रयोग गरिने ‘स्ट्रेरोइड’ औषधिको अध्ययन पनि परिषद्ले गरेको थियो । अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा भएको सो अध्ययनबाट थोरै मात्रा धेरै मात्राको तुलनामा निकै प्रभावकारी प्रमाणित भएको निष्कर्ष निकालेको छ । ‘स्ट्रेरोइड’को औषधिको उक्त अध्ययनले औषधिको अनुसन्धानको इतिहासमा परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले जानकारी दिए । 

सन् १९५० देखि औलोको प्रथम सर्वेक्षण गरेर नेपालमा रोगसँग सम्बन्धित अध्ययनको शुरुआत भएको मानिन्छ । त्यसपछि स्वास्थ्य सचिवको नेतृत्वमा मन्त्रालयको एउटा शाखाको रुपमा सन् १९८२ मा नेपाल मेडिकल रिसर्च कमिटी गठन गरियो । त्यतिबेला रिसर्च कमिटीलाई स्वास्थ्य अनुसन्धानको केन्द्र बनाउनुपर्दछ भनेर डा मृगेन्द्रराज पाण्डेको अगुवाइमा सन् १९९१ मा स्वायत्त संस्थाको रुपमा नेपालमा स्वास्थ्यसँग सम्बन्धितको अध्ययन र अनुसन्धान गराउने भनेर परिषद् खोलिएको हो । 

परिषद्ले ५७ वटा संस्थालाई स्वास्थ्यसँग सम्बन्धित आचारसंहिता पालनसँग सम्बन्धित समितिलाई अनुमति दिएको छ । सोअनुसार संस्थागत अनुसन्धानलाई नियमन गरिरहेको छ । अहिले परिषद्का कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सम्पर्क कार्यालय खोली स्वास्थ्यसँग सम्बन्धित सबै कार्य केन्द्रको समन्वयमा गरिरहेको उनले बताए । तर कर्मचारी र नीतिगत अभावले अन्य प्रदेशमा विस्तार तथा प्रभावकारी कार्यान्वयन गर्न समस्या भएको छ । 

नियमनकारीको रुपमा लैजाने 
परिषद् स्वास्थ्यका अध्ययन अनुसन्धान गर्ने र गराउने कार्य गरी सरकारलाई स्वास्थ्यसँग सम्बन्धित नीति नियममा सुझाव दिने संस्थाको रुपमा रहेको छ । परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले भविष्यमा संस्थागत समन्वयमा राष्ट्रिय महत्वका विषयमा परिषद्ले अनुसन्धान गर्ने र परिषद्लाई संस्थागत अनुसन्धानमा जोड दिँदै नियमनकारी निकायको रुपमा विकास गरिने छ ।

“दश प्रतिशत मात्र हामीले अनुसन्धान गरेका छाँै । अरु ९० प्रतिशत अनुसन्धानका काम व्यक्ति र संस्थालाई अनुमति दिने गर्दछाँै”, उनले भने, “परिषद् स्वास्थ्यका अनुसन्धान गराउन नियमनकारी संस्थाको रुपमा लैजान जरुरी रहेको छ ।” यसका लागि ऐन संशोधन पनि गर्ने गरी बोर्डबाट निर्णय गरी काम अगाडि बढिरहेको छ । 

क्यान्सरको अध्ययन 
परिषद्ले सन् २०१८ सालदेखि जनसङ्ख्यामा आधारित क्यान्सर रोगको अवस्थाको बारेमा पनि विभिन्न नौ जिल्लामा अध्ययन गरिरहेका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, पूर्वी र पश्चिम रुकुमका जिल्लामा समुदायस्तरमा फैलिएको क्यान्सरको अध्ययन भइरहेको छ । ती जिल्लाबाट क्यान्सरका बिरामी कति छन्, कसरी फैलिरहेको छ भनेर अध्ययन भइरहेको छ । कूल जनसङ्ख्याको २० प्रतिशतलाई समेट्ने भएकाले ती जिल्ला छनोट गरिएको हो । 

अध्ययनले क्यान्सरको प्रकार, असर, उपचारको अवस्था, रोकथाम र उपचार गर्न सहयोग पुगेको उनको भनाइ रहेको छ । परिषद्ले गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने भनेर अध्ययनको शुरुआत गरिएको छ । यस्तै परिषद्ले प्रत्येक वर्ष करिब छ सयभन्दा बढी अनुसन्धान प्रस्तावलाई स्वीकृत प्रदान गर्ने गरेको छ । सयभन्दा बढी अनुसन्धान प्रस्तावको छानबिन गरेको छ । ती छानबिनबाट कतिपय अनुसन्धानकर्तालाई पनि सचेत गराइएको छ । परिषद्ले सरकारको उच्च प्राथमिकतामा रहेको रोग ‘बर्डन अफ डिजिज’को अनुसन्धान पनि गरेको छ । 

करार कर्मचारीका भरमा 
परिषद् करार कर्मचारीका भरमा सञ्चालन गर्नुपरेको छ । अहिले परिषद्सँग दुई जनामा मात्र अनुसन्धान अधिकृत र बाँकी सबै करारका कर्मचारीबाट अनुसन्धान गराउनुपर्ने रहेका छन् । उन करारका कर्मचारीले काम गर्नुपर्दा परिषद्ले नतिजामुखी काम गर्न नसकेको स्वीकार गर्छन् । 

परिषद्मा दरबन्दी ७० रहेकामा कार्यरत २२ जना रहेका छन र तीमध्ये दुई जना मात्र अनुसन्धान अधिकृत रहेका छन् । उनले स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ