arrow

मुख्यमन्त्रीको निर्देशनपछि हुम्लामा चामल ढुवानी

एकै दिनमा १ सय ४२ क्विन्टल चामल ढुवानी

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ माघ ५ बुधबार
khadhyana-humla.PNG

हुम्ला।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशन पछि द्रुतगतिमा हुम्लामा चामल ढुवानी हुन थालेको छ । हवाई मार्गबाट ढुवानी अनुदानको चामल समयमा ढुवानी नहुँदा हुम्लाका नागरिकले गएको ४ महिना देखि चामल नपाए पछि मुख्यमन्त्री शाहीले हुम्लामा छिटो खाद्यान्न ढुवानी गर्न निर्देशन दिएका थिए । 

ढुवानी कार्य सुस्त गतिमा भइरहेका बेला जनताले पैसा तिरेर पनि चामल नपाउने अवस्था आएपछि मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् । मुख्यमन्त्रीको निर्देशन पछि हुम्लामा चामल ढुवानीमा तीव्र रूप गर्न थाले पछि मङ्गलवार मात्रै १ सय ४२ क्विन्टल चामल ढुवानी गरिएको छ ।

मुख्यमन्त्रीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँका प्रमुखलाई हुम्लामा चामल तत्काल ढुवानी गर्ने कार्यमा सबै हवाई जहाज कम्पनीसँग समन्वय गरेर छिटो भन्दा छिटो ढुवानी गर्न निर्देशन दिए पछि तीव्र रूपमा चामल ढुवानी हुन थालेको हो । 

यस आर्थिक वर्षका लागि सदरमुकाम सिमकोमा हवाई ढुवानीबाट चामल पुर्‍याउने जिम्मा पाएको सिम्रिक एयर कार्गोले सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम ढुवानी भएको भन्दै जिल्लामा छिटो ढुवानी गर्न सबै हवाई कम्पनीसँग समन्वय गरेर भए पनि जिल्लामा छिटो चामल ढुवानी गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन् ।

हुम्लाको लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको थियो । जसमा हवाई मार्गबाट १० हजार र स्थल मार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरि कोटा स्वीकृत भए पनि हालसम्म १ हजार ३ सय ४२ क्विन्टल हवाई मार्गबाट र स्थल मार्गबाट १ हजार १ सय ३१ क्विन्टल गरी अहिले सम्म जम्मा २ हजार ४ सय ७३ क्विन्टल चामल ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।
 
लिमिटेडको शाखाको गोदाममा चामल मौज्दात कम भएपछि शुक्रवारबाट जनताले एक महिनामा पाउनु पर्ने कोटाको आधा चामल मात्र वितरण गर्ने खाद्य लिमिटेडको निर्णयको स्थानीयले विरोध जनाए पछि सबैलाई चामल बिक्री वितरण गर्न नपुग्ने भएपछि सिमकोट गाउँपालिका-१ र २ का जनतालाई पुरै कोटाको खाद्यान्न बिक्री वितरण गरेर अरूलाई बिक्री वितरण गर्न पुग्ने चामल मौज्दात भए मात्र बिक्री वितरण गर्ने गरि हाललाई बन्द गरिएको शाखा प्रमुख अधिकारीले बताए ।

 चामल ढुवानी जिम्मा पाएको सिता एयरका जहाज बिग्रिएर एउटा जहाजले ढुवानी गर्दा समस्या भएको भए पनि कर्णाली प्रदेशका मुख्यमन्त्रीको निर्देशन पछि मङ्गलवारबाट २ वटा जहाजले चामल ढुवानी गर्न थालमा छन् । यही रफ्तार चामल ढुवानी हुने हो भने समस्या नहुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ