arrow

नेकपा (एस) निकटका कर्मचारी छुट्टै संगठन खोल्दै, रणनीति भवन कब्जाको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
nepal-nijamati-karmachari-sangathan.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनको सोझो असर निजामती कर्मचारीहरुमा पनि पर्ने भएको छ । २०५४ सालमा एमाले विभाजन हुँदा विभाजित नभएको कर्मचारी संगठन यसपटक विभाजित हुने पक्का भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग निकट कर्मचारीहरुले छुट्टै कर्मचारी संगठन खोल्ने अन्तिम तयारी गरेका छन् । उनीहरुले यही माघ १४ र १५ गते जुम बैठक गर्दैछन् । बैठकपछि नयाँ संगठनको घोषणा गर्ने भएका छन् ।
 
कर्मचारीहरुको नयाँ संगठन खोल्न मोहन घिमिरे, भोला पोखरेल, विश्वनाथ प्याकुरेल, राजन रेग्मी, प्रेमल खनाल लगायतका कर्मचारी नेताहरु सक्रिय भएका छन् । नयाँ संगठन खोल्ने काममा अगुवाइ गरिरहेका एक कर्मचारी नेताका अनुसार नयाँ संगठनको नाम एकीकृत निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी संगठन, नेपाल सरकार कर्मचारी संगठन मध्येबाट एउटा नाम चयन हुने सम्भावना बढी छ ।

यस अभियानमा सक्रियताका साथ लागेका मोहन घिमिरेले तीनै तहका सरकारी कर्मचारीहरुलाई समेटेर टे«ड युनियन खोल्ने तयारी भएको बताए । १४ र १५ गते हुने जुम बैठकमा एक हजार ५ सयभन्दा बढी कर्मचारी जोडिने उनको भनाइ छ ।
 
२०४७ सालमा एमाले निकट कर्मचारीहरुले नेपाल निजामती कर्मचारी संगठन स्थापना गरिएका थिए । पछिल्लो पटक एमालेमा विवाद भए पछि यसको असर उक्त कर्मचारी संगठनमा परेको थियो ।  

माधवकुमार नेपाल लगायतका नेताहरुले नेकपा (एस) गठन गरेपछि नेपाल निजामती कर्मचारी संगठन कसले कब्जा गर्ने भन्ने विवाद चर्किएको थियो । यद्यपि यो विवाद अझै टुंगिएको छैन ।  

माधव नेपाल निकट एक कर्मचारीका अनुसार अहिले आफूहरु नेपाल निजामती कर्मचारी संगठन कब्जा गर्ने भन्दा पनि नयाँ संगठन खोल्ने निष्कर्षमा पुगेको बताए । 

तर यसको छिनोफानो भने जुम बैठकपछि हुने उनले बताए । नेपाल निजामती कर्मचारी संगठनको नाममा सिंहदरबार अगाडि बबरमहलमा झण्डै एक रोपनी सरकारी जग्गामा भब्य भवन बनाइएको छ । 

नेपाल निजामती कर्मचारी संगठन जसले कब्जा गर्छ, त्यो भवन पनि उसैको हुने भएकोले माधव नेपाल निकट कर्मचारीहरु संगठन कब्जा गर्न चासो देखाएका थिए । 

यस क्रममा केही महिनाअघि दुई पक्षवीच कार्यालय भवनमै हात हालाहालको अवस्था आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ